विवाहपञ्चमी महाउत्सवमा १५ लाख खर्चेर बनाइयो अन्नको प्रतिमा

हिमाल प्रेस ३० मंसिर २०८० १५:३५
36
SHARES
विवाहपञ्चमी महाउत्सवमा १५ लाख खर्चेर बनाइयो अन्नको प्रतिमा

जनकपुरधाम- जनकपुरधाम सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले अन्नबाट सीतारामको प्रतिमा बनाइएकाे छ।

जनकपुरधामस्थित रंगभूमि मैदानमा १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिबारबाट सर्वसाधारणकाे अवलोकनका लागि खुल्ला गरिएको हो।

भारतको मध्यप्रदेशका शतिस गुर्जरले  ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका छन्। कोरोना महामारीको पहिलो लहर आउँदादेखि अन्नको प्रतिमा निर्माण गर्न सुरु गरेका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले बिनापारिश्रमिक यो प्रतिमाको निर्माण गरेका हुन्।

भारतको शतिस गुर्जरसँगै आएका ८ जना कलाकारले ५ दिन लगाएर सो प्रतिमा निर्माण गरेका छन्। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित सो प्रतिमामा भगवान् सीतारामको स्वयम्बरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ।

प्रतिमामा ११ प्रकारका १ सय १ क्विण्टल अन्नको प्रयोग गरिएको हो। प्रतिमा निर्माणका लागि चामल, दाल, रहर, सोयाबडी लगायतका अन्नको प्रयोग गरिएको हो। प्रतिमा निर्माणमा १५ लाखभन्दा बढीको खर्च भएको प्रतिमा निर्माण समितिले जनाएको छ।

भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाएकाे वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मिणाले बताए।

भारतको अयोध्यामा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाएका शतिस गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए।

प्रकाशित: ३० मंसिर २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =