प्रहरी हत्या आरोपित एमाले सांसद कोइरी राष्ट्रपति निर्वाचनमा भोट हाल्नै आएनन्

हिमाल प्रेस २५ फागुन २०७९ १५:५६
134
SHARES
प्रहरी हत्या आरोपित एमाले सांसद कोइरी राष्ट्रपति निर्वाचनमा भोट हाल्नै आएनन्

काठमाडौँ– नेपाल प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनअन्तर्गत मतदान गर्न सहभागी भएनन्। निर्वाचन आयोगले प्रकाशित गरेको मतदाताको अन्तिम सूचीमा नाम रहेका कोइरी मतदानमा भाग लिन नआएका हुन्। एमालेका सांसद महेश बर्तौलाका अनुसार बिरामी भएका कारण कोइरी मतदान गर्न नआएका हुन्।

कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग छ।

२०७२ को मधेश आन्दोलनमा घाइते प्रहरी विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा महतोकै निर्देशनमा एम्बुलेन्सबाट बाहिर निकालेर खेतमा लखेटी-लखेटी हत्या गरिएको अभियोग छ। विकको हत्या आरोपमा उनको परिवारले कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ गते एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। आदेश चित्तबुझ्दो नभएको भन्दै विकको परिवारले जनकपुर उच्च अदालतमा पुनरावेदन दिएका थिए।

जनकपुर उच्च अदालतमा २०७७ मंसिर १९ मा जिल्ला अदालतको आदेश उल्ट्याउँदै महतोलाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउन आदेश थियो। उनी अहिलेसम्म अदालत हाजिर पनि भएका छैनन् र प्रहरीले पनि उनलाई पक्राउ गरेको छैन। तर उनी फरार सूचीमा छन्।

उनी लगातार प्रतिनिधिसभाको बैठकमा सहभागी भए पनि अहिलेसम्म पक्राउ परेका छैनन्। केहीसमय अघि मात्रै पनि गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयमार्फत कोइरीलाई पक्राउ गर्न निर्देशनात्मक सर्कुलर जारी गरेको थियो। तर उनी पक्राउ परेका छैनन्।

प्रकाशित: २५ फागुन २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =