रास्वपाले माग्यो साविकको मन्त्रालय, फाइदा भए मात्रै सरकारमा जाने

हिमाल प्रेस १८ वैशाख २०८० १५:१२ | Monday, May 1, 2023
रास्वपाले माग्यो साविकको मन्त्रालय, फाइदा भए मात्रै सरकारमा जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फाइदा भए मात्रै सरकारमा जाने निर्णय गरेको छ। सोमबार भएको केन्द्रीय समितिको बैठकले सरकारमा जानुअघि फाइदा र बेफाइदाबारे छलफल गर्ने निर्णय गरेको हो।

यसका लागि वैशाख २० गते केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक बस्दैछ। त्यहाँ सदस्यहरूले सरकारमा जाँदा हुने फाइदा र बेफाइदाबारे धारणा राख्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई साविककै मन्त्रालय दिन तयार रहेको पनि बताए। पार्टीका सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले साविकको मन्त्रालय दिने र नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तयार रहेको पनि उनले दाबी गरे।

‘साविकको मन्त्रालय र नीति तथा कार्यान्वयन नगरेको खण्डमा हामी सरकारमा जाने कुरा हुँदैन,’ उनले भने, ‘त्यसअघि हामी सरकारमा जाँदा हुने फाइदा र बेफाइदाबारे सबै सदस्यहरूको धारणा सुनेर निर्णय गर्छौँ।’

यता प्रधानमन्त्री प्रचण्डले पनि चितवनमा भएको पत्रकार सम्मेलनमा रास्वपा सरकारमा आउनेबारे छलफल चलिरहेको बताएका छन्। ‘समर्थन फिर्ता लिने स्थिति बन्ने देखेको छैन। पहिलेकै मन्त्रालय खोज्नु स्वाभाविकै हो,’ उनले भने, ‘तर मलाई लाग्दैन उहाँ (रवि लामिछाने) त्यसमै अडिनुहुन्छ, यही नै चाहिन्छ पनि भन्नु भएको छैन।’

उनले भ्रष्टाचारको फाइल खोल्न अहिलेको सरकार तयार रहेको पनि बताए। ‘सरकारमा आउनुस् कुन भ्रष्टाचारको फाइल खोल्नुपर्‍यो म तयार छु,’ उनले भने।

यसअघि रास्वपाले गृहसहित ३ मन्त्रालय र एक राज्य मन्त्री लिएको थियो।

 

प्रकाशित: १८ वैशाख २०८० १५:१२ | Monday, May 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast