काठमाडौँ- वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको भोटो आज (बिहीबार) देखाइँदैछ। अपरान्ह ४ बजे जावलाखेलमा भोटो देखाइने कार्यक्रम छ।
भोटो राष्ट्रप्रमुख राष्ट्रपतिबाट देखाइने परम्परा छ। रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।
पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।


