काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन्। मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताएका हुन्।
उनले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोगलगायतका मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
भ्रमणमा नेपालमा जलविद्युत उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्ने कुरालाई मुख्य जोड दिइने बताए। ‘नेपालमा पावर उत्पादन गर्ने, जलविद्युत आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने, एलओसीबाट ट्रान्समिसन लाइनहरू बनाउने, नेपाल–भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने र भारतीय ग्रिट एवं ट्रान्समिसनलाई प्रयोग गरेर बंगलादेशमा विद्युत् निर्यात गर्नुपर्नेजस्ता महत्त्वपूर्ण कुरा यसमा सामेल छन्,’ उनले भने, ‘यसलाई हामी वार्ता, छलफलको माध्यमबाट सहमति र सम्झौतामा टुंगोमा पुग्ने प्रयत्नमा छौँ।’
मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरूको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरूको पूर्ण कार्यान्वयन हुने दाबी गरे। उनले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने बताए।
मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउने बारेमा पनि छलफल हुने बताए। प्रधानमन्त्री प्रचण्ड भोलि (जेठ १७) भारत भ्रमणमा जाँदैछन्। उनको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत जानेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ। -न्युज एजेन्सी नेपाल


