आनन्दी ओली

हिमाल प्रेस १४ वैशाख २०८० १०:१०
120
SHARES
आनन्दी ओली अर्घाखाँचीको अर्घा मसुरपाटामा पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै ओली।

काठमाडौँ- प्रमुख दलका शीर्ष नेतामध्ये नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रायः तनावमा देखिन्नन्। संसद्‌मा होस् या पार्टीका कार्यक्रममा हँसिलो अनुहारमा धाराप्रवाह भाषण गरेर नथाक्ने ओलीको विशेषता हो।

विषय प्रसंग जेसुकै होस्, उखानटुक्काको मिसावटले उनको भाषण सुन्ने श्रोतादर्शकलाई घुमाउरो पाराले सोच्न बाध्य बनाउँछ। त्यसैले भिन्न राजनीतिक विचारका मानिस पनि भन्ने गर्छन्, भाषणकलामा समकालीन शीर्ष नेतामध्ये ओलीको तुलना अरूसँग हुन सक्दैन।

हुन पनि राजनीतिक विषयमा घोचपेच मात्रै होइन, सामाजिक, आर्थिक, ऐतिहासिक, पौराणिक, दार्शनिक, साहित्यिक, वातावरणीय जेजस्ता विषयमा पनि भाषण सुन्दा ओली अध्ययनशील नेता भन्दै उनका कार्यकर्ताले प्रशंसा गरेको सुन्न पाइन्छ।

पाल्पाको रानीमहलमा पत्नी राधिकासँग सेल्फी खिच्दै ओली।

कार्यक्रमको प्रकृति, श्रोता/दर्शकको रुचि र चाहनाअनुसार बोल्ने भएकाले होला उनले भाषण गर्दा कार्यकर्ता उत्साहित हुन्छन्। कतिपय अवस्थामा तालीको गडगडाहट सुनिन्छ। तर ओली उत्तेजित देखिँदैनन्। यस्तो किन भएको? उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘ओली सेन्स अफ ह्युमर, मानवीयता, प्रेम बुझेका नेता हुन्। त्यसैले उनी समय सन्दर्भअनुसार आफूलाई प्रस्तुत गर्न सिपालु छन्। त्यसैले ओलीको तुलना अरूसँग हुनै सक्दैन।’

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिमा व्यञ्जना विषयमा विद्यावारिधि गरिरहेकी सविता खड्का ‘सानुमैया’ ओलीको भाषण मौलिक, सरल र सरस हुने बताउँछिन्। उनी भन्छिन्, ‘अध्यक्ष्यज्यूले एउटा सन्दर्भमा उठाएका शब्दको अर्थ अनेक खालबाट लगाउन सकिन्छ। त्यसैले उहाँको भाषणमा प्रशस्त व्यञ्जना (घुमाउरो अर्थ) पाइन्छ।’

भाषणमा प्रयोग भएका व्यञ्जना हरेक श्रोताले सहजै बुझ्ने खालको हुने खड्काको भनाइ छ। उनी भन्छिन्, ‘अत्यन्त ग्रामीण जनजिब्रोमा भिजेका शब्दहरूको प्रयोगले पनि यस्तो हुने गरेको हो।’

अध्यक्ष ओलीले भाषणमा व्यक्त गरेका उखानटुक्का र व्यञ्जनाका विभिन्न अर्थ आउने खड्काले बताइन्। २०६५ सालमा रुक्मांगद कटवाल प्रकरणका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री पद गएको थियो। सोही विषयमा ओलीले एउटा भाषणमा भनेका थिए, ‘रुक्मांगद कटवालको एउटा छेस्कोले फ्यास्स के घोचिदिएको थियो, प्रचण्डजीको बेलुनको हावा खुस्कायो।’ खड्काका अनुसार ओलीका प्रायः भाषणमा यस्ता अभिव्यक्ति आउँछन्।

ओली अनेक बिमार जितेका नेता हुन्। उनको सक्रियताले त्यस्तो छनक दिँदैन। यसो कसरी भयो त? उत्तर आउँछ- ‘पत्नी राधिका शाक्यको स्याहारसुसार।’ हुन पनि राधिका शाक्यले हेरविचार, पथपरहेज र औषधोपचारमा ख्याल नगर्ने हो भने जटिल बिमारबाट गुज्रिएका अध्यक्ष ओली अहिलेको जत्ति सक्रिय हुन नसक्ने ओली निकट एमाले नेताहरू बताउँछन्।

इलामको कन्याममा पत्नी राधिकासँग सेल्फी लिँदै ओली।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको सचिवालयका एक सदस्य भन्छन्, ‘हेरविचार, औषधोपचार, सबै कुराका हिसाबले राधिका शाक्यले निकै ख्याल गर्नुहुन्छ। शाक्यको यस्तो हेरविचार नहुँदो हो त उहाँलाई जोगाउन पनि कठिन हुने थियो। राधिका आमाबाट त्यो ढंगको सेवा र स्याहार हुँदै आएको छ।’

त्यसैले त ओली ‘बिन्दास’ देखिन्छन्। कहिले विद्यार्थीसँग सेल्फी खिच्छन्, कहिले बालबालिकाको माझमा पुगेर रमाउँछन् अनि कहिले सपत्नीक विभिन्न ठाउँमा तस्बिर खिचेर रमाइरहेका देखिन्छन्। जुन प्रवृत्ति अन्य नेतामा देखिँदैन।

बालबालिकासँग ओली।

अध्यक्ष ओलीका पछिल्ला केही तस्बिरहरूले उनको यही रमाउने स्वभावलाई देखाएको छ। कतिपयको बुझाइमा ओलीले पत्नीसँग सेल्फी खिचेर प्रेम, सद्भाव र सम्मान देखाएका हुन्।

यस्तै ओली पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुन्। त्यसैले पर्यटकीय सम्भावनाका ठाउँ र धरोहरहरूको प्रचारका निम्ति पनि ओलीले यस्ता तस्बिर खिचेका हुन्। यसमा ओलीले प्रेम, मानवीय भावना र पारिवारिक स्नेह मात्रै देखाएका छैनन्, आफूले पनि आनन्द लिएका देखिन्छन्। साथै पर्यटकीय ठाउँमा भ्रमण गर्न अरूलाई पनि हौस्याइरहेका छन्।

धादिङको रुबी भ्यालीमा राधिकासँग ओली।

तस्बिर सौजन्य : ओलीको सचिवालय

प्रकाशित: १४ वैशाख २०८० १०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =