नेपाली फिल्ममा पुरानै कथा, नयाँ शैली

विवेक विवश रेग्मी ३१ वैशाख २०८१ १७:५७
192
SHARES
नेपाली फिल्ममा पुरानै कथा, नयाँ शैली सुनसरीको इनरुवास्थित शिवि फिल्म हलको प्रांगणमा दर्शकका साथ दायाँबाट क्रमशः गणेश सुवेदी, राजेश हमाल, गणेश बराल र अरुण प्रधान। तस्बिर सौजन्य : अरुण प्रधान

इटहरी-  पछिल्लो समय नेपाली फिल्म हेर्ने दर्शकको संख्या बढ्दो छ। नयाँ शैली प्रयोगका कारण युवापुस्तामा नेपाली फिल्मप्रति आकर्षित भएको बुझाइ जानकारहरूको छ। तीन दशकअघिको तुलनामा दर्शकमा मात्रै परिवर्तन आएको छैन फिल्म हलमा नयाँनयाँ प्रविधि भित्रिएका छन्। साथै फिल्ममा अभिनय गरेर कलाकारलाई जीविका चलाउन सहज बन्दै गएको छ।

सुनसरीको इनरुवामा रहेको शिवि फिल्म हलका सञ्चालकसमेत रहेका कलाकार चिरञ्जीवी बस्नेतले मानिसको सोच र सामाजिक परिवेशअनुसार चलचित्रमा परिवर्तन आएको बताए। उनको बुझाइमा पछिल्लो समय फिल्म हेर्ने दर्शक पनि सचेत र अद्यावधिक बनेका छन्। प्रविधिमा आएको परिवर्तनले पनि यस्तो भएको हो।

पहिलेका दर्शक जतिसुकै लामो फिल्म पनि नछुटाईकन हेर्थे। भावनामा बग्थे। अहिले त्यस्तो नरहेको उनको अनुभव छ। ‘अहिलेका दर्शकमा अलिकति मनोरञ्जन गरौँ भन्ने सोच आएको छ। फिल्म पूरै नहेर्ने र पहिलेजस्तो भावुक रहेको पाइँदैन’, उनले भने, ‘अहिलेका नेपाली फिल्ममा पुरानै कथा भए पनि नयाँ शैली प्रयोग भएको छ। यसले नयाँ पुस्ताका दर्शकप्रति पनि फिल्मको क्रेज पाइन्छ।’

साथै फिल्म हल र टिकट खरिद प्रक्रियामा पनि आमूल परिवर्तन भएको छ। ‘त्यसबेला पनि फिल्मको क्रेज थामिनसक्नु थियो, टिकट किन्न फिल्म हलको टिकट काउन्टरमा निकै रस्साकस्सी पर्दथ्यो। कहिले त टिकट काउन्टरमा प्वालमा हात घुसाउँदा घाउ हुने अवस्था थियो,’ उनले विगत स्मरण गरे, ‘टिकट पायो भने ठूलो कुरा पाएजस्तो हुन्थ्यो। अहिले अनलाइनबाटै बुकिङ गर्ने प्रचलन छ।’

नयाँ पुस्ताले नेपाली फिल्मलाई माया गरिरहे पनि पर्याप्त नभएको उनले बताए। अहिलेका पुस्ता हिन्दी र अंग्रेजीमा मात्रै केन्द्रित भइरहेकाले नेपाली फिल्ममा दर्शकको लगानी पर्याप्त नभएको उनको भनाइ छ। यसको दोष भने राज्यले लिनुपर्ने बस्नेत बताउँछन्।

उनले भने, ‘विगतमा नेपाली भाषालाई माया गर्नुपर्छ, नेपाली फिल्मलाई प्रोत्साहन गर्नुपर्छ भन्ने थियो तर अहिले त्यसो छैन। यसमा राज्य निकायकै दोष देखिन्छ। सरकारले कला र संस्कृतिप्रति चासो नदिएका कारण नेपाली जनताले नेपाली भाषालाई बिर्सँदै गएका छन्।’

०५५ सालतिर ‘चण्डाल’ नामक फिल्ममा राजेश हमाललाई आफूहरूले सुनसरी ल्याएको र यहाँ सुटिङ गर्दा दर्शकको समेत बलियो साथ पाएको उनले स्मरण गरे। बस्नेत उक्त फिल्मको निर्माता थिए भने अरुण झाको निर्देशन थियो। फिल्ममा हमाल मुख्य नायक थिए।

पछिल्लो समय फिल्म हल बन्द हुँदै जानु, कलाकारहरू पूर्ण रूपमा यस क्षेत्रमा टिक्न नसक्नु, फिल्महरू सोचेअनुरूप चल्न नसक्नुजस्ता समस्या रहेको उनको भनाइ छ।

यसैको उपज सुनसरीसहित कोशी प्रदेशका धेरैजसो ठाउँका फिल्म हल बन्द अवस्थामा छन् भने केही हल भत्काउन सुरु गरिएको छ।
सिंगल थिएटर परिस्कृत नहुँदा बन्द

कोशी प्रदेशको इटहरी, धरान, झुम्का, विराटनगर, दमक, बिर्तामोडलगायतका सहरमा रहेका पुराना तथा सिंगल थिएटर परिस्कृत नहुँदा बन्द अवस्थामा छन्।

इनरुवाकै पुरानो फिल्म हल कमल टाकिज पूर्ण रूपमा बन्द छ। रामधुनी (झुम्का)मा रहेका पुराना फिल्म हल किरण चित्र मन्दिर र मनकामना चलचित्र हल पूर्ण रूपमा बन्द छन्। झुम्कामा म्याजिक थ्रीडी फिल्म हल मात्रै सञ्चालनमा छ।

धरानको पुरानो फिल्म हल गणेश टाकिज र शिव फिल्म दुवै बन्द अवस्थामा छन्। यसैगरी विराटनगरको हिमालय र जलजला फिल्म हल बन्द अवस्थामा छन्। यसैगरी इटहरीको कृष्ण टाकिज र पशुपति चित्र मन्दिर पनि अवस्थामा छन्।

‘सिट प्लानिङ नहुँदा, पुरानै प्रोजेक्टर हुँदा र नयाँ प्रविधिसँग अपग्रेड नहुँदा पुराना फिल्म हल बन्द अवस्थामा पुगेका छन्,’ नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा निर्देशक समाजका केन्द्रीय महासचिव अरुण प्रधान भन्छन्, ‘ती हलमा एक हजार बढी सिट हुन्थ्यो। बाल्कोनी, थर्ट क्लास, सेकेन्ड क्लास हुन्थ्यो। अहिले त्यस्ता हल देख्नै पाइन्न।’

अहिलेका सबै हल मल्टिप्लेक्स रहेको र दुई सय बढी दर्शक हुँदा हाउसफुल हुने उनले सुनाए।

उनका अनुसार धरानमा फ्रेन्ड फिल्म, इटहरीमा इलाइट फिल्म र सिनेफ्लेक्स, विराटनगरमा क्यु एफएसेस र सिटी सेन्टरमा फिल्म हल सञ्चालनमा छन्। उनका अनुसार पूर्वको दमक र बिर्तामोडका फिल्म हलहरूमा पनि दर्शकको राम्रो उपस्थिति हुने गरेको छ।

‘कोशी प्रदेशका मात्रै नभई देशैभरका सिंगल थिएटरको अवस्था खराब छ। एसी नभईकन मान्छे हलमा जाँदैनन्। सिंगल थिएटरको संरचना भत्कँदै गएका छन्,’ प्रधानले भने, ‘अहिले मल्टिप्लेक्सका फिल्म हलमा एउटै रेट निर्धारण गरिएको छ।’

यसअघि फिल्म हलहरूमा ‘ब्लाक सिस्टम’मा टिकट बेचिने गरेको उनले स्मरण गरे। ‘कतिको सेटिङ टिकट काउन्टरवालासँग हुन्थ्यो। एकैछिन काउन्टर खोल्नेबित्तिकै हाउसफुल भयो, टिकट सकियो भनिन्थ्यो र पछि बढी मूल्यमा बेचिन्थ्यो’, उनले भने।
अहिले प्रविधिको विकास भए पनि त्यसले फिल्म क्षेत्रमा भने असर पारेको उनले बताए।

स्मार्ट फोनका कारण फिल्म बाहिरिनेजस्ता समस्यासमेत विद्यमान रहेको उनको भनाइ छ। ‘रिल सिस्टम थियो, प्रिन्ट पनि सीमित हुन्थ्यो। अहिलेकोजस्तो जसले पायो त्यसले बनाउने फिल्म बनाउने आँट गर्दैनथे’, उनले भने।

विगतमा फिल्म प्रोड्युसरको आफ्नै ‘रिक्स’मा चलाउनुपर्ने अवस्था रहे पनि फिल्म हलमा ५१ दिनसम्म हाउसफुल हुने र ११४ दिनसम्म एउटै फिल्म चलिरहने उनले बताए।

तुलसी घिमिरेको ‘दर्पण छाया’ फिल्मको स्मरण गर्दै उनले भने, ‘त्यो फिल्म २० लाखमा बनेको थियो। राजेश हमालको टाउको राख्दा मात्रै लगानी उक्सने अवस्था थियो। त्यो फिल्म ११४ दिनसम्म पनि चलेकोे थियो।’

अहिले कुनै फिल्म हलले एउटा, दुईवटा सो दिएर ५१ दिन पुगेको अवस्था रहेको, त्यसबेला सीमित फिल्म बन्ने र गाउँबाट समेत दर्शकको बलियो उपस्थिति रहने प्रधानले सुनाए।

फिल्म सहर केन्द्रित भएको र मजदुर वर्गले फिल्म हेर्नै नसकिने अवस्था रहेको उनले सुनाए। ‘कमजोर आर्थिक अवस्था रहेका मान्छेले टिकट किन्नै सक्दैन। फिल्म हेर्नका लागि एकजनाले पाँच सय रुपैयाँ बोकेर जानुपर्छ। मजदुर वर्गका लागि त्यो पहुँच बाहिरको अवस्था हो,’ उनी भन्छन्।

अहिलेका फिल्ममा ५ प्रतिशत मात्रै लगानी उक्सने र ९५ प्रतिशत घाटामा गइरहेको अवस्था छ। उनका अनुसार प्रदीप भट्टराई, दीपाश्री निरौला, उपेन्द्र सुब्बा, रामबाबु गुरुङलगायतले निर्देशन गरेको फिल्म र त्यसका सिरिज चल्ने ट्रेन्ड आएकाले पनि अरु फिल्म ‘फिक्का’ हुने गरेको बताए।

पहिलेका फिल्ममा थोरै लगानीमा निर्माण गर्ने र गुणस्तर नभए पनि विषयवस्तु चाहिँ सान्दर्भिक रहने उनले सुनाए। ‘अहिलेको समयमा पहिलेको हेर्दा केही हदसम्म सुधार छ। कारण हो, हिन्दी फिल्मको दबदबा नहुनु। त्यसबेला हिन्दीकै प्रभाव पथ्र्यो। हुबहु नक्कलजस्तो पनि हुन्थ्यो। अमिताभ बच्चन, सलमान खानहरूको फिल्म नक्कल भएको समेत पाइएको छ’, प्रधानले स्मरण गरे।

उनले तीन दशकअघि फिल्म चलेको बारे पत्रपत्रिकामा आएपछि मात्रै थाहा हुने बताए। हलको प्रचार माइकिङमा हुने र कौतूहल बढ्ने उनको भनाइ छ। ‘अहिलेको पुस्ता कोठाभित्रै मात्र सीमित भए। कति अंग्रेजी फिल्मको प्रचार हुँदैन तर फिल्म हल हाउफुल भइरहेको हुन्छ। उनीहरूको आफ्नै वृत्त हुँदोरहेछ।’

नेपाली फिल्ममा २५ वर्षजति राजेश हमालको एकछत्र राज रहेको र अहिले भने त्यस्तो अवस्था कुनै अभिनेताको नरहेको उनको भनाइ छ।
यद्यपि अहिलेका फिल्ममा आफ्नोपन भने प्राप्त गर्न सकिने प्रधान बताउँछन्।

हजुरआमाको साथी बन्दा निर्देशक

प्रधान निर्देशक हुन्। उनले थुप्रै म्युजिक भिडियो र फिल्म निर्देशन गरेका छन् भने राजेश हमालकै फिल्ममा पनि अभिनय गर्ने अवसर प्राप्त गरेका छन्। यसको श्रेय भने आफ्नी हजुरआमालाई जाने प्रधान सम्झन्छन्। उनले विगत स्मरण गर्दै थपे, ‘म फिल्म लाइनमा इच्छुक थिएँ। मेरी हजुरआमा गंगादेवी प्रधान निकै फिल्म हेर्नुहुन्थ्यो। म हजुरआमाको साथी भएर जान्थेँ।’

आफूलाई केटाकेटी उमेरमा हिरो हुन पाए हुन्थ्यो भन्ने लाग्ने गरेको र पछि राम्रै निर्देशकहरूले पनि प्रस्ताव गरेको उनको भनाइ छ।
‘अहिलेका दर्शक एडभान्स भइसके। हामी त्यो लेभलमा एडभान्स थिएनौँ। नेपाली दर्शकहरू अंग्रेजी र कोरियन फिल्महरू हेर्न अभ्यस्त भए,’ प्रधान भन्छन्, ‘नेपाली फिल्मले सानै क्यानभासमा भए पनि विषयवस्तुलाई राम्रो तरिकाले प्रस्तुत गर्दा दर्शकको रोजाइमा पर्ने गरेको छ।’

मौलिक कथालाई राम्रो तरिकाले प्रस्तुत गर्दा दर्शकले रुचाउने उनको बुझाइ छ। ‘बाहुबली फिल्मको अवधारणामा काम गर्नुपर्छ भन्ने नभएको’ तर मौलिकता चाहिने उनले सुनाए। समाजको कथालाई आफ्नै तरिकाले भन्न सकियो भने फिल्म चल्ने उनको विश्वास छ।

कुरैमा सीमित फिल्म सिटी

कोशी प्रदेश फिल्मको ठूलो हब हो। अहिले देशमा नाम कहलिएका कलाकार तथा निर्देशकहरू धेरैजसो यही प्रदेशका छन्। यहाँ फिल्म सिटी बनाउने परिकल्पनासमेत अगाडि बढेको छ। त्यसले मूर्त रूप लिनेमा कलाकार तथा सरोकारवाला विश्वस्त छैनन्।

चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष दयाराम दाहालले सातै प्रदेशमा फिल्म सिटी बनाउने परिकल्पना अगाडि बढाएअनुरूप कोशी प्रदेशको श्रीलंका टापु भन्ने ठाउँमा फिल्म सिटी बनाउने तयारी गरियो।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने उक्त ठाउँमा तत्कालीन मेयर नीलम खनालले दुई सय बिघा जमिन दिने परियोजना अगाडि बढाएका थिए। अहिलेको नेतृत्व त्यसका लागि भने ‘अनिच्छुक’जस्तो रहेको प्रधानले सुनाए।

‘समितिले अध्ययन गरेर प्रतिवेदन बनाउने भनेको भए पनि सरकारी निकायबाट हुने ढिलासुस्तीका कारण अन्योल सिर्जना भएको छ,’ प्रधान भन्छन्, ‘यो सपना तुुहिएमा अर्को कार्यकालदेखि सरकारी स्तरबाट फिल्म सिटीको परिकल्पना नगरे हुन्छ।’
उनले उपत्यका साँघुरो बन्दै गएको उपत्यकाको विकल्प र ‘मेकर’ले आरामले ‘क्रियटिभ’ तरिकाले काम गर्न पाउने विश्वास गरे।

६ दशकअघिबाट फिल्म हलको सुरुआत

सुनसरीसहित कोशी प्रदेश (त्यसबेला पूर्वाञ्चल)मा करिब ६ दशक अघिबाट फिल्म हल सञ्चालनमा आएको जानकारहरू बताउँछन्।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीका अनुसार यसअघि सुनसरीका विभिन्न सहरहरू ‘टुरिन टाकिज’ अर्थात् डुलाएर फिल्म देखाइन्थ्यो। हेमनारायण चौधरीलगायतका टिमले इटहरीको विराटनगर लाइनमा नारायण टाकिज नाम दिएर चलचित्र हल सञ्चालनमा ल्याएको उनले बताए। सोही फिल्म हललाई नाम परिवर्तन गरेर कृष्ण टाकिज बनाइएको हो।

इटहरीमा आधुनिक शैली अंगाल्दै मल्टिफ्लेक्स हल स्थापित भएपछि पुराना हल बन्द छन्।
 तस्बिरहरू : विवेक विवश रेग्मी ।

प्रकाशित: ३१ वैशाख २०८१ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =