काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा लिबियामा सञ्चालन भइरहेको शान्ति स्थापना कार्यअन्तर्गत खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले लिबियामा संयुक्त राष्ट्रसंघीय सहयोग मिसनअन्तर्गत तैनाथ श्री नयाँ भैरवीदल गुल्म (शा.से.) सातौं उपफौजलाई प्रतिस्थापन गर्न श्री गुरुबक्स गुल्म (शा.से.) आठौं उपफौजका ४२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली बिहीबार (जेठ २१ गते) मिसन क्षेत्रतर्फ प्रस्थान गरेको जनाएको हो।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ६१ जना नेपाली शान्ति सैनिक बिहीबार नै स्वदेश फर्किएका छन्। निर्देशनालयका अनुसार हाल लिबियास्थित उक्त मिसनमा २१३ जना नेपाली शान्ति सैनिक कार्यरत छन्।
नेपाली सेना संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न शान्ति मिसनहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ।




