परराष्ट्रमन्त्री शिशिर खनाल/फाइल तस्बिर
काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन्।
परराष्ट्रमन्त्री खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरो निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा जान लागेको जनाएको हो।
भ्रमणका क्रममा खनालको नयाँदिल्लीमा भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्ताका क्रममा नेपाल र भारतबीचको व्यापार, कनेक्टिभिटी, ऊर्जा व्यापार र जनता–जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित भएर छलफल हुनेछ।
दुई देशबीच हुँदै आएको नियमित उच्चस्तरीय भ्रमणको आदानप्रदानको निरन्तरताको रुपमा यो भ्रमणलाई हेरिएको छ। यसले नेपाल र भारतबीचको ऐतिहासिक, स्थायी र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पु¥याउने परराष्ट्र मन्त्रालयले विश्वास लिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालको आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।
पाँचदिने भारत भ्रमण सकिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने शुक्रबार स्वदेश फर्किएकै दिन परराष्ट्रमन्त्री खनाल त्यसतर्फ जान लागेका हुन्।




