मनाङमा हारको भेल, आर्मी पहिलोपल्ट शीर्ष तीनमा; एनआरटीमाथि फ्रेन्ड्स हाबी

हिमाल प्रेस १२ वैशाख २०८० २३:०३
54
SHARES
मनाङमा हारको भेल, आर्मी पहिलोपल्ट शीर्ष तीनमा; एनआरटीमाथि फ्रेन्ड्स हाबी

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा सातौँ चरण सकिँदा जम्मा दुई क्लब अपराजित थिए, मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज युनाइटेड। त्यसबेलासम्म मनाङले चार खेलमा जित र तीनमा बराबरी गरेको थियो। ती जित र बराबरीबाट १५ अंक बटुलेर मनाङ शीर्षस्थानमा थियो।

मनाङलाई पछ्याउँदै थिए, जावलाखेल युथ क्लब र चर्च ब्वाइज। यी दुई क्लबले क्रमशः १४ र १३ अंक बटुलेका थिए। तेस्रो स्थानको चर्च ब्वाइज अपराजित रहँदा जावलाखेलले भने एक खेल हारिसकेको थियो।

मनाङको अपराजित शृंखला आठौँ खेलमा टुंगियो। दशरथ रंगशालामा मनाङलाई हराउने क्लब थियो, सातदोबाटो युथ। दीपकराजसिंह ठकुरीले पहिलो हाफको ४० औँ मिनेटमा गरेको गोल सातदोबाटोलाई जिताउन पर्याप्त बन्यो।

यो हार मनाङका लागि फुटेको बाँधझैँ बन्यो। त्यसपछि त हारको भेल बग्ने नै भयो। नवौँ चरणमा जावलाखेलसँग ३-०, १० औँ चरणमा त्रिभुवन आर्मी फुटबल क्लबसँग १-०, ११ औँ चरणमा खुमलटार युथ क्लबसँग २-१ को हार भोगेको मनाङ मंगलबार नेपाल पुलिस क्लबसँग १-० ले स्तब्ध बन्यो।

उता चर्च ब्वाइजले भने ११ औँ चरणमा पुगेर पहिलो पराजय भोगेको थियो। जावलाखेलसँग पहिलो हारको स्वाद चाखेको चर्च ब्वाइज त्यसपछि फेरि पराजित भएको हो। लगातार दोस्रो हार व्यहोर्ने क्रममा चर्च ब्वाइज मंगलबार नै आर्मीसँग १-० ले स्तब्ध बन्यो।

खस्किँदो मनाङ

पुछारको पुलिसँग पराजित भएपछि मनाङ आठौँ स्थानमा छ। बुधबार संकटाले सातदोबाटोलाई हराए वा बराबरी गरे मनाङ नवौँ स्थानमा झर्नेछ। हाल नवौँ स्थानमा रहेको संकटा र मनाङको अंक बराबर (१५) छ।

ओरालो लागेको मनाङलाई एन्फा कम्प्लेक्सको मैदानमा हराउन पुलिसका विदेशी खेलाडी मोहम्मद आशिक शौकाथलीले पहिलो हाफको सातौँ मिनेटमा पेनाल्टी गोल गरेका थिए। मनाङका रन्दिप पौडेलले मोेसेस ग्याबाह टुवममाथि फाउल गरेपछि पुलिसको पेनाल्टी पाएका थिए। लिगमा पहिलो खेल खेलिरहेका भारतीय खेलाडी शौकाथलीले पेनाल्टी अवसर खेर फालेनन्।

लिगको दोस्रो चरण सकिएसँगै लगातार रेलिगेसन क्षेत्रमा रहेको पुलिसका लागि यो दोस्रो जित हो। पुलिसले यसअघि सातौँ चरणमा फ्रेन्ड्स क्लबलाई ३-१ ले हराएको थियो। संयोगवश त्यस खेलमा एक गोल टुवमले गरेका थिए।

रेलिगेसनको खतरा टार्न चार विदेशी खेलाडी अनुबन्ध गरेको पुलिसले ती सबैलाई मनाङविरुद्ध उतारेको थियो। १२ खेल खेलिसक्दा नौ अंक जोडेको पुलिस अझै १४ औँ स्थानमै छ।

शीर्ष तीनमा छिर्‍याे आर्मी
दशरथ रंगशालामा चर्च ब्वाइजलाई हराउन आर्मीका जिलेस्पी जंग कार्कीको गोल पर्याप्त भयो। उनले पहिलो हाफको १२ औँ मिनेटमा गोल गरेका थिए।

आर्मीले गोल ‘ट्रान्जिसन’ मा गर्‍यो। चर्च ब्वाइजका कप्तान विवेक पौडेलले मिडफिल्ड साझेदार शुसिल शाहलाई दिएको पास जिलेस्पीले खोसेका थिए।

त्यसपछि बल लिएर मैदानको मध्यभागबाट अघि बढेका जिलेस्पीले चर्च ब्वाइजका रक्षक सविन खड्कालाई सजिलै ‘बिट’ गरे। एक्लै परेका गोलरक्षक गुइलाउमे यभेस प्रिसोले जिलेस्पीको प्रहार रोक्न सकेनन्।

लिगमा आर्मीका लागि यो पाँचौँ जित हो। गत सिजन उपविजेता बनेको आर्मीले यसपालि स्थिर प्रदर्शन गर्न सकेको छैन। संकटा क्लबसँग गोलरहित बराबरी खेलेर लिगमा होमिएको आर्मीले दोस्रो खेलमा च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई हराएको थियो। तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग रोकिएको आर्मी चौथो खेलमा नेपाल एपीएफ क्लबसँग हार्न पुग्यो।

पाँचौँ खेलमा पुगेर तीन अंक बटुल्न आर्मीले फ्रेन्ड्स क्लबलाई हराएको थियो। छैटौँ खेलमा थ्रीस्टार क्लबसँग १-० ले निराश बनेको आर्मीले सातौँ खेलमा सातदोबाटोसँग बराबरी खेल्यो।

आठौँ खेलमा लिग लिडर जावलाखेललाई पन्छाए पनि नवौँ खेलमा आर्मी खुमलटारसँग हार्‍यो। त्यसपछि मनाङलाई पराजित गरेर पुलिससँग भिड्दा आर्मी बराबरीमा रोकिन बाध्य भएको थियो। मंगलबार भने आर्मी जितलयमा फर्किएको हो।

चर्च ब्वाइजलाई हराएपछि पत्रकार सम्मेलनमा उपस्थित आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले साँघुरो जितमा सन्तुष्ट व्यक्त गरे। यद्यपि पुलिससँगको बराबरीका कारण आफ्नो टिम दोस्रो स्थानमा उक्लिन नसकेको भन्न भने भुलेनन्। ‘पुलिससँगको खेल हाम्रा लागि असाध्यै महत्त्वपूर्ण थियो। तर जित्न सकेनौँ। नत्र आज हामी दोस्रो स्थानमा उक्लिन सक्थ्यौँ,’ नवीनले थकथकी माने।

शीर्षदुईमा रहेका जावलाखेल र थ्रीस्टारसँग दूरी घटाएको आर्मीले चर्च ब्वाइजविरुद्ध पहिलो हाफमा तीन सेन्ट्रल डिफेन्डर प्रयोग गरेको थियो। दोस्रो हाफमा भने नवीनले रणनीति परिवर्तन गरे। चर्च ब्वाइजले लगातार दबाब सिर्जना गरेपछि फरक शैलीमा खेल्नु परेको नवीनको भनाइ थियो।

‘विकेश कुथुले चर्च ब्वाइजका आक्रमण लगातार विफल तुल्याएका कारण हामीले तीन अंक बटुल्न सक्यौँ। रणनीति परिवर्तन गरेपछि चर्च ब्वाइजको दबाब थेग्न सजिलो भयो,’ नवीनले भने।

पहिलो र दोस्रो हाफमा सराबरी आक्रमण बुनेको चर्च ब्वाइजका लागि आर्मीका लागि गोलरक्षक विकेश कुथु अन्तिसम्म बाधक बने। चर्च ब्वाइजको लेफ्ट विंग सम्हालेका आशिष चौधरी चर्च ब्वाइजको आक्रमणको केन्द्र थिए। नयाँ स्ट्राइकर रन्जित सिंह पान्द्रे फिक्का देखिएको खेलमा सुशील, मौसम सुब्बा र अर्का विदेशी खेलाडी जोसेफ ओउसु बेम्पाहले पनि आर्मीको रक्षापंक्ति तोड्न सकेनन्। भलै उनीहरुले आर्मीको क्षेत्रमा लगातार बल पुर्‍याइरहे।

‘पहिलो हाफमा हामी सेटल्ड भएर खेल्न सकेनौँ। दोस्रो हाफमा पाएका मौकामा गोल भएन। अन्जन विष्ट नहुँदा ठूलो असर परेको छ। विदेशी खेलाडी खेलाडीले अपेक्षाकृत खेल देखाउन सकेका छैनन्। यसकारण गोल भइरहेको छैन,’ चर्च ब्वाइजका मुख्यप्रशिक्षक बालगोपाल महर्जनले भने।

रेलिगेसन ब्याटल
यो सिजन शीर्ष चारमा जस्तै पुछारमा पनि चर्को प्रतिस्पर्धा भइरहेको छ। सम्भावित लिग विजेता अनुमान गर्न नसकिएका बेला रेलिगेसनमा पर्ने दुई टिमबारे अन्दाज गर्न मुस्किल छ। सबैभन्दा अन्तिम स्थानमा पुलिस स्थिर देखिए पनि त्यसभन्दामाथिका तीन स्थानमा प्रत्येक चरणले परिवर्तन ल्याइरहेका छन्।

११ औँ चरण सकिँदा १२ औँ स्थानमा रहेको फ्रेन्ड्स मंगलबार एनआरटीलाई ३-१ ले पन्छाउँदै १० औँ स्थानमा उक्लियो। १० औँ स्थानमा रहेको एनआरटी भने ११ औँ स्थानमा झर्‍यो। खुमलटार र हिमालयन शेर्पाले क्रमशः १२ र १३ औँ स्थान ओगटेका छन्।

दशरथ रंगशालामा फ्रेन्ड्सलाई जित दिलाउन रफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले एक-एक गोल गरेका थिए। रमिनुको गोलमार्फत १४ औँ मिनेटमा अघि बढेको फ्रेन्ड्सविरुद्ध एनआरटीले ४१ औँ मिनेटमा बराबरी गोल गरेको थियो। एनआरटीका सब्स्टिच्युट संजिव विष्टले गोल फर्काएका थिए।

तर पहिलो हाफको आतिरिक्त समयमा जेब्रिनले फ्रिकिकमा गोल गरेपछि फ्रेन्ड्स २-१ को स्थितिमा पुगेको थियो। फ्रेन्ड्सको चौथो जित पक्का गर्न कप्तान प्रकाशले ७६ औँ मिनेटमा ‘ट्याप इन’ गोल गरे। उनलाई विंग लक्ष्मण रुचालले क्रस उपलब्ध गराएका थिए।

फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सुरुवाती गोलका कारण आफ्नो टिमलाई सजिलो भएको प्रतिक्रिया दिए। यसअघि चार-पाँच खेलमा आफ्नो टिमले उत्तरार्धमा गोल खाएर हारेको उल्लेख गर्दै उनले भने, ‘मलाई लाग्छ हामी अभागी टिम हौँ। नहार्ने खालका खेल हार्‍यौँ। अझै पनि रक्षापंक्ति सन्तुलित बन्न सकेको छैन। मेहनत गर्नुछ।’

उर्जनले अहिल्यै अन्तिम अंक तालिकाबारे अनुमान गर्न नसकिने पनि बताए। ‘प्रत्येक खेलमा मेहनत गर्ने हो। अन्तिममा कुन स्थान प्राप्त हुन्छ, त्यसबारे अहिले नै केही भन्न सकिने अवस्था छैन,’ गत सिजन थ्रीस्टारका मुख्य प्रशिक्षक रहेका उर्जनले भने।

एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भने लिगमा अझै धेरै खेल बाँकी रहेकाले रेलिगेसनबारे चिन्ता नरहेको बताए। ‘आज हामी जितको लक्ष्यसहित नै मैदान ओर्लिएको हो। जितेको भए, रेलिगेसन क्षेत्रभन्दा निकै माथि पुगिन्थ्यो। तर लिगमा निकै खेल बाँकी नै छ। अहिले नै डराएका छैनौँ,’ राजुकाजीले भने, ‘फेरि लिगमा एक वा दुई खेल जित्दा, हार्दा अंक तालिकामा व्यापक तलमाथि हुने स्थिति छ। नतिजा पनि अपेक्षा गरेभन्दा फरक आइरहेका छन्।’

प्रकाशित: १२ वैशाख २०८० २३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =