प्रहरीका छोरीलाई लक्ष्मी बैंकको छात्रवृत्ति

हिमाल प्रेस १२ वैशाख २०८० १४:५८
262
SHARES
प्रहरीका छोरीलाई लक्ष्मी बैंकको छात्रवृत्ति

काठमाडौँ- लक्ष्मी बैंकले ‘नेपाल प्रहरी लक्ष्मी बैंक कोष’ स्थापना गरेको छ। प्रहरी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीसँगको समन्वयमा कोष स्थापना गरिएको हो।

छात्रवृत्तिबाट प्रहरी विद्यालयमा अध्ययनरत अमर/सहिद, बहालवाला, पूर्व एवं अवकाश प्राप्त, अशक्त जुनियर प्रहरी अधिकृतका परिवारका जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जानकारी दिएको छ।

उक्त कोषले बैंकको ‘छोरी शिक्षित, देश शिक्षित’ अभियानलाई सहयोग पुग्ने बैंकको भनाइ छ। बैंक र नेपाल प्रहरी कल्याण कोषबीच मंगलबार कोष स्थापना सम्बन्धमा सम्झौता गरिएको छ। सम्झौताअनुसार बैंकले कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। सोही क्रममा बैंकले आगामी ५ वर्षसम्म ७ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको छ।

मंगलबार भएको सम्झौतामा बैंकका तर्फबाट रिटेल फाइनान्स सर्भिसेस प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीका नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहको पनि उपस्थिति थियो। छात्रवृत्तिका लागि छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्ने बैंकले बताएको छ।

प्रकाशित: १२ वैशाख २०८० १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =