सडक सुविधा

पर्यटक बसमा सररर पोखरा

विजय नेपाल १० वैशाख २०८० ११:३७
72
SHARES
पर्यटक बसमा सररर पोखरा

पोखरा- ममता आचार्य पर्यटक बस पाएसम्म हत्तपत्त अर्को गाडी चढ्दिनन्। पोखराबाट काठमाडौँ, चितवन तथा लुम्बिनी जानुपर्‍यो भने उनको पहिलो रोजाइ हुन्छ, पर्यटक बस। सुरक्षित यात्रा, एकनासको गति, निश्चित समय, एसी सुविधा, सरसफाइ, आतिथ्यलगायतले पर्यटक बसमै चढ्ने गरेको उनी बताउँछिन्।

पर्यटक बसको टिकट अन्यको तुलनामा केही महँगो परे पनि सुविधाले उनलाई तानेको हो। उनी प्रश्न गर्छिन्, ‘दुई चार रुपैयाँ बढी तिर्दा सुविधा र सुरक्षा दुवै पाइन्छ भने किन नतिर्नु?

दिनहुँजसो गाडी दुर्घटनाका समाचार आइरन्छन्। तर पर्यटक बस दुर्घटनामा परेको भन्ने खासै सुनिँदैन। त्यसो हुनुको राज के रहेछ त? त्यसबारे केहीबेरमा चर्चा गरौँला। यहाँ पर्यटकीय सहर पोखरामा पर्यटक बस कहिले भित्रियो? भन्नेतिर लागौँ।

स्विस ट्राभल्स पहिलो

पोखरामा पहिलोपल्ट पर्यटक बस भित्राउने श्रेय स्विस ट्राभल्सलाई जान्छ। काठमाडौँ निवासी बटुकाजी खत्रीले पर्यटक बस भित्राएका हुन्। उनले २०४४ सालमा स्विस कम्पनीको पर्यटकस्तरको गाडी भित्र्याएको पुराना पर्यटन व्यवसायी केदारनाथ शर्मा बताउँछन्। नेपालमा पर्यटकका लागि सुरुमा रातो प्लेटका गाडी चल्थ्यो।

२०४९ सालमा आएर रातो फेरेर हरियो प्लेट भयो। पोखरामा स्विसपछि क्रमशः दिव्यशक्ति, मनिका, सुदर्शन, ब्लु स्काई ट्राभल्सले पर्यटक गाडी भित्राएका हुन्। ब्लु स्काईका सञ्चालक केदारनाथ आफैँ हुन्।

पर्यटक बस व्यवसायीको संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीमा १८६ सदस्य छन्। कोरोनाका कारण केही व्यवसायीले हात झिकेपछि यस वर्ष नवीकरण गर्नेहरू १६७ मात्र रहेको अध्यक्ष हरिराम अधिकारी बताउँछन्।

गाडीभन्दा पहिले जहाज

पोखराले गाडीभन्दा पहिले जहाज भित्र्याएको हो। पोखरामा २००८ सालमा पहिलोपल्ट जहाज अवतरण भएको थियो। काठमाडौँ–पोखराबीच सडक मार्गसँग जोडिन भने २२ वर्ष पर्खनुपर्‍यो। २०३० सालमा पृथ्वी राजमार्ग बनेपछि पोखरा–काठमाडौँ बस सञ्चालन हुन थालेको हो। त्यसअघि २०२९ सालमा सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) उद्घाटन भएको थियो।

पृथ्वी र सिद्धार्थ राजमार्ग खुलेसँगै भूपि शेरचन राजमार्ग (पोखरा–बागलुङ) रुट पनि सञ्चालन आयो। यसबाट त्यस भेगमा पनि आवतजावतमा सहज भएको छ। मुक्तिनाथ दर्शन गर्न भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ।

यसरी सडकमार्गबाट पोखरा कनेक्टिभिटी हुँदै गर्दा सार्वजनिक यातायातको पहुँच बढ्दै गयो। व्यवसायीले सुविधाजनक गाडीमा लगानी गर्न थालेका छन्। सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरेपछि व्यवसायी थप आकर्षित भएका छन्। अहिले पर्यटक लक्षित डिलक्स हुँदै सोफा गाडी चल्न थालेका छन्।

तत्कालीन पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत जगदम्बा टुर्स एन्ड ट्राभल्सले जहाजको जस्तो सुविधा दिने गाडी चलाउन थाल्यो। त्यसमा गाडीभित्रै शौचालय सुविधा छ। विमान परिचारिका जस्तो झल्को दिने गरी युवतीले स्वागत गर्छिन्। खाना, नास्ता, ब्ल्याङ्केट, पानी बसभित्रै उपलब्ध गराइन्छ। कोभिडपछि भने खाना सुविधा हटाइएको छ। जगदम्बाका सोफा गाडी पोखरा–काठमाडौँ रात्रि दुई वटा चल्छन् भने दिवा सेवामा एउटा चल्छ। कम्पनीले चाँडै चारवटा गाडी थप्न लागेको सञ्चालक केशव अधिकारीले जानकारी दिए।

पर्यटक गाडीको भीडमा पाँच वर्षअघि स्विफ्ट होली डे ट्राभल्सले १८ र २५ सिटे गाडी भित्र्यायो। कम्पनी सञ्चालक भीमबहादुर खड्काका अनुसार स्विफ्टका गाडी पोखरादेखि काठमाडौँ, भक्तपुर, सौराहा र लुम्बिनीसम्म जाने आउने गरेका छन्।

पर्यटक गाडी चलाउँदै आएकोमा पछिल्लो समय उनी गाडी मालिक बनेका हुन्। उनका अनुसार कम्पनीमा अरु दुई जना पनि सञ्चालक छन्। यातायात व्यवसायमा तीव्र प्रतिस्पर्धाबीच नयाँनयाँ प्रकारका पर्यटक गाडी सडकमा गुड्न थालेका छन्।

पोखरा घुम्न आउने पर्यटक हवाई यातायातबाट जति ओर्लिन्छन्, त्यसभन्दा दोब्बर स्थलमार्ग हुँदै पर्यटक बस भित्रिन्छन्। आन्तरिक एवं बाह्य पर्यटकको सुविधाका लागि पोखराका व्यवसायीले देशका विभिन्न सहरमा पर्यटक बस चलाउने गरेका छन्। हाल पोखराबाट दैनिक काठमाडौँ, सौराहा, लुम्बिनी, बेंसीसहरमा गरी ३६ पर्यटक गाडी छु्ट्ने गरेका छन्। ती ठाउँबाट पनि सोही हाहाहारीमा पोखरा गन्तव्य बनाएर गाडी छुट्ने गरेका छन्।

 

पोखरा–काठमाडौँ तथा पोखरा–चितवनमात्र पर्यटक गाडी चलाउँदै गरेकोमा केही समयअघि लुम्बिनी पनि जान थालेको हो। यातायात व्यवस्था कार्यालय गण्डकीमा पर्यटकस्तरका ठूला गाडी दर्ता करिब २८० हाराहारी पुगेको छ।

बागमती प्रदेशमा दर्ता भएका गाडी पनि यहाँ चल्छन्। यसरी पोखरामा पर्यटकस्तरका ठूला गाडीसहित हलुवाका सवारी (कार, जिप, भ्यान, हाइस) गरी करिब ११ सय गाडी छन्। लामो दुरीबाट पर्यटक बोक्न ठूला गाडी प्रयोग भए पनि हलुवा सवारीसाधन होटल, प्याराग्लाइडिङ, ट्राभल्स एजेन्सीलगायत पर्यटकीय क्षेत्रमा पाहुना बोक्न बढी प्रयोग गरिएको पाइन्छ।

पर्यटकस्तरका गाडीका कारण रोजगारी वृद्धि भएको छ। हरेक गाडीमा कम्तीमा चालक र सहचालक हुने नै भए। साथै एक जना अपरेटर, एकाउन्टेन्ट हरेक कम्पनीमा चाहिन्छ। अधिकांश कम्पनीले पोखरा तथा काठमाडौँमा कार्यालय खोलेका छन्। यसबाट रोजगारीमा पनि टेवा पुगेको पोखरा पर्यटन परिषद् महासचिव सञ्जयकान्त सिग्देलको भनाइ छ।

नाट्टाका निवर्तमान अध्यक्षसमेत रहेका सिग्देलका अनुसार कोरोना नहुँदो हो त पर्यटक बसमा लगानी गर्नेहरु अझै बढ्थे। व्यवसायीले पनि आफ्ना सवारीको गुणस्तर, सुरक्षा र स्तरीय सेवाको सन्दर्भमा लापरबाही गर्दैनन्।

यातायात : अर्थतन्त्रको इन्जिन

प्रकाशित: १० वैशाख २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =