काठमाडौँ- टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले पर्यटन क्षेत्रलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री बनाउन पर्यटक बसपार्क निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ।
टिवानको १५ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष भीष्म न्यौपानेले पर्यटन बसपार्क निर्माणको विषयलाई वर्षौंदेखि उठाउँदै आए पनि अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको बताए।
न्यौपानेले पर्यटन बसपार्क बस पार्किङ गर्ने स्थान मात्र नभई नेपालको पर्यटन व्यवस्थापन, पर्यटकको सुविधा तथा सुरक्षा र समग्र पर्यटन क्षेत्रको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण पूर्वाधार भएको उल्लेख गरे।
नेपाल भ्रमणमा आउने पर्यटकले विमानस्थलबाट गन्तव्यसम्म पुग्नेदेखि देशका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्दासम्म सहज, सुरक्षित, भरपर्दो र आरामदायी यातायात सेवा पाउनुपर्ने उनको भनाइ थियो।
पर्यटन क्षेत्रको विकासमा यातायातको भूमिका महत्वपूर्ण भए पनि व्यवस्थित पर्यटन बस टर्मिनलको अभावमा व्यवसायी तथा पर्यटक दुवैले विभिन्न समस्या भोग्नुपरेको उनले बताए।
‘पर्यटन बसपार्क निर्माणको विषयलाई अब आश्वासनमा मात्र सीमित नराखौँ, यसलाई प्राथमिकतामा राखेर आवश्यक निर्णय गरौँ र कार्यान्वयनको दिशामा ठोस रूपमा अघि बढौँ,’ अध्यक्ष न्यौपानेले बताए।
पर्यटन यातायात क्षेत्रको विकासका लागि व्यवसायीको एकल प्रयास पर्याप्त नहुने भन्दै सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन तथा यातायात व्यवसायी, श्रमिक र अन्य सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको एसोसिएसनले जनाएको छ।
काठमाडौँ-ल्हासा, नेपाल-भारतका प्रमुख सहर तथा सीमादेखि सीमासम्म पर्यटक बस सेवा सञ्चालनजस्ता अवधारणालाई सम्भाव्यता अध्ययनका आधारमा चरणबद्ध रूपमा अघि बढाउनुपर्ने धारण पर्यटन व्यवसायीले राखेका छन्।
एसोसिएसनका महासचिव प्रकाशचन्द्र अधिकारीले पर्यटन यातायात पूर्वाधारको विकास, पर्यटकको सहज आवागमन, पर्यटन बसपार्क निर्माण तथा व्यवसायीले भोग्दै आएका विविध समस्याको समाधानमा सरकारको ध्यान जानुपर्ने बताए।
एसोसिएसनका कोषाध्यक्ष चिरञ्जीवी गिरीले पर्यटक बसपार्क निर्माण नहुँदा व्यवसायीले ठूलो समस्या भोग्नुपरेको बताए। कार्यक्रममा श्रीकान्त आचार्य, पूर्वअध्यक्ष प्रह्लाद लोहनी, ईश्वर शर्मा, कृष्ण आचार्यलगायतको सहभागिता थियो।



