सडक सुविधा

साना गाडी : गाउँलाई सहरसँग जोड्ने ‘ग्लू’

विवेक विवश रेग्मी १० वैशाख २०८० ११:३७
68
SHARES
साना गाडी : गाउँलाई सहरसँग जोड्ने ‘ग्लू’ खोटाङको रसुवामा रोकिएको सुमो गाडी।

इटहरी- भोजपुरका स्थायी बासिन्दा देवेन्द्र पराजुली बेलाबेला इटहरी-भोजपुर गरिरहन्छन्। उनका अनुसार अहिले इटहरीबाट भोजपुरसम्म सुमोमा ६ घण्टामै पुगिन्छ। पहिलेपहिले हिँड्नुपर्ने र त्यसपछि बसको यात्रामा भने दुई दिनसम्म लागे पनि अहिले इटहरीबाट गाउँ ६ देखि ८ घण्टामै पुगिने पराजुली बताउँछन्।

‘अहिले सानाठूला गाडी गाउँसम्मै पुग्दा धेरै सहज भएको छ,’ उनले भने, ‘सदरमुकामबाट गाउँ जान पनि निकै सहज हुन्छ। एकै दिनमा घर पुगिन्छ, पहिलेपहिले बसमा जाँदा कहिले लेगुवामा बास बस्नुपर्थ्यो।’

भोजपुर सदरमुकाम भोजपुरबाट गाउँसम्मै सुमो तथा बस पुग्छन्। जसकारण गाउँलाई सहरसँग जोड्न ठूला तथा साना सवारीसाधनले सहज बनाएको छ।

अहिले भोजपुरबाट दलगाउँ, भुल्के हुँदै कटुञ्जेसम्म गाडी पुग्छन्। भोजपुर बजारकै टक्सार, कोट हुँदै लेखर्कसम्म, मानेभञ्ज्याङदेखि हतुवागढीसम्मका गाउँमै गाडी पुग्दा सयौँ यात्रुहरूले सहज यात्रा गरिरहेको पराजुलीको भनाइ छ।

‘पहिला यात्रा गर्दा अक्करको बाटो हुँदै हिँड्नुपर्थ्यो। बस सदरमुकामसम्म मात्रै पुग्यो,’ उनले भने, ‘अहिले मध्यपहाडी राजमार्गमा पिच (कालोपत्रे) भइसकेका कारण पनि यात्रा गर्न सहज छ। इटहरी, धरान, विराटनगरबाट ६ घण्टामै आरामले भोजपुर पुगिन्छ।’

यसअघि भोजपुर जान धरानसम्म छुट्टै सवारीसाधनमा जानुपर्ने र त्यहाँबाट बसमा जानुपर्ने बाध्यता थियो। अहिले इटहरीमै घरसम्मै सुमो लिन पुग्ने गरेका कारण सुविधा बढ्दै गएको छ।

कोशी प्रदेशका मुख्य सहरहरू विराटनगर, इटहरी, धरान, बिर्तामोडबाट पहाडी क्षेत्र भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम, इलाम, ताप्लेजुङमा सुमो, बोलेरो लगायतका सवारीसाधन घरगाउँमै पुग्ने भएका कारण सहज भएको स्थानीय बताउँछन्। अपर्झट पर्दा पनि ठूलाभन्दा साना सवारीसाधनले सेवा दिइरहेको छ।

विराटनगरबाट खोटाङ जान यसअघि निकै सकस हुन्थ्यो। अहिले भने घरसम्मै सुमो पुगेका कारण सुविधा भएको खोटाङ बजारका पेशल ढकाल बताउँछन्। ‘विराटनगरमा उपचार गराउन आइरहनुपर्छ। बूढाबूढी र बिरामी हिँड्दै आउन निकै गाह्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले घरमै बोलेरो र सुमो आइपुग्दा सहज भएको छ।’

खोटाङ बजारबाट बोलेरो सीधै काठमाडौँ जान्छ। हलेसी, घुर्मी हुँदै खुर्कोट निस्किएर काठमाडौँको यात्रा गरिरहेको उनले बताए। उनका अनुसार सुमोबाट विराटनगर, इटहरी, धरान सजिलै छोटो समयमै पुगिन्छ।

‘पहिला खोटाङ बजारबाट चिसापानी हुँदै दूधकोशीमा नाउ तरेर तराई झर्नुपर्थ्यो,’ उनले विगत स्मरण गरे, ‘अहिले त्यो बाटोको यात्रा टुंगियो, गाडीबाटै यात्रा हुँदा गाउँलेलाई निकै सहज भएको छ।’

खासगरी २०७० सालपछि माइक्रो र सुमोको संख्या बढेको हो। बोलेरो, सुमोका कारण पहाडी भेगमा यात्रा गर्नका लागि निकै सहज भयो। बीपी राजमार्ग सञ्चालनमा आएपछि पूर्वी नेपालबाट काठमाडौँ आवतजावतमा सुमो र माइक्रोबसले निकै परिवर्तन ल्याइदिएका हुन्। उति बेला दिवा वा रात्रिबसबाहेक अन्य विकल्प थिएन। सुमो र माइक्रोबस पनि थपिएपछि यात्रा सहज हुन थालेको बिर्तामोडका भानुभक्त निरौला बताउँछन्। कोशी प्रदेशका विभिन्न स्टेसनबाट सुमो छुट्छन्। माइक्रो भने हरेकजस्तो स्टेसनबाट काठमाडौँ जान्छन्।

०५६ सालदेखि गाडी पेसामै रहेका शिवहरि पोखरेल सुमोका कारण पहाडी क्षेत्रमा यात्रा गर्नेहरूका लागि निकै सहज भएको बताउँछन्। ‘सुमोले रोजगारीसँगै सुविधा पनि दियो’, उनले भने, ‘पहाडमा कुनै एउटा ठाउँमा लगेर यात्रुलाई छाड्ने भन्दा पनि हरेक मानिसको घरसम्मै पुर्‍याइदिने भएका कारण सुविधा भयो।’

उनका अनुसार भोजपुरको बाक्सिला र खोटाङको ऐँसेलुखर्कसम्म ठूला गाडी पुग्नै सकस हुन्छ। त्यस्तो ठाउँमा पनि अहिले सुमोले सहजै यात्रु पुर्‍याउने र ल्याउने उनले बताए। माइक्रोचाहिँ काठमाडौँ मात्रै जान्छन्।

इटहरी, धरान, दमक, विराटनगरबाट पहाडी भेगका लागि सुमो छुट्छन्। इटहरीबाटै ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, इलाम, पाँचथर जान्छन्।

बिर्तामोड, विराटनगर, उर्लाबारी, बेलबारी, धरान, लेटाङ लगायत सबै स्टेसनबाट माइक्रो चल्ने पोखरेलले बताए। उनका अनुसार माइक्रो १५ सिटे र सुमो १० सिटेसम्म हुन्छन्। एउटा सवारीसाधन चल्दा कम्तीमा तीन जना चालक, साहु, बुकिङ काउन्टरमा काम गर्नेले रोजगारी पाइरहेका छन्। ‘मेन प्वाइन्टबाहेक अन्य ठाउँबाट पनि बुकिङ हुन्छ,’ पोखरेलले भने, ‘ठाउँठाउँमा काउन्टर खोलेर बस्नेले पनि रोजगारी पाएका छन्, पछिल्लो समय रोजगारीसँगै गाउँ पुग्नेलाई सुविधा भएको छ।’

सगरमाथा सुनसरी यातायात प्रालि संघसँग आबद्व रहेका उनी भन्छन्, ‘कोशी प्रदेशमा संघ कतिवटा छन् भन्ने नै यकिन छैन, पाँचवटा गाडी भएपछि एउटा संघ खोल्न पाइन्छ।’

कोशी प्रदेशमा सगरमाथा सुनसरी, खोटाङे, तुवाचुङ, युनिट, तीनजुरे, सुनसरी, सप्तकोशी, इन्द्रेणी, साकिरा, पूर्वाञ्चलजस्ता नामबाट संघ खोलिएका छन्। संघमार्फत गाडीको संख्या नै यकिन नरहेको उनको भनाइ छ।

‘यताबाट जाने र उताबाट आउने ट्रान्जिन्टमा रोजगारी पाइरहेका छन्,’ उनी भन्छन्, ‘एउटा काउन्टरमा दुईजनाले रोजगारी पाएका छन्, हामीकहाँ मात्रै १२ वटा काउन्टर छ।’

यातायात : अर्थतन्त्रको इन्जिन

प्रकाशित: १० वैशाख २०८० ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =