प्रिमियर लिग राउन्डअप : ब्युँतिँदै लिभरपुलको शीर्ष चार सम्भावना, एभरटन रेलिगेसन क्षेत्रमा

हिमाल प्रेस १० वैशाख २०८० ८:५६
12
SHARES
प्रिमियर लिग राउन्डअप : ब्युँतिँदै लिभरपुलको शीर्ष चार सम्भावना, एभरटन रेलिगेसन क्षेत्रमा

काठमाडौँ- लिभरपुलले नटिङहम फरेस्टलाई ३-२ ले हराउँदै शीर्ष चारमा छनोट अभियानबाट पछि नहटेको सन्देश दिएको छ। युरोपियन क्लब फुटबलमा प्रवेश गर्ने लक्ष्य बोकेको एस्टन भिल्ला भने ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकियो।

इंग्लिस प्रिमियर लिगमा शनिबार नै भएका अरू खेलमा लेस्टर सिटीले उल्भरह्याम्पटन र फुलहमले लिड्स युनाइटेडलाई समान २-१ ले पराजित गर्दा क्रिस्टल प्यालेस र एभरटनले गोलरहित बराबरी खेले।

गत सोमबार लिड्स युनाइटेडमाथि ६-१ को जित हात पारेपछि अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लिभरपुलको सम्भावना जीवित बनेको थियो। यही सम्भावनालाई थप मजबुत बनाउने उद्देश्यसहित एनफिल्डमा उत्रिएकोे लिभरपुलले जित सहजै प्राप्त गरेन।

एनफिल्ड आउनुअघि कुल पाँच ‘अवे’ गोल गरेको फरेस्ट लिभरपुलविरुद्ध दुई गोल गर्‍यो। त्यो पनि दुई पटक पछि पर्नसाथ।

लिभरपुलले ४७ औँ अग्रता मिनेटमा लिएको थियो। तर डिएगो जोटाले लिभरपुललाई अघि बढाएको चार मिनेटपछि नै फरेस्ट खेलमा फर्कियो। लिभरपुल एकेडेमीमा हुर्किएका निको विलियम्सले गरको प्रहार एन्डी रोबर्ट्सनलाई ठोक्किँदै गोलमा परिणत भएको थियो। गोल खाएको चार मिनेट नबित्दै जोटाले दोस्रो गोल गर्दै लिभरपुलको अग्रता पुनः स्थापित गरे।

फरेस्टले ६७ औँ मिनेटमा खेललाई फेरि बराबरीमा पुर्‍यायो। यसपटक मोर्गान गिब्स ह्वाइटले गोल गरे। तीन मिनेटपछि मोहम्मद सलाहले जारी सिजनको व्यत्तिगत १६ औँ गोल गरेपछि लिभरपुलले ३-२ को अग्रता बनायो। त्यसपछि भने फरेस्टले गोल थप्न सकेन।

जितपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लपले आफूहरू नतिजाले सन्तुष्ट भए पनि प्रदर्शनमा चित्तबुझ्दो नभएको प्रतिक्रिया दिए। ‘सबै खेलाडीलाई थाहा छ, आज हामीले चित्तबुझ्दो प्रदर्शन गरेनौँ भनेर। यद्यपि तीन अंक बटुल्न सकेकोमा भने सबै खुसी छन्। फुटबलमा उसै पनि सर्वाधिक महत्त्वपूर्ण तीन अंक नै हो। यो तीन अंक किन पनि विशेष छ भने हामीले यसलाई निकै गाह्रो गरी आफ्नो पक्षमा पारेका हौँ,’ क्लपले भने।

चोटका कारण यो सिजन १६ लिग खेल गुमाएका जोटाले एनफिल्डमा गोल लयलाई कायम राखे। लिड्समाथिको जितमा दुई गोल गरेका जोटा त्यसअघि एक वर्षसम्म गोलविहीन थिए।

लिभरपुल अब सातौँ स्थानमा उक्लिएको छ। ३१ खेलबाट ५० अंक बटुलेको लिभरपुल पाँचौँ स्थानको टोटनहम र चौथो स्थानको न्युकासल युनाइटेडभन्दा क्रमशः तीन र ६ अंकले पछि छ। टोटनहम र न्युकासल आइतबार आमनेसामने हुँदैछन्।

लिभरपुलभन्दा एक स्थानमाथि रहेको भिल्लाले ब्रेन्टफोडसँग बराबरी खेलेपछि अपराजित शृंखलालाई नवौँ खेलसम्म पुर्‍यायो। ब्रेन्टफोर्डले घरेलु मैदानमा ६५ औँ मिनेटमा अग्रता लिएको थियो। इंग्लिस स्ट्राइकर इभान टोनीको गोलबाट अघि बढेको ब्रेन्टफोर्डविरुद्ध भिल्लाले ८७ औँ मिनेटमा बराबरी गोल फर्कायो। भिल्लालाई हारबाट जोगाउन डौग्लास लुइजले गोल गरेका थिए।

इंग्ल्यान्डका लागि दोस्रो रोजाइको स्ट्राइकर बन्ने दौडमा रहेका टोनीले १९ औँ लिग गोल गर्दा अर्का इंग्लिस स्ट्राइकर ओली वाट्किन्सले भने खाता खोल्न सकेनन्। वाट्किन्सको नाममा १४ गोल छ। संयोगवश यी दुवै स्ट्राइकरको उमेर उस्तै छ। दुवै २७ वर्षका हुन्।

रेलिगेसन क्षेत्रबाट निस्कियो लेस्टर

रेलिगेसनबाट संघर्षरत लेस्टरले १-० ले पछि परेको स्थिति उल्टाउँदै उल्भरह्याम्पटनलाई २-१ ले पन्छायो। नयाँ प्रशिक्षक डिन स्मिथका लागि यो दोस्रो खेल र पहिलो जित हो। स्मिथले अप्रिल १५ मा म्यानचेस्टर सिटीविरुद्धको खेलबाट लेस्टरलाई प्रशिक्षण दिन सुरु गरेका थिए।

फेब्रुअरी ११ मा टोटनहमलाई हराएयता लेस्टरले कुनै खेल जितेको थिएन। मार्च १८ मा ब्रेन्टफोर्डसँग १-१ को बराबरी गरेको लेस्टर लगातार चार खेलमा पराजित थियो। नयाँ प्रशिक्षकको नेतृत्वमा खराब लय टुंग्याउने लक्ष्यका साथ घरेलु मैदानमा ओर्लिएको लेस्टर १३ औँ मिनेटमा गोल खान पुग्यो।

उल्भरह्याम्पटनका लागि माथ्थुएस कुनाले गोल गरेका थिए। तर ३७ औँ मिनेटमा केलेची इनाचियोले पेनाल्टी गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। पाहुना टिमका गोलरक्षक जोसे साले जेमी भार्डीलाई लडाएपछि लेस्टर सिटीले पेनाल्टी पाएको थियो।

दोस्रो हाफको ७५ औँ मिनेटमा लेस्टरले दोस्रो तथा निर्णायक गोल गर्‍यो। यो गोल दुई फुलब्याकको सहकार्यमा सम्भव भयो। लेफ्टब्याक भिक्टर क्रिस्टियन्सनले १८ यार्ड बक्सभित्र निकालेको क्रसलाई राइटब्याक टिमोथी कास्टानेले गोलमा परिणत गरेका थिए।

यो जितले लेस्टरलाई रेलिगेसनबाट बच्ने लडाइँमा आत्मविश्वासी बनाउने स्मिथको भनाइ थियो। ‘पछि परेको स्थितिलाई उल्टाउँदै जित्न सफल भयौँ। जितले हामीलाई आत्मविश्वासी बन्न मद्दत गर्नेछ। यो सिजन लेस्टरको समग्र प्रदर्शनललाई लिएर प्रश्न उठेका छन्। खेलाडी प्रतिबद्ध छैनन् भन्ने आरोप पनि नलागेको होइन। तर आजको प्रदर्शनले त्यस्तो आरोपलाई खारेज गरिदिएको छ,’ स्मिथले भने।

उल्भरह्याम्पटनमाथिको जितले लेस्टरलाई रेलिगेसनबाट बाहिर निकाल्दा एभरटनलाई भने १८ औँ स्थानमा झारेको छ। लेस्टर र एभरटनले ३२-३२ खेलबाट २८-२८ अंक जम्मा गरेका छन्। तर गोल अन्तरमा एभरटन पछि परेको हो। पुछारको दुई स्थानमा भने नटिङहम फरेस्ट र साउथह्याम्पटन छन्। यी दुई टिमसँग क्रमशः २७ र २४ अंक छ।

प्यालेससँगको गोलरहित बराबरीमा एभरटन १० खेलाडीमा सीमित भएको थियो। निर्धारित समय सकिन १० मिनेट बाँकी छँदा पाहुना टिमका म्यासन होल्गेटले रातो कार्ड पाएका थिए। यो बराबरीले प्यालेसको तीन जितको शृंखलामा पूर्णविराम लागेको छ। नयाँ प्रशिक्षक रोय हड्सनको प्रशिक्षणमा प्यालेस जित लयमा थियो।

फुलहमसँग २-१ को पराजय भोगेपछि लिड्स रेलिगेसन क्षेत्रको नजिक पुगेको छ। लिड्स एभरटनभन्दा मात्र एक अंकले माथि छ। फुलहमलाई क्याराभन कटेजमा जित दिलाउन ह्यारी विल्सन र आन्दे्रस परेराले एक-एक गोल गरे। लिड्सको एक गोल पनि फुलहमकै खेलाडीले गरे। मिडफिल्डर जोआओ पाल्हिन्हाले दोस्रो हाफको ७९ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए।

प्रकाशित: १० वैशाख २०८० ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =