एजेन्डाभन्दा उत्तेजनाको पछि लाग्‍ने प्रवृत्ति बढ्यो : प्रचण्ड

हिमाल प्रेस ९ वैशाख २०८० १६:४६
4
SHARES
एजेन्डाभन्दा उत्तेजनाको पछि लाग्‍ने प्रवृत्ति बढ्यो : प्रचण्ड

ललितपुर– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। समाजमा अराजक प्रवृत्ति मौलाएकाले बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको उनको भनाइ छ।

पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभई देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य र आदर्शमा विचलन देखिएको भन्दै उनले दु:ख व्यक्त गरे। समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो कि भन्ने डर पलाएको बताउँदै उनले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेन्डाभन्दा मान्छे सेन्टिमेन्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे।

समाजमा यस किसिमका गतिविधि बढ्दै जाँदा बुद्धिजीवीहरूले हस्तक्षेपकारी भूमिका खेल्न उनले आग्रह गरे।

‘अहिले समाजमा विचारमा विचलन देखापरेको छ। अहिल खाली कम्युनिष्ट आन्दोलनभित्र मात्रै पनि होइन, देशको समग्र राजनीतिमा पनि आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ। भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेन्डालाई भन्दा मान्छे सेन्टिमेन्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ,’ उनले भने।

अहिले वैचारिक विषयहरू वा लेख, रचनाभन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेकोमा यसले समाजमा दीर्घकालीन योगदान गर्न नसक्ने उनले बताए।

‘सामाजिक सञ्जालमा आएका विषयले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र त्यसरी समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =