माओवादी सांसदहरूले गगन थापालाई भने : उत्तेजनामा होइन सोचेर बोल्नुस्

हिमाल प्रेस ३ वैशाख २०८० १८:०२
32
SHARES
माओवादी सांसदहरूले गगन थापालाई भने : उत्तेजनामा होइन सोचेर बोल्नुस्

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको भन्दै सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।  आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले कांग्रेस महामन्त्री थापाको पनि भएको बताएका हुन्।

थापाले सार्वजनिक मञ्चहरूबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल पौडेलको भनाइ छ। सरकारको आलोचना नगरी सहयोग गर्न उनको आग्रह छ।   गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बेलामा सरकारका कमी, कमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे।

‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ। सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो। आलोचना गरेर मात्रै सफल हुन्न। सहयोग गरेर पनि सफल हुन्छ। त्यसकारणले यो गठबन्धनलाई जोगाउने र गठबन्धनबाट जनताका डेलिभरीका कामहरू गर्नको निम्ति टेबलमा बसेर उठेका विषयहरू सुझाव दिएर सफल बनाउने होला नि सरकारलाई गठबन्धनले,’ उनले भने, ‘विरोध गरेर सरकार सफल हुन्न। सहयोग गरेर सफल हुन्छ। मेरो सुझाव के छ भने त्यसप्रकारका कमी कमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो।’

सचिव पौडेलले माओवादी आन्दोलनलाई पुनःजीवित गर्नुको विकल्प नभएको पनि बताए। उनले माओवादी घटकहरू छिटोभन्दा छिटो एकताबद्ध हुनुपर्ने दोहोर्‍याए।  ‘एकता आवश्यक छ। ढिलो भएको छ। साथीहरू किन ढिलो गर्नुभएको छ? सिनियर साथीहरू जसले माओवादी छोडेर केही गर्छौं भन्नुभएको थियो उहाँहरूले पनि गम्भिरतापूर्वक सोच्न जरुरी छ,’ उनले भने,’ माओवादीभित्रका हामीहरूले पनि छिटोभन्दा छिटो माओवादी आन्दोलनलाई पुनःजिवित गर्नको निम्ति अगाडि बढ्नुको विकल्प छैन। त्यसको निम्ति सबै माओवादी घटकहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु, अब ढिला नगरौँ। ढिला नगरौँ, ढिला गर्दा ढुङ्गा खाने स्थिति आउनसक्छ।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले पनि नेपाली कांग्रेसका महामन्त्री ‍ थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए। उनले महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न आग्रह गरे।

‘अहिले पनि सरकारमा जाने मामिलामा, बोल्दा त उहाँहरू आवश्यकता चाहीँ हो अहिलेको भन्ने कुरा नै बोल्नुहुन्छ। तर सरकारलाई नजिक बसेर सहयोग गर्ने भन्दा पनि आलोचना बढी गरिराख्नुभएको छ। यो राम्रो कुरा होइन सरकारमा रहेको पार्टीले र जिम्मेवार नेताले  सामान्य सांसदले बोल्ने कुरा एउटा कुरा हो उहाँ त महामन्त्री नि हो,’ उनले भने, ‘उहाँले बोल्नेकुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुपर्‍यो। उत्तेजनामा आएर जे मनलाग्यो त्यही बोलिहाल्ने भन्दापनि सोच विचार गरेर बोल्नुपर्छ।’

कांग्रेस महामन्त्री थापाले पछिल्लो समय प्रधानमन्त्री औपचारिक कार्यक्रममा रुमल्लिएको र प्रधानमन्त्रीको खास काम के हो भन्ने भुलेको बताउँदै आएका छन्।

 

प्रकाशित: ३ वैशाख २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =