प्रिमियर लिग : हारे चेल्सी र टोटनहम, न्युकासल भिल्लासँग निराश

हिमाल प्रेस २ वैशाख २०८० २२:३५
4
SHARES
प्रिमियर लिग : हारे चेल्सी र टोटनहम, न्युकासल भिल्लासँग निराश

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार दुई ठूला क्लब चेल्सी र टोटनहमले हार व्यहोेरेका छन्। घरेलु मैदानमा ब्राइटनविरुद्ध पहिलो हाफमा अग्रता लिए पनि चेल्सी अन्ततः २-१ ले पराजित भयो। आतिरक्त समयमा गोल खाएपछि टोटनहम बर्नमाउथसँग ३-२ ले स्तब्ध भयो। चेल्सी जस्तै टोटनहम पनि घरेलु मैदानमा पराजित भएको हो।

प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्लाले न्युकासल युनाइटेडलाई ३-० र फुलहमले एभरटनलाई ३-१ को अन्तरले पन्छाए। त्यसैगरी उल्भरह्याम्पटनले ब्रेन्टफोर्डमाथि २-० को जित हात पार्दा साउथह्याम्पटन क्रिस्टल प्यालेससँग २-० ले निराश बन्यो।

गत साता च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग २-० ले हारेको चेल्सीले ब्राइटनविरुद्ध कोनर गालागरको गोलमार्फत अग्रता लिएको थियो। गालागरले मिखाइलो मुड्रिकको सहयोगमा गोल गरेका थिए। तर ब्राइटन पहिलो हाफ नसकिँदै खेलमा फर्कियो। डानी वेलब्याकले ४२ औँ मिनेटमा बराबरी गोल गरे भने जुलियो इन्सिस्कोले ६९ औँ मिनेटमा निर्णायक गोल गरे।

प्रिमियर लिगमा चेल्सीका लागि यो लगातार दोस्रो हार हो। यसअघि चेल्सी उल्भरह्याम्पटनसँग पराजित भएको थियो। नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डको नेतृत्वमा एकै खेल जित्न नसकेको चेल्सी प्रिमियर लिगको ११ औँ स्थानमा छ। ३१ खेलबाट ३६ अंक बटुलेको चेल्सी चौथो स्थानभन्दा १७ अंकले पछि परिसकेको छ।

चेल्सीमा जस्तै प्रशिक्षक परिवर्तन गरिएको टोटनहमको पाँच खेलको अपराजित शृंखलामा पूर्णविराम लागेको छ। एन्टोनियो कोन्टेले छाडेपछि टोटनहममा क्रिस्टियन स्टेलिनी पूर्णकालिन रुपमा प्रशिक्षक बनेका छन्। उनको नेतृत्वमा टोटनहम पछिल्ला दुई लिग खेलमा हारेको थिएन। कोन्टेले छाडिनसक्दा टोटनहमले साउथह्याम्पटनसँग बराबरी खेलेको थियो भने र त्यसअघि नटिङहम फरेस्टलाई हराएको थियो।

टोटनहम हर्टस्पर रंगशालामा ह्युङ मिन सनले १४ औँ मिनेटमा घरेलु टिमका लागि गोलको खाता खोलेका थिए। तर ३८ औँ बर्नमाउथलाई खेलमा फर्काउन माटिएस भिनाले गोल गरे। दोस्रो हाफको ५१ औँ मिनेटमा डोमिनि सोलान्कीले गोल गरेपछि २-१ ले अघि बढेको बर्नमाउथले ८८ औँ मिनेटमा बराबरी गोल खायो। तर थपिएको समयसमेत सकिन लाग्दा डांगो उटाराले गोल गरेपछि बर्नमाउथ विजयी भयो।

यो नतिजापछि टोटनहमले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गर्ने मौका गुमायो। पाँचौँ स्थानमा रहेको टोटनहमको ३१ खेलबाट ५३ अंक छ भने दुई खेल कम खेलेको युनाइटेडसँग ५६ अंक छ।

उता एस्टन भिल्लासँग हारेपछि न्युकासलले युनाइटेडसँगको दूरी बढाउने अवसर खेर फाल्यो। तेस्रो स्थानको न्युकासलसँग ३० खेलबाट ५६ अंक छ।

न्युकासललाई हराउन भिल्लाका ओली वाट्किन्सले दुई तथा ज्याक राम्सीले एक गोल गरे। पहिलो हाफको ११ औँ मिनेटमा राम्सीले भिल्लाको पहिलो गोल गरेका थिए। त्यसपछि वाट्किन्सले दोस्रो हाफको ६४ र ८३ औँ मिनेटमा गोल थपे। इंग्ल्यान्डका वाट्किन्सले यो सिजन १४ गोल गरिसकेका छन्। सन् २०२३ मा मात्र उनले गरेको गोल संख्या ११ छ। यो वर्ष उनले जति अर्को खेलाडीले प्रिमियर लिगमा गोल गरेका छैनन्।

जितपछि भिल्ला छैटौँ स्थानमा उक्लिएको छ। उनाई एम्रीको आगमनसँगै मजबुत प्रदर्शन गरिरहेको भिल्लाले ३१ खेलबाट ५० अंक बटुलेको छ। जुन सातौँ र आठौँ स्थानका ब्राइटन तथा लिभरपुलको भन्दा क्रमशः एक र ६ अंक बढी हो।

लगातार तेस्रो हारपछि साउथह्याम्पटन भने रेलिगेसनको अझ नजिक पुगेको छ। साउथह्याम्पटनसँग ३१ खेलबाट जम्मा २३ अंक छ। २० औँ स्थानको साउथह्याम्पटनलाई पराजित गर्ने प्यालेस भने १२ औँ स्थानमा उक्लियो। रोय हड्सनको प्रशिक्षणमा लगातार तीन खेल जितेको प्यालेससँग ३६ अंक छ।

प्रकाशित: २ वैशाख २०८० २२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =