सेती खोँचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८० २०:२२
सेती खोँचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु

पोखरा– १५ वर्षअघि सेती खोँचमा भएको घटनाको झल्को दिने गरी शनिबार यस्तै घटना दोहोरिएको। १२ वर्षकी एक बालिका सेती खोचमा परिन्। प्रहरीले उनको उद्धार त गर्‍यो तर बचाउन सकिएन।

शनिबार दिउँसो २:५० बजे खेल्ने क्रममा पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली खोँचमा खसेकी हुन्। घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा उनी सेती नदीनजिकै जमिन चिरा (प्वाल) परेको ठाउँबाट खसेकी हुन्।

घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमान्डमा रेस्क्यु टोली घटनास्थल पुगेको थियो। १७ जना प्रहरीसहितको टोलीलाई उद्धारमा कठिनाइ भएपछि वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक माधव केसीको कमान्डमा तथा सशस्त्र प्रहरी कालिका गणबाट सहायक प्रहरी निरीक्षक उमेश ढकालको कमान्डमा थप उद्धार टोली खटियो।

करिब ३ बजे खोँचमा खसेकी पराजुलीलाई साँझ ५ बजे उद्धार गरिएको थियो। उनको उपचार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। साथीहरू मिलेर खेल्ने क्रममा उनीहरू त्यहाँ पुगेको प्रहरी निरीक्षक कुँवरले बताए।

०६५ असार ११ मा पनि सेती खोचमा आराधना प्रधान खस्न पुगेकी थिइन्। उनी त्यसबेला मात्र साढे २ वर्षकी मात्र थिइन्। खोँचमा खसेको २३ घण्टापछि मात्र १२ वर्षका कमल नेपालीले सकुशल उद्धार गरी चर्चा कमाएका थिए।

कमल २६ वर्षका भए पनि आराधना किशोरी छन्। सेती नदी किनारमा धेरै ठाउँमा धाँजा फाटेको छ। जसका कारण बर्सेनि मानिसले अकालमा ज्यान गुमाउने गर्दछन्। यसको न्यूनीकरणका लागि तारबारलगायत सुरक्षा सावधानी आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।

प्रकाशित: २ वैशाख २०८० २०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =