जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

हिमाल प्रेस २ वैशाख २०८० १९:०८
2
SHARE
जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

टोकियो- जापानी प्रधानमन्त्री फुमियो किसिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ। वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य दिनेक्रममा प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीलाई कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षितरूपमा कार्यक्रमस्थलबाट सकुशल निकालिएको छ। प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य दिन मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो। आक्रमणको आशंकामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ। यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन।

एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्षित गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा विष्फोट भएको थियो। विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेले प्रसारण गरेको छ।

प्रधानमन्त्री किसिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोसी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई अक्षम्य अपराध भनेका छन्।

जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन्। तर गत वर्ष चुनावी अभियानका क्रममा गोली प्रहारबाट पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ। रासस/सिन्ह्वा

प्रकाशित: २ वैशाख २०८० १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =