खेती किसानी

सजिलो छैन मकैमा आत्मनिर्भर बन्न

रमेश भारती २६ वैशाख २०८१ ८:२७
22
SHARES
सजिलो छैन मकैमा आत्मनिर्भर बन्न दाङको राप्ती गाउँपालिकाको पिपरीमा गरिएको व्यावसायिक मकै खेती। देउखुरीमा वर्षमा तीन बाली मकै खेती गरिन्छ। तस्बिर : रासस

काठमाडौँ- देशका प्रायः सबै भूभागमा उत्पादन हुने खाद्यान्न बाली मकैमा आत्मनिर्भर बन्न अझै केही वर्ष कुर्नुपर्ने भएको छ। सात वर्षयता मकै उत्पादन बढे पनि आयात घटेको छैन। हाल उत्पादित मकैले पाँच महिना मात्रै धान्ने गरेको छ।

सरकारी अधिकारीहरु भने केही वर्षमा देश मकैमा आत्मनिर्भर हुने दाबी गर्छन्। प्रदेश र स्थानीय सरकारले मकै उत्पादन पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाउन प्राथमिकता दिइरहेकाले चाँडै आत्मनिर्भर हुन सकिने कृषि विभागका प्रवक्ता डा. अरुण काफ्लेले बताए।

केन्द्र सरकारले पनि मकै उत्पादन बढाउन नयाँनयाँ योजना अघि सारेको छ। काफ्लेका अनुसार सन् २०३० सम्ममा मकैमा अत्मानिर्भर हुने सरकारी लक्ष्य छ। ग्रामीण क्षेत्रका जग्गा बाँझो रहने क्रम नरोकिएकाले सरकारी लक्ष्य पूरा हुन सजिलो नरहेको जानकारहरु बताउँछन्।

मकै नेपालको दोस्रो खाद्यान्न बाली हो। हिमाली र पहाडी क्षेत्रमा मकैखेती निर्वाहमुखी रुपमा गरिन्छ भने तराईमा व्यावसायिक खेती हुन्छ। स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरेर मकैखेतीलाई प्राथमिकता दिन थालेपछि केही वर्षयता मकै उत्पादन बढ्दो छ।

आर्थिक वर्ष २०७५/०७६ मा ९ लाख ६० हजार हेक्टर क्षेत्रफलमा २८ लाख ५० हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ५७ हजार हेक्टर क्षेत्रफलबाट २८ लाख ६० हजार मेट्रिक टन मकै उत्पादन भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख ७९ हजार हेक्टर क्षेत्रफलमा २९ लाख ९९ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७८/२०७९ मा ९ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा ३१ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको छ। आर्थिक वर्ष २०७९/२०८० मा ९ लाख ९० हजार हेक्टर क्षेत्रफलमा ३२ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ।

कृषि मन्त्रालयको वार्षिक प्रतिवेदनअनुसार नेपालमा वार्षिक ९ लाख हेक्टर क्षेत्रफलमा साढे २९ लाख मेट्रिक टन मकै उत्पादन हुन्छ। खपत ३६ लाख मेट्रिक टनभन्दा बढी छ।

नेपाली बजारमा मकैका विभिन्न परिकारको माग बढेपछि स्वदेशी उत्पादनले नपुग्ने अवस्था आएको कृषि विभागका प्रवक्ता काफ्ले बताउँछन्।
अहिलेको माग धान्न करिब सात लाख मेट्रिक टन मकै अपुग रहेको उनले बताए। ‘मकैका परिकार खाने नेपालीको संख्या बढेको छ। स्टार होटलमा समेत मकैका परिकार बनाइन्छ। जसका कारण पनि मकैको माग बढेको हो’, काफ्लेले भने।

‘नेपालको उत्पादनले पाँच महिना मात्र धान्छ’

कृषि मन्त्रालयको नगदेबाली उत्पादनसम्बन्धी अध्ययनअनुसार सात महिनाका लागि बाहिरबाट मकै आयात हुँदै आएको छ। पशुपालनको क्षेत्र बढ्दै जाँदा दाना खुवाउनका लागि मकैको माग बढ्दो छ।

कुखुरा पालन व्यवसायका कारण पनि मकैको माग बढेको उनले बताइन्। ‘दानाको अधिकांश हिस्सा मकै र पिना बाहिरबाट आयात भइरहेको छ। नेपालमा उत्पादन भएको मकैले पाँच महिना मात्र धान्छ’, उनले भनिन्, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमबाट पनि मकैको विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। मकै उत्पादन बढाउन मकै पकेट क्षेत्रसमेत घोषणा गरिएको छ।’

बाली विकास तथा जैविक विविधता केन्द्रबाट स्थानीय तहका मकै उत्पादन बढाउने कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।

गत आर्थिक वर्षमा भारतबाट ४ लाख ३५ हजार मेट्रिक टन मकै आयात भएको भन्सार विभागको तथ्यांकमा छ। चालु आर्थिक वर्षको नौ महिनामा २ लाख ५० हजार मेट्रिक टन मकै आयात भएको छ। नेपालमा करिब चार लाख मेट्रिक टनभन्दा बढी हरियो मकैको घोगा भारतबाट आयात हुने गरेको छ।

मकै छर्ने बेलामा खडेरी पर्दा समयमै बाली लगान नपाउनु, मल आपूर्तिमा समस्या रहनुजस्ता कारणले मकै उत्पादन घट्ने गरेको जानकारहरु बताउँछन्। खेडेरीका कारण बर्सेनि २ देखि ३ लाख मेट्रिक टन मकै उत्पादनमा ह्रास आउने गरेको विभागको अनुमान छ।

कृषि विभागका अनुसार नेपालमा रामपुर कम्पोजिट, अरुण, रामपुर, खुमल पहेलो, मनकामना, देउती, शीतला, गणेश र अन्य ३६ प्रकार मकै उत्पादन हुने गरेको छ। तराईमा १७.७९ प्रतिशत, उच्च पहाडमा ११.३२ प्रतिशत र मध्य पहाडमा ७०.८९ प्रतिशत भूभागमा मकैखेती हुने गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।

पहाडी क्षेत्रमा वर्षायाममा असिञ्चित बालीका रुपमा मकैखेती गरिन्छ भने तराई, भित्री मधेश, उपत्यका तथा चुरेभावर क्षेत्रहरुमा हिउँदे तथा वसन्त ऋतुमा सिञ्चित बालीका रुपमा लगाइन्छ।

उपयोग र अन्य महत्त्वका दृष्टिकोणले मकै बाली पहाडी क्षेत्रमा खाद्यान्नको निमित्त र तराईमा खाद्यान्नको अतिरिक्त पशुआहार उत्पादन गर्ने उद्योगहरुलाई मुख्य कच्चा पदार्थ उपलब्ध गराउने प्रमुख औद्योगिक बालीका रुपमा रहेको छ।

मकै खाँदाका फाइदा

मकैका परिकार तौल घटाउन सहयोगी हुनुका साथै विभिन्न प्रकारका बिरामीका लागि पनि लाभदायक हुने कृषि विज्ञहरु बताउँछन्। नियमित मकै खाने मानिसमा रोगप्रतिरोधात्मक क्षमता गरेको कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले बताए।

उनले भने, ‘मकैमा फाइबरको मात्रा प्रशस्त हुन्छ, जसले पाचन प्रणालीलाई सन्तुलित राख्छ। मकैका परिकार नियमित खाएमा एसीडीटी र कब्जियतको समस्या हटेर जान्छ र कोलेस्ट्रोल घटाई मुटुरोगको सम्भावनासमेत टार्छ।’

उनका अनुसार मकैमा हुने एन्टिअक्सिडेन्टले छाला तथा तन्तुलाई स्वस्थ राख्छ। हड्डीमा समस्या हुनेले पोलेको मकै खानु उपयोगी मानिन्छ, पोलेको मकैमा कपर, म्याग्नेसियम, आइरन र फस्फोरस हुन्छ जसले हड्डीलाई फाइदा पुग्ने गरेको भण्डारी बताउँछन्।

भुटेको वा पोलेको मकै खाँदा यसले शक्ति अभिवृद्धि गरी कार्बोहाइड्रेटको मात्रा बढाउँछ। मकैका परिकार खानेहरुमा पेटको समस्या कम हुने गरेको उनको भनाइ छ।

पर्याप्त मात्रामा फोलिक एसिड पाइने मकै गर्भवती महिलाका लागि फाइदाजनक हुने र यसले गर्भवती महिलाको स्वास्थ्यमा समेत फाइदा पुग्ने डा. भण्डारी बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 11 =