सर्‍यो रास्वपाको केन्द्रीय बैठक

हिमाल प्रेस २९ चैत २०७९ ८:४४
8
SHARES
सर्‍यो रास्वपाको केन्द्रीय बैठक फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक केही समय पछिका लागि सारेको छ। बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको महामन्त्री डा मुकुल ढकालले बताए।

‘केन्द्रीय सदस्यहरू उपत्यका बाहिर पनि रहेकोले केही समय बैठक सारिएको हो, अरू कुनै कारण छैन,’ उनले भने।

रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौँ आइपुग्न समय लाग्ने भएको हो।

केन्द्रीय समितिको बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महामन्त्री ढकालले बताए।

पार्टीबाट समानुपातिकतर्फ सांसद रहेका ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीच कुराकानीको अडिओ सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरेको थियो।

श्रेष्ठलाई सांसद र पार्टीका जिम्मेवारीबाट निलम्बन गरेर रास्वपाले छानबिन गरिरहेको छ।

श्रेष्ठसँग रास्वपाको अनुशासन समितिले अडिओ प्रकरणबारे मंगलबार बयानसमेत लिइसकेको छ।

मेडिकल व्यवसायी प्रसाईसँग २ करोड रुपैयाँ मागेको अडिओ आफ्नो नभएको दाबी बयानका क्रममा श्रेष्ठले गरेका छन्। उनले अडिओ एडिट गरिएको दाबीसमेत गरेका थिए।

प्रकाशित: २९ चैत २०७९ ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =