साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन छैन : जनमोर्चा

हिमाल प्रेस २७ चैत २०७९ ६:४७
4
SHARES
साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन छैन : जनमोर्चा

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन नरहेको स्पष्ट पारेको छ।

सरकारको न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि हस्ताक्षर भएकाले केही भ्रम सिर्जना भएको पार्टीले स्पष्टीकरण दिएको हो।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त न्यूनतम कार्यक्रम जारी गर्ने बेलामा प्रधानमन्त्री प्रचण्डले हाम्रो पार्टीको अध्यक्ष  चित्रबहादुर केसीसित सम्पर्क गरेर त्यसबारे उहाँको राय जान्न खोज्नुभएको थियो। त्यसको जवाफमा अध्यक्ष केसीले त्यो कार्यक्रममा केही कुराहरू सही छन् मात्र भन्नुभएको थियो।’

विज्ञप्तिमा भनिएको छ,‘तर त्यो कार्यक्रमलाई पूरै समर्थन गर्नुभएको थिएन । केसीजीको त्यो जवाफ पाएपछि प्रचण्डले त्यो कार्यक्रमप्रति उहाँको समर्थन भएको भन्ने सोचेर उहाँको समेत हस्ताक्षरलाई सामेल गरेर त्यो न्यूनतम कार्यक्रमलाई जारी गरियो। त्यसरी त्यो न्यूनतम कार्यक्रम जारी गर्ने सन्दर्भमा केही भ्रम हुन गएको देखिन्छ।’

पार्टीले संघीयताको विरोधको नीतिमा र अडानमा कहिल्यै र कुनै प्रकारले पनि विचलन नआएको बताएको छ । केसी त्यो अडानबाट पछाडि हटेको आरोप पूरै नै निराधार भएको पार्टीले जनाएको छ ।

त्यस्तै संसद्मा पेस भएको र संसद्‍द्वारा पारित नागरिकता विधेयकप्रति हाम्रो पार्टीले संसद्भित्र र बाहिर लगातार आफ्नो विरोध जनाउँदै आएको छ।

नेपालको नागरिकता नीतिलाई खोक्लो बनाएर विदेशीहरूलाई नेपालको नागरिक बन्न उदारवादी नीति अपनाउने जस्ता सोचाइहरूको पार्टीले अहिले पनि विरोध गर्ने पनि स्पष्ट पारेको छ।

प्रकाशित: २७ चैत २०७९ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =