उपनिर्वाचनपछि सातै प्रदेश सरकार पुनर्गठन हुन्छन् : कांग्रेस नेता खाण

हिमाल प्रेस २६ चैत २०७९ ११:५६
6
SHARES
उपनिर्वाचनपछि सातै प्रदेश सरकार पुनर्गठन हुन्छन् : कांग्रेस नेता खाण

जनकपुरधाम- नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले सातै प्रदेशको सरकार पुनर्गठन हुने बताएका छन्। जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलमा बोल्दै नेता खाणले कांग्रेस संघीय सरकारमा सहभागी भएकाले प्रदेश सरकार समेत पुनर्गठन हुने बताएका हुन्।

गठबन्धनमा आबद्ध दलहरूबीच प्रदेश सरकारहरूको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताए। वैशाख १० गतेका उपनिर्वाचनलगत्तै सातवटै प्रदेश सरकार पुनर्गठन हुने उनको भनाइ छ।

यस्तै उनले नागरिकता विधेयक अविलम्ब पारित गराउन पहल गर्न सरकारसँग आग्रह गरेका छन्। देशमा अनागरिक भएर बस्नुको पीडा लाखौँ नेपालीले भोगिरहेकाले सो विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न उनले सरकारसँग आग्रह गरेका हुन्।

संविधानले प्रत्येक नेपालीलाई नेपालको नागरिकता प्राप्त गर्न पाउने अधिकार दिएकाले सो अधिकारबाट वञ्चित गर्ने अधिकार कसैसँग नरहेको बताए। ‘दुवै सदनबाट दुईपटक पारित गराएर नागरिकता विधेयक अहिले राष्ट्रपति कार्यालयमा अडकिएको छ,’ उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार एकपटक विधेयकलाई राष्ट्रपतिले फर्काउन सक्ने व्यवस्था छ तर दोस्रो पटक प्रमाणीकरण बाहेक अर्को कुनै विकल्प हुँदैन।’

नेता खाणले राष्ट्रपति कार्यालयमा प्रमाणीकरण नभई अड्किएर रहेको नागरिकता विधेयक प्रमाणीकरणका लागि वर्तमान सरकारले पहल गर्नुपर्ने र यसका लागि आफूहरूले अग्रसरता देखाउने विश्वास दिलाए।

प्रकाशित: २६ चैत २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =