एमालेमाथि तरबार चलाइँदा महिलाले ढाल बनेर छेकेका छन् : ओली

हिमाल प्रेस २५ चैत २०७९ १६:२०
14
SHARES
एमालेमाथि तरबार चलाइँदा महिलाले ढाल बनेर छेकेका छन् : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा भएका राजनीतिक आन्दोलनमा महिलाहरूको उल्लेखनीय योगदान रहेको बताएका छन्।

पार्टीनिकट महिला संगठन अनेमसंघको शनिबारदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागे पनि एमालेका महिला कार्यकर्ताहरूले त्यस्ता चुनौतीविरुद्ध लडेर पार्टीलाई सशक्त बनाउन योगदान गरेको उनको भनाइ छ।

पार्टीमा आवद्ध महिलाहरूको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिका रूपमा रहन सफल भएको उनले जनाए।

‘मैले धेरै ठाउँ भन्ने गरेको छु- आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर छेकेका छन्,’ उनले भने, ‘पार्टीलाई आजको दिनसम्म यसरी सुरक्षितसाथ जोगाएर एउटा देशका प्रमुख पार्टीको हैसियतमा उभ्याउन शरिरभरि घाउ, निलडाम सहेर महिलाहरूले त्याग गरेका छन्।’

अन्य पार्टीका महिला संगठनभन्दा अनमेसंघ बलियो र व्यापक रहेको ओलीले दाबी गरे।

‘अखिल नेपाल महिला संघमा रहनु भएका महिला दिदीबहिनीहरूको योगदान यथार्थमा भन्ने हो भने अरूभन्दा व्यापक छ, यसैले हाम्रो यो संगठन अरूभन्दा अग्लो र बलियो छ। यो योगदानका लागि म महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। यसमा महिलाहरूको निष्ठाले काम गरेको छ,’ उनले भने।

संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि ओलीले बताए।

एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट निर्माणको काम नगर्न महिला नेतृहरूलाई सचेत गराए। पार्टीभित्र योग्यता, क्षमता भएकाहरूलाई उचित जिम्मेवारी दिइने बताउँदै उनले अनेमसंघले समृद्ध नेपाल, सुखी नेपालीको महान् लक्ष्य पूरा गर्न योगदान गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २५ चैत २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =