स्वर्णिमलाई कटाक्ष गर्दै शेखरले भने, अवसरवादीबाट जोगिनुहोस्

हिमाल प्रेस २४ चैत २०७९ १४:५८
44
SHARES
स्वर्णिमलाई कटाक्ष गर्दै शेखरले भने, अवसरवादीबाट जोगिनुहोस् फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्। काठमाडौँमा शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै यस्तो बताएका हुन्।

उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिस सावधान हुनुपर्ने बताए। कांग्रेसमा रहेका वाग्ले  राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्।

कोइरालाले भने, ‘सावधान है! एउटा कुरा, अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ। तपाईंहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो।’

उनले संविधानमा श्रम आयोगसम्बन्धी प्रावधान राख्नका लागि संघर्ष गरिरहने बताए। उनले भने, ‘कांग्रेस विधानमा श्रमीकहरुलाई केन्द्रीय समितिमा ल्याउने र सँगै संसद्‌मा श्रमिकहरुको पनि हामीले व्यवस्था गर्ने हो।’

यति गर्नसके न्याय गरेको ठहरिने उनको भनाइ छ। उनले भने, ‘म कोसिस गर्दैछु, मेहनत गर्दैछु। तर आफू ठाउँमा भइसकेपछि मात्रै धेरै कुरा गर्न सकिँदो रहेछ। समय आउँदैछ, त्यो समयलाई तपाईंहरूले पनि पर्खिनुहुनेछ, समय आएर म पुगेपछि गरिनँ भने तपाईंहरूले औँला ठड्याउन सक्नुहुनेछ।’

देशको अर्थतन्त्र धराशयी भइरहेका विषयमा मिडियामा आइरहेका विभिन्न खाले समाचारले स्पष्ट पारेको उनले बताए। कोइरालाले भने, ‘त्यस्ता समाचारले देशको अर्थतन्त्र धराशयी बन्ने अवस्थामा पुगेको देखिएको छ। भोलि के हुन्छ हामीलाई हामी थाहा छैन। हामी भन्नसक्ने अवस्थामा छैनौँ।’

कोइरालाले आर्थिक रूपमा नेपाललाई पाकिस्तान र श्रीलंका हुन नदिने पनि प्रतिबद्धता जनाए। उनले भने, ‘हामीसँग १० महिनाका लागि आवश्यक सञ्चिति रकम छ। हामीले अन्य कुरा व्यवस्थित गर्न सकेका छैनौँ। राजस्व उठ्दैन, ऋण लिएर कर्मचारीलाई तलब खुवाइरहेका छौँ।’

नेता कोइरालाले नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय महाधिवेशन सफल रूपमा सम्पन्न गर्न शुभकामना दिएका छन्।

प्रकाशित: २४ चैत २०७९ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =