मावलीको नाममा जन्मदर्ता संविधानविपरीत : विद्या भट्टराई

हिमाल प्रेस २४ चैत २०७९ १४:१६
28
SHARES
मावलीको नाममा जन्मदर्ता संविधानविपरीत : विद्या भट्टराई

काठमाडौँ–  नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारले संविधान र कानुनविपरीत मावलीको थर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै आपत्ति जनाएकी छन्।

प्रतिनिधिसभा बैठकको शुक्रबार शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्व अस्वीकार गर्ने गरी सबै वडामा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधानसम्मत ढंगले अर्को परिपत्र गर्न पनि सरकारलाई सचेत गराएकी हुन्।

भट्टराईले भनिन्, ‘नेपाल सरकारले एकल महिलाबाट जन्मेको पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता सम्बन्धमा सबै वडामा परिपत्र गरेको छ। संवैधानिक र कानुन व्यवस्थाको ख्याल नगरी जारी परिपत्रमा मावलीको थर राख्ने भन्ने लेखिएको छ। परिपत्रले संविधान र कानुनले साबित गरेको आमाका पहिचान र अस्तित्व अस्वीकार गरेको छ।’

उनले संविधान र देवानी संहिताअनुसार पुनः परिपत्र गर्न सरकारको ध्यानाकर्षण गराउन माग गरिन्। सांसद भट्टराईले संविधानले पितृत्वको ठेगान नभएका बच्चाहरुको जन्मदर्ता उनीहरुको आमाको नामबाटै गर्ने व्यवस्था गरेकाले त्यसैअनुसारको आवश्यक व्यवस्था सरकारले मिलाउनुपर्नेजो दिइन्।

प्रकाशित: २४ चैत २०७९ १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =