पतिको विरासतबाट कुनै लाभ लिएको छैन : विद्या भट्टराई

हिमाल प्रेस २१ मंसिर २०७९ १२:५१
8
SHARES
पतिको विरासतबाट कुनै लाभ लिएको छैन : विद्या भट्टराई

पोखरा- कास्की क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले नेता विद्या भट्टराईले आफ्नो छुट्टै परिचय रहेको बताएकी छन्। पोखरामा बुधबार एक कार्यक्रममा उनले पति स्व। रवीन्द्र अधिकारीको विरासतमा चुनाव जितेको भन्ने कुराको खण्डन गर्दै आफ्नो छुट्टै परिचय पहिलो भएको बताएकी हुन्।

‘मेरो सहधर्मी र मेरो जीवनसाथीसँगको मेरो पहिचान दोस्रो हो, तर मेरो पहिचान भनेको मेरो व्यवहार, जनताले गरेको विश्वासलाई पहिलो आधार मानेकी छु,’ उनले भनिन्। ‘सामाजिक प्रक्रिया दुई हिसाबले निर्माण हुन्छ। एउटा घटनाले र अर्को विभिन्न आन्दोलन र अभ्यासले निर्माण गर्छ।’

उनले आफ्नो पतिको विरासतबाट कुनै लाभ नलिएको पनि बताइन्। ‘म पनि एउटा घटनाले संसद्‍मा आएको हो । तर राजनीतिमा म घटनाले आएको हैन। राजनीति गर्दागर्दै पेसाकर्मी भए हुँला, अनुसन्धानकर्ता भए हुँला । उहाँ (स्व. रवीन्द्र) को विरासतबाट कुनै लाभ लिएकी छैन,’ उनले भने।

संघीय संसद्मा दोस्रो यात्रामा उनले विगतमा झैं कानुन निर्माणमा पहिलो प्राथमिकता रहने बताइन्। उनले आफूले सधैं महिला मुद्दाको विषयलाई बढी ध्यान दिएको दाबी गर्दै उनले कास्की २ का मतदाताको हितमा काम गर्ने प्रतिबद्धता जनाइन्। लगातार ३ पटकसम्म चुनाव जितेका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधनपछि कास्की २ मा २०७५ सालको उपनिर्वाचनमा भट्टराई निर्वाचित भएकी हुन्। गत ४ मंसिरको चुनावमा उनी १६ हजार ९ सय ९८ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भएकी हुन्।

प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ कास्कीमा ९ सिटमध्ये एमालेले ७ सिट जितेको छ। एमाले कास्की २ (२) र कास्की ३ (२) कांग्रेसलाई सुम्पिन पुगेको हो। कास्की २ (१) बाट निर्वाचित एमालेका भीमबहादुर कार्कीले जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए।

एमाले निर्वाचन परिचालन कमिटी कास्की क्षेत्र नम्बर २ संयोजक तेजनारायण अधिकारीले कास्की २ (१) मा १३ लाख १५ हजार र २ (२) मा ११ लाख २३ हजार मात्र चुनावी खर्च भएको सार्वजनिक गरे। निर्वाचन आयोगले दिएको उम्मेदवारका प्रतिनिधि तथा उम्मेदवार स्वयंको खाताबाट रकम खर्च भएको उनको भनाइ छ।

प्रकाशित: २१ मंसिर २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =