एमालेमा परिवारवाद : विद्या भण्डारीदेखि सुहाङ नेम्वाङसम्म

हिमाल प्रेस १३ चैत २०८० १८:५६
126
SHARES
एमालेमा परिवारवाद : विद्या भण्डारीदेखि सुहाङ नेम्वाङसम्म विद्यादेवी भण्डारी, तीर्था गौतम, विद्या भट्टराई र सुहाङ नेम्वाङ।

काठमाडौँ- राजनीतिमा परिवारबाट उत्तराधिकारी चयन गर्ने दलमध्ये नेकपा एमाले अगाडि छ। योग्य, अनुभवी, क्षमतावान् कार्यकर्तालाई किनारा लगाएर परिवारवादलाई संरक्षण गरेको आरोप एमाले नेतृत्वले भोगेको धेरै अगाडिदेखि हो। इलाम-२ मा हुने उपनिर्वाचनमा पनि एमालेले वर्षौँसम्म पार्टीमा पसिना बगाएका नेतालाई पाखा लगाएर सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि फेरि एमाले नेतृत्वको आलोचना हुन थालेको छ।

सुहाङ एमाले संसदीय दलका दिवंगत उपनेता सुवास नेम्वाङका छोरा हुन्। पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका सांसद नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। पार्टीमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताको अवमूल्यन गरेर सुवास नेम्वाङको छोरालाई मैदानमा उतारेपछि इलाम एमालेमा असन्तुष्टि बढेको छ। ३२ वर्षीय सुहाङलाई पार्टीले टपक्कै टिपेर  प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको छ।

परिवारबाटै राजनीतिक उत्तराधिकारी चयन गर्ने एमालेको प्रवृत्ति नयाँचाहिँ होइन। पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको निधन भएपछि उपनिर्वाचनमा टिकट पाएकी विद्या भण्डारी त्यसको पहिलो उदाहरण हुन्।

२०४८ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव जितेका महासचिव भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा सडक दुर्घटनामा परी निधन भएको थियो।
भण्डारीको निधनका कारण प्रतिनिधिसभामा रिक्त उपनिर्वाचनमा एमालेले उनकी पत्नी विद्यालाई मैदानमा उतार्‍यो। विधवालाई प्रतिस्पर्धामा उतारेर सहानुभूतिको मत बटुल्न खोजेको आरोप एमाले नेतृत्वमा लागेको थियो। विद्याले त्यति बेला सेतो पहिरनमा मतदातामाझ पुगेर भोट मागेकी थिइन्।

भण्डारीले उपचुनावमा नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरिन्। त्यसपछि सक्रिय राजनीतिमा उदाएकी भण्डारीले पार्टीका विभिन्न जिम्मेवारी, पटकपटक मन्त्री हुँदै संघीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्ने अवसर पाइन्।

पतिको निधन भएपछि उम्मेदवार बनाइएकी अर्की नेत्री हुन् तीर्था गौतम। उनका पति यदु गौतम एमाले रुकुमका तत्कालीन सचिव थिए। २०५६ सालको आमनिर्वाचनमा रुकुम-२ मा एमालेबाट उम्मेदवार रहेका गौतमको चुनाव नहुँदै विद्रोही माओवादी कार्यकर्ताले हत्या गरेका थिए। आफूविरुद्ध सुराकी गरेको माओवादीको आरोप थियो। २०५५ साल फागुन २१ गते गौतमको हत्या भएको थियो।

लगत्तै २०५६ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले अघि सार्‍यो यदु गौतमकी पत्नी तीर्थालाई। उक्त निर्वाचनमा निर्वाचित भएकी तीर्था त्यसपछि राजनीतिमा सक्रिय भइन्। तीर्था हाल एमाले केन्द्रीय सदस्य छिन्। एमालेको पछिल्लो महाधिवेशनमा उनी कर्णाली प्रदेशबाट महिला सदस्य चयन भएकी हुन्।

एमालेले नेता परिवारबाट अघि सारेको अर्की उम्मेदवार हुन् विद्या भट्टराई। २०७४ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनका पति रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। कास्की-२ बाट निर्वाचित अधिकारी पर्यटनमन्त्री थिए। उक्त क्षेत्रमा २०७६ मा भएको उपनिर्वाचनमा एमालेले रवीन्द्र पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो। प्राध्यापन पेसाबाट संसदीय चुनाव लड्न पुगेकी उनलाई कास्की-२ का जनताले संसद्‌मा पुर्‍याइदिए।

विद्या २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी छन्। अहिले उनी प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य छिन्।

दासढुंगा दुर्घटनामै निधन भएका एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई पनि एमालेले पार्टी राजनीतिमा अवसर दिएको थियो। उनी २०५४ सालमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा पराजित भएकी थिइन्। २०६४ सालमा पनि समानुपातिक उम्मेदवार भएकी उनलाई सांसद बन्नचाहिँ २०७४ सालको चुनाव पर्खनुपरेको थियो। उनी २०७४ सालको चुनावमा समानुपातिक सांसद बनेकी थिइन्।

संसदीय राजनीतिमा उदाउनुअघि विद्या भण्डारी, माया ज्ञवाली, तीर्था गौतम र विद्या भट्टराई पार्टी गतिविधिमा पनि सक्रिय थिए। यद्यपि उनीहरूको भूमिका ओझेलमा थियो। यी महिला नेत्रीहरूको पहिचानचाहिँ संसदीय राजनीतिमा आएपछि मात्रै भएको हो।

विद्या भण्डारी २०४६ सालअगाडि तत्कालीन मालेमा सक्रिय थिइन्। नेतृत्वले दिएको अवसर सदुपयोग गरेर उनी राजनीतिमा स्थापित भएकी हुन्। विद्या भट्टराई पनि आफैँमा योग्य पात्र मानिन्छन्। विद्यार्थी राजनीतिदेखि सक्रिय उनलाई रवीन्द्रको निधनपछि पार्टीले अघि सारेको थियो। उनले पनि संसद्‌‌मा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको एमाले नेताहरू बताउँछन्।

यति हुँदाहुँदै पनि उनीहरूलाई सक्रिय कार्यकर्ताका रूपमा भन्दा नेताको विधवाका रूपमा अघि सारेर संवेदना बटुलेको आरोप एमाले नेतृत्वमाथि लाग्दै आएको छ।

एमालेले आगामी उपनिर्वाचनका लागि चयन गरेको सुहाङलाई भने त्यति सहज छैन। एक  त सुहाङले अन्य महिला उम्मेदवारलाई जसरी सहानुभूतिको मत पाउने छैनन्।   ३२ वर्षीय सुवाङसँग केही वर्ष वकालत गरेको बाहेक अन्य अनुभव नभएकाले संगठन परिचालनमा शून्यजस्तै रहेको एमाले इलामका नेताहरू बताउँछन्।

इलाममा एमाले राजनीतिमा योगदान दिएका धेरैले अवसर पाएका छैनन्। क्षमतावान् कैयौँ कार्यकर्ताहरू नेम्वाङको छायामा पर्दै आएका थिए। फेरि पनि उनकै परिवारलाई अवसर दिएका कारण इलाम-२ का एमाले कार्यकर्ता त्यति सन्तुष्ट छैनन्। इलामका पुराना एमाले कार्यकर्ता भन्न थालेका छन्, ‘मैनबत्तीले बलेर उज्यालो छर्ने हो। हिजो पिता नेम्वाङका लागि बल्नुपरेको थियो अब पुत्र नेम्वाङका नाममा बल्नुपर्ने भयो। मैनबत्तीको विशेषता नै आफू जलेर अरूलाई उज्यालो दिनु त हो।’

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल भने इलाम-२ सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने विषयमा कुनै विवाद नरहेको बताउँछन्। उनी भन्छन्, ‘नाम आएका नेताहरूसँग कुरा गरेर तयार पारिएको हो। कसैको भाग खोसिएको होइन। नेम्वाङप्रति श्रद्धाञ्जलि र सम्मान हो भने सुहाङलाई अवसर हो।’ अन्य महिला नेत्रीजसरी सुहाङले पनि स्थापित हुन पहल गर्नुपर्ने उनी बताउँछन्।

यसअघि पनि विभिन्न परिस्थितिमा परिवारका सदस्यलाई निर्वाचनमा अघि सारिएको प्रसंगमा रिजालले ती सबै योग्य भएका कारण पार्टीले अवसर दिएको स्पष्ट पारे। पतिको निधनपछि पत्नीलाई किन अघि सारिँदै आएको त भन्ने जिज्ञासामा उनले भने, ‘दुवैजना त पूर्णकालीन राजनीतिमा सहभागी हुन सक्दैनन् नि।’ साथै उनले गोमा देवकोटा, विश्वेश्वरा दाहालजस्ता सहिद परिवारका सदस्यलाई पनि पार्टीले अवसर दिँदै आएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =