‘रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउने प्रयास हुँदै छ’

हिमाल प्रेस २४ वैशाख २०८१ १४:३७
16
SHARES
‘रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउने प्रयास हुँदै छ’

काठमाडौँ- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई फिर्ता बोलाउन प्रयास भइरहेको बताएका छन्।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले रुसको रक्षा मन्त्रालयसँग कुरा गर्ने प्रयास भइरहेको र छिट्टै रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता बोलाइने बताएका हुन्।

उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुँदा गरिएको सम्झौता खारेज गरेर फिर्ता पठाउन रुसी सरकारले सैद्धान्तिक रूपमा सहमति दिएपनि मोडालिटी बन्न नसकेकाले काममा ढिलाइ भएको बताए। परराष्ट्रमन्त्री श्रेष्ठले नेपाली नागरिक विपिन जोशी हमासको कब्जामा रहेको भन्दै उनको स्थिति सार्वजनिक गर्न सरकारले पहल गरिरहेको बताए।

उनले युद्धरत देशमा शान्तिका निम्ति पहल गरिरहेका र मध्यस्थता गरिरहेका शक्तिहरूसँग पनि विपिन जोशीको स्थितिका बारेमा स्पष्ट जानकारी दिन र रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको बताए।

परराष्ट्रमन्त्री श्रेष्ठले ईपीजी प्रतिवेदन बुझ्न नेपाल सरकार तयार भए पनि भारत सरकार तयार नभएको बताए। उनले भारतले ईपीजी प्रतिवेदनलाई सकारात्मक रूपमा लिएर बुझ्नुपर्नेमा जोड दिए। उनले ईपीजी प्रतिवेदन बुझेर दुई देशबीचको छलफलको एजेण्डा बन्नुपर्ने बताए।

परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल र भारतका बीचमा सुस्ता र कालापानीमा सीमा समस्या रहेको र सो समस्या समाधानका लागि वार्तासमेत भइरहेको भन्दै कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पहल भइरहेको बताए।

प्रकाशित: २४ वैशाख २०८१ १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =