ए डिभिजन राउन्डअप : सकिएन मछिन्द्रको संघर्ष, थ्रीस्टारलाई अजायीको भर

हिमाल प्रेस २३ चैत २०७९ २२:३५
38
SHARES
ए डिभिजन राउन्डअप : सकिएन मछिन्द्रको संघर्ष, थ्रीस्टारलाई अजायीको भर

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा च्याम्पियन मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो बराबरी खेलेको छ। मछिन्द्रले बिहीबार हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको हो। यो एक अंक पनि विमल घर्ती मगरले आतिरिक्त समयमा गोल गरेपछि सम्भव भएको थियो।

उता त्रिभुवन आर्मी क्लबले अस्थिर प्रदर्शनलाई जारी राखेको छ। गत सिजन मछिन्द्रले लिग जित्दा दोस्रो भएका आर्मीले बिहीबार नै भएको खेलमा थ्रीस्टार क्लबसँग १-० को हार व्यहोर्‍यो। लिगमा ६ खेल खेलिसक्दा आर्मीको खातामा दुई जित, दुई बराबरी र दुई हार छ।

संकटा क्लबसँग गोलरहित बराबरी खेलेर लिगको सुरुवात गरेको आर्मीले दोस्रो खेलमा मछिन्द्रलाई २-० ले पराजित गरेको थियो। तेस्रो खेलमा न्युरोड टिम (एनआरटी) सँग ३-३ को बराबरीमा रोकिएको आर्मी चौथो खेलमा पुगेर नेपाल एपीएफ क्लबसँग १-० को पराजय भोग्न बाध्य भएको थियो। पाँचौँ खेलमा भने आर्मीले फ्रेन्ड्स क्लबलाई २-१ पन्छाएर लय भेट्टाएको थियो।

अपराजित लय तर अपर्याप्त
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्र ८६ औँ मिनेटमा पछि परेको थियो। सत्यम शर्माले पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अघि बढाएका थिए। राइटब्याक छिरिङ गुरुङले ह्यान्ड गरेपछि हिमालयन शेर्पाले पेनाल्टी पाएको थियो।

उनै छिरिङले खेल सकिनै लाग्दा बनाएको मुभका कारण मछिन्द्र खेलमा फर्किएको थियो। राइट विंगबाट अघि बढेका छिरिङले विमलका लागि त्रस उपलब्ध गराएका थिए। त्यसपछि विमलले ओभरहेड किकमा गोल गर्दै मछिन्द्रको हार टारे।

विमलले जारी सिजन पहिलो पटक गोल गरेका हुन्। चोटका कारण सुरुवाती दुई खेल गुमाएका विमल त्यसपछिका सबै खेलमा मछिन्द्रको पहिलो एघारमा परेर खेलेका छन्। फिफा विश्रामअघि चर्च ब्वाइज युनाइटेडसँगको खेलमा दोस्रो हाफ चोटकै कारण खेल्न नसकेका विमल विराट गोल्डकपमा विराटनगर सिटी एफसीको टिममा थिए। लिग फर्कदा उनले पनि मछिन्द्रको पहिलो एघारमा गोलसहित पुनरागमन गरका हुन्।

लिगका सुरुवाती दुई खेलमा पराजय भोगेको मछिन्द्र त्यसपछिका अपराजित छ। अपराजित लयका बाबजुद मछिन्द्र १० औँ स्थानमा सीमित छ। यसको मुख्य कारण हो, पछिल्ला चार खेलमध्ये तीनमा बराबरी। मछिन्द्रले जम्मा एक खेल मात्र जितेको छ। मछिन्द्रले एक्लो जित रेलिगेसन क्षेत्रमा रहेको नेपाल पुलिस क्लबविरुद्ध हात पारेको थियो।

अंक तालिकाको मध्यक्षेत्रमा अड्किएको हिमालयन शेर्पाविरुद्ध मछिन्द्रले नयाँ खेलाडी छेन्चो ग्याल्ट्सेनसहित सबै मुख्य फरवार्ड मैदान उतारेको थियो। डेब्यु खेलमा छेन्चो सोचे जस्तो प्रभावकारी देखिएनन्। भुटानबाट आएका उनलाई नेपाली लिगमा अभ्यस्त हुन केही समय लाग्ने मछिन्द्रका सहायक प्रशिक्षक सन्तोष न्यौपानेको भनाइ थियो।

‘छेन्चो र टिमका अरु फरवार्डको खेल शैली फरकफरक छ। यसकारण उनलाई यो टिममा अभ्यस्त हुन केही समय लाग्नेछ,’ मुख्य प्रशिक्षकविहीन मछिन्द्र सम्हालिरहेका सन्तोषले भने। केही मुख्य खेलाडी अझै मैदान नफर्किसकेकाले टिममा तालेमल मिल्न नसकरिहेको र त्यसले समग्र प्रदर्शनमा असर गरेको सन्तोषको भनाइ थियो।

सन्तोषले मछिन्द्र अझै पनि लिग उपाधिका लागि नै प्रतिस्पर्धा गरिरहेको बताए। ‘केहीगरी लिग जित्न सकिएन भने, दोस्रो वा तेस्रो स्थानमा पनि चित्त बुझाउनेछौँ,’ लिग उपाधि रक्षा गर्ने सम्भावनामा ह्रास आइरहेको संकेत गर्दै सन्तोषले भने।

उता हिमलायन शेर्पाका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले टिमको रणनीति सफल भए पनि अन्तिममा गएर गोल खानु परेको प्रतिक्रिया दिए। ‘उत्तरार्द्धमा मिडफिल्ड परिवर्तन गरियो। त्यही परिवर्तनका कारण खेलाडीबीच कम्युनिकेसन ग्याप हुनपुग्यो र गोल खाइयो,’ सुमनले भने।

हिमालयन शेर्पा लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। लिगको आफ्नो पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १-१ को बराबरीमा रोकेको हिमालयन शेर्पाले त्यसपछि पुलिसलाई पराजित गरेको थियो। यो सिजन हिमलायन शेर्पाले हात पारेको त्यही एउटा जित हो।

मछिन्द्रसँगको बराबरीपछि हिमालयन शेर्पा नवौँ स्थानमा छ। हिमालयन शेर्पाको पनि मछिन्द्र र ११ औँ स्थानमा रहेको एफसी खुमलटारको जस्तै ६ अंक नै छ। गोल अन्तरमा खुमलटार मछिन्द्र र हिमालयन शेर्पाभन्दा तल परेको हो।

अजायीको गोल लय
च्यसाल रंगशालामा थ्रीस्टारलाई आर्मीमाथि १-० को जित दिलाउन मार्टिन्स कायोडे अजायीले निर्णायक गोल गरे। उनले पहिलो हाफको १७ औँ मिनेटमा गोल गरेका थिए। जारी लिगमा अजायीको यो चौथो गोल हाे। यसअघि उनले खुमलटारविरुद्ध दुई र फ्रेन्ड्सविरुद्ध एक गोल गरेका थिए।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा एपीएफसँग पराजय भोगेको थ्रीस्टारले त्यसपछि उपलब्ध १५ मध्ये १० अंक बटुलेको छ। फिफा विश्रामअघि जावलाखेल युथ क्लबसँग १-० ले पराजित भएको थ्रीस्टारले सातदोबाटो र खुमलटारलाई हराएको थियो। फ्रेन्ड्ससँगको खेलमा भने अनिल महर्जनले आतिरिक्त समयमा आत्मघाती गोल गरेपछि ३-३ को बराबरीमा रोकिएको थियो।

आर्मीमाथिको जितले थ्रीस्टारलाई छैटौँ स्थानमा पुर्‍यायो। शीर्ष तीनमा जवलाखेल, चर्च ब्वाइज र सातदोबाटो युथ क्लब छन्। यी तीनले ६-६ खेल खेलिसक्दा क्रमशः १३, १२ र १२ अंक बटुलेका छन्। बराबरी अंक भए पनि गोल अन्तरले चर्च ब्वाइज र सातदोबाटोलाई छुट्टाएको हो। चौथो र पाँचौँ स्थानमा रहेका मनाङ र एपीएफसँग ११ र १० अंक छ। मनाङ शुक्रबार फ्रेन्ड्सलाई पराजित गरे शीर्षस्थानम उक्लिनेछ।

प्रकाशित: २३ चैत २०७९ २२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =