कृषिमा संलग्‍नताअनुसार उत्पादन देखिएन : कृषिमन्त्री भुसाल

हिमाल प्रेस २३ चैत २०७९ २२:०४
4
SHARES
कृषिमा संलग्‍नताअनुसार उत्पादन देखिएन : कृषिमन्त्री भुसाल फाइल तस्बिर।

भक्तपुर– कृषि तथा पशुपक्षीमन्त्री डा. वेदुराम भुसालले नेपालको कुल जनसंख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा भने देश निकै पछाडि परेको बताएका छन्।

नयाँ वर्ष ०८० एवम् भक्तपुरको बिस्केट जात्राका अवसरमा भक्तपुरमा बिहीबारदेखि सुरु भएको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘नयाँ जनगणनाअनुसार नेपालको कूल जनसंख्याको ५१ प्रतिशत जनता कृषिमा निर्भर छन् तर कृषि उतपादनमा राष्ट्रिय योगदान २४ प्रतिशतमात्रै छ, यसले प्रष्टरूपमा कृषि उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको देखिन्छ, त्यसैले कृषि उतपादनलाई बढाउनुपर्‍यो,’ उनले भने।

देशको अर्थतन्त्र सबल बनाउन, जीवन स्वस्थ बनाउन हाम्रा खेतीमा मौलिक उत्पादन बढाउन कृषि उत्पादनलाई बढाउन आवश्यक रहेको उनको भनाइ छ।

कृषि उत्पादनमा भक्तपुर अग्रणी भएकाले जिल्लाका उत्पादन यस्तो महोत्सवमा छुट्न नहुने उनले उल्लेख गरे। भक्तपुरको आफ्नो मौलिक उत्पादन जुजु धौलाई महोत्सवमा छुटाउन नहुने र यस्ता उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनले जनाए।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले विगतका वर्षहरूमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन आग्रह गर्दै भक्तपुरको प्रसिद्ध बिस्काः जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जात्रा अवधिभर मदिरा बिक्री-वितरणमा रोक लगाइएको जानकारी दिए।

सो अवसरमा नेकपा एकीकृत समाजवादी भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महत र महोत्सवका संयोजक दीपक थापा, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले महोत्सवले भक्तपुर सांस्कृति तथा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डको आयोजना एवम् भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा भक्तपुरको सल्लाघारीस्थित ९९ रोपनी क्षेत्रफलमा बिहीबारदेखि सुरु भएको महोत्सव वैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, विभिन्न ब्रान्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुँडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल, सवारीसाधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायत सामग्रीको २ सय बढी स्टल रहने बताइएको छ।

‘विगत वर्षझैं यस वर्ष पनि भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौँ जिल्लावासीलाई लक्षित गरी घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरेका हौं। महोत्सवमा हजारौं उपभोक्ताले सहज सेवा पाउने विश्वास लिएका छौं,’ अध्यक्ष महतले भने।

महोत्सवमा दैनिक बालउद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, विभिन्न खेल सामग्रीका साथै राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुति एवम् हास्यव्यंयसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =