धर्म, संस्कृति, पहिचान र स्वाधीनताको रक्षार्थ युवा जाग्नुपर्छ : कमल थापा

हिमाल प्रेस १९ चैत २०७९ २०:३७
6
SHARES
धर्म, संस्कृति, पहिचान र स्वाधीनताको रक्षार्थ युवा जाग्नुपर्छ : कमल थापा फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले युवा पुस्ता धर्म, संस्कृति, पहिचान र स्वाधिनताको रक्षार्थ हस्तक्षेपकारी भूमिकामा देखिनु पर्ने बताएका छन्। नयाँ पुस्ताले भ्रष्टाचार, कुशासन र बेथितिमा मौनता साध्ने नभएर जबर्जस्त ढंगले विद्रोहमा उत्रनुपर्नेमा जोड दिँदै थापाले डरलाग्दो रुपमा भइरहेको धर्मपरिवर्तनको डढेलोलाई रोक्न लाग्नुपर्ने बताए।

राप्रपानिकट युवक संगठनको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै थापाले राष्ट्रियता, प्रजातन्त्र, आर्थिक समृद्धि र सुशासनको निमित्त युवा पुस्ताले खबबरदारी नगरे यथास्थितीवादी शक्ति हाबी हुने र मुलुकको ओरालो यात्रा निरन्तर जारी रहने टिप्पणी गरे।

लाखौं युवालाई विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य पार्ने राज्य संयन्त्र तिनै युवाहरूले विदेशबाट पठाइदिएको रेमिट्यान्समा लडिबुडी गरिरहेको भन्दै थापाले राज्य सञ्चालकसँग मुलुक निर्माणको कुनै नवीन नीति, योजना, कार्यक्रम नभएको दाबी गरे।

सत्ता र शक्ति केन्द्रित फोहोरी खेलले मुलुकका युवाहरूलाई निराश बनाएको भन्दै थापाले राप्रपा नेपालमा युवा आकर्षण हुने गरि कार्ययोजना बनाउन निर्देशन समेत दिए।

संगठनका अध्यक्ष उज्ज्वल पोखरेलले संगठनको संरचनालाई तल्लो तहसम्म पुर्‍याउने नीति अनुरुप ६ महिने कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: १९ चैत २०७९ २०:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =