गुरुकुलीय शिक्षा : सभ्य समाजको पुनर्निर्माणका निम्ति एउटै विकल्प

हिमाल प्रेस १८ चैत २०७९ १२:५५
902
SHARES
गुरुकुलीय शिक्षा : सभ्य समाजको पुनर्निर्माणका निम्ति एउटै विकल्प

देवघाटधाम- हरेक वर्षझैँ यस वर्ष पनि श्रीरामनवमीका दिन महेश-संस्कृत-गुरुकुलम्‌ले आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। गुरुकुलको तीसौँ वार्षिकोत्सव-समारोह संस्थाका पीठाधीश श्री १00८ स्वामी रमणानन्द गिरिज्यूको सभापतित्व एवं नेपाल सरकारका पूर्वसचिव एवं अद्वैतवेदान्तका लेखक, साधक शरत्कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

समारोहमा गुरुकुलका उत्कृष्ट छात्रहरू, पूर्वच्छात्र‌हरू, आचार्यहरू, समाजका विशिष्ट विद्वान् तथा वीतरागी महात्मालाई गुरुकुलले विभिन्न विधा तथा शीर्षकहरूमा पुरस्कृत एवं सम्मानित गरेको थियो।

यसपालिको वेदनिधि-पुरस्कार अद्वैतवेदान्तको सत्सङ्गद्वारा समाजको आध्यात्मिक जागरणमा निरन्तर सक्रिय अभय-वेदान्त-कुटीरका पीठाधीश श्री १००८ स्वामी कृष्णानन्द सरस्वतीज्यूलाई प्रदान गरिएको छ।

त्यसैगरी गुरुकुलका संस्थापक प्राचार्य एवं नेपाल संस्कृत विश्वविद्यालका सहप्रा. डा. गुरुप्रसाद सुवेदीलाई ‘गुरुकुलकुलाचार्य’ उपाधिद्वारा विभूषित गर्दै सम्मान अर्पण गरियो। साथै विदेह जनकका नाममा २०५५ मा स्थापित दार्शनिक संस्था श्रीराजर्षि-जनक-स्मृतिकोषको यसपालिको विद्वत्सम्मान पनि सुवेदीलाई नै प्रदान गरिएको छ।

५१ हजार रुपैयाँको थैलीसहित प्रदान गरिने यो सम्मान लामो समय गुरुकुलमा अद्वैतवेदान्तदर्शनको अध्यापन, ग्रन्थलेखन एवं स्वाध्याय-प्रवचनद्वारा समाजलाई उद्बोधित गरे-बापत सुवेदीलाई दिइएको हो।

गुरुकुलबाट उत्पादित जनशक्ति स्वदेश र विदेशका विभिन्न विश्वविद्यालय, अन्य शैक्षणिक संस्था एवं नाना कार्यक्षेत्रमा संलग्न छ। त्यो जनशक्तिको केही प्रतिशत भने शोध-अनुसन्धान एवं समाजमा शैक्षिक, प्राज्ञिक, आध्यात्मिक तथा सांस्कृतिक जागरणका निम्तिसमेत क्रियाशील देखिन्छ। उनीहरूको त्यो शोध-अनुसन्धान एवं समाज ब्युँझाउने कार्यलाई प्रोत्साहित गर्ने उद्देश्यले गुरुकुलले पूर्वच्छात्र-सम्मानको एउटा नयाँ अध्यायको थालनी गरेको छ।

त्यसैअन्तर्गत यसपटकको वार्षिकोत्सव-समारोहमा गुरुकुलका तीन जना पूर्वच्छात्रहरूलाई गुरुकुलले सम्मानित गरेको छ। गुरुकुलका पूर्वच्छात्र एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक अभियन्ता रोहिणीराज तिमिल्सिनालाई गुरुकुलले जनकदेव-ईश्वरी शोधवृत्तिद्वारा सम्मानित गरेको हो।

तिमिल्सिना विगत लामो समयदेखि विद्यालयहरूमा संस्कृतशिक्षाको पुनःस्थापना एवं समाजमा सांस्कृतिक एवं आध्यात्मिक दार्शनिक जागरणका अभियन्ता हुन्। उनले यिनै विषयमा आधारित रहेर कलम चलाइरहेका छन्।

त्यसैगरी सो शोधवृत्तिद्वारा गुरुकुलका प्रधानाचार्य एवं नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक फणीन्द्र पौडेललाई पनि सम्मानित गरिएको छ। गुरुकुलबाट दीक्षित भइसकेपछि पनि गुरुकुलमै रहेर गुरुकुलको शैक्षणिक एवं व्यवस्थापकीय जिम्मेवारीसमेत वहन गर्दै अनवरत सेवा तथा प्राज्ञिक खोज-अनुसन्धानमा लागिरहेबापत पौडेललाई सम्मानित गरिएको हो।

गुरुकुलबाट दीक्षित अर्का पूर्वच्छात्र नीराजन पन्तलाई पनि उक्त शोधवृत्ति प्रदान गरिएको छ। गुरुकुल-विद्यापीठमा सहायक प्राध्यापकका रूपमा अध्यापनरत पन्त देवघाटका विषयमा खोज-अनुसन्धान गरी काव्यसिर्जना गर्ने नेपाली साहित्यका अनुसन्धाता सर्जक एवं महाकविसमेत हुन्। ‘देवघाट’नामको उनको महाकाव्य आध्यात्मिक काव्यजगत्‌मा सुप्रसिद्ध छ।

सम्मानित तीनै जना पूर्वच्छात्र विद्यावारिधिका शोधकर्तासमेत हुन्। उनीहरूलाई प्रदान गरिएको यो शोधवृत्ति जनही ५० हजार रुपैयाँको छ।

अद्वैतवेदान्तदर्शनको अध्यापन एवं प्रचार-प्रसारद्वारा समाजको आध्यात्मिकीकरण पनि गुरुकुलको एक उद्देश्य हो। त्यसैले छात्रवर्गमा अद्वैतवेदान्तप्रतिको आकर्षण बढाउनका निम्ति गुरुकुलमा अर्को एक पुरस्कारको स्थापना भएको छ।

पूर्वसचिव शरत्कुमार भट्टराईले माता-पिताका नाममा गुरुकुलमा स्थापना गरेको रन्धता-धर्मसदन नामको पुरस्कार शास्त्री र आचार्य तहमा सर्वोत्कृष्ट नतिजा ल्याउने एक एक जना छात्रलाई प्रदान गरिन्छ। जनही ५० हजार रुपैयाँका दरले प्रदान गरिने उक्त पुरस्कार आचार्य-तहमा छात्र प्रदीप रेग्मी एवं शास्त्री तहमा छात्र पूजक बास्कोटाले प्राप्त गरे।

यसैगरी दिवाकर आचार्य पुरस्कार गुरुकुलका सहायक प्राध्यापक दीपककुमार सिग्देललाई प्रदान गरिएको छ।

पुरस्कृत छात्रहरूको विवरण –

१. गुरुकुल दिवाकर पुरस्कार

गुरुकुल सर्वोत्कृष्ट पुरस्कार २०७८ – कक्षा ६ का छात्र आदर्श घिमिरे ९२.८८% (रु.३०००)
गुरुकुल सर्वोत्कृष्ट २०७९ – विज्ञान पौडेल (कक्षा ६) ९३% (रु.३०००)

२. नारायणी प्रतिभा पुरस्कार २०७८

कक्षा ६ का छात्र आदर्श घिमिरे ९२.८८% (रु.३०००)
कक्षा ७ जीवनाथ आचार्य ८७.९८% (रु.२०००)
कक्षा ८ सन्देशबाबु दाहाल ३.९० GPA (रु.२०००)
कक्षा ९ आदित्यशरण सुवेदी ८६.४१% (रु.२०००)

३. नारायणी प्रतिभा पुरस्कार २०७९

कक्षा ६ विज्ञान पौडेल ९३.००% (रु.२०००)
कक्षा ७ सुजित रेग्मी ८४.८६% (रु.२०००)
कक्षा ९ सुधीर चालिसे ८७.१३ % (रु.२०००)
कक्षा ११ रोहण सुवेदी ८६.०८% (रु.२०००) (२०७७)
कक्षा १२ मोहित पौडेल ३.७० GPA (रु.२५००) (२०७७)

४. अनुशासन-पुरस्कार २०७९ – महेन्द्र आचार्य (कक्षा ९)

५. स्वच्छता-पुरस्कार २०७९ – असीम आचार्य (कक्षा ९)

६. सर्वाधिक उपस्थिति-पुरस्कार २०७९ – निशान्त ओझा (कक्षा ६)

७.  कक्षा १० – SEE 2078 मा A+ प्राप्त गर्ने छात्रहरू

दिग्विजय लामिछाने 3.95 GPA (रु. २५००)
प्रशान्त घिमिरे 3.65 GPA (रु. २०००)
विवेक पराजुली 3.80 GPA (रु.२०००)
नवीन न्यौपाने 3.65 GPA (रु.२०००)
सङ्गम गौतम 3.80 GPA (रु.२०००)
मनोजराज उपाध्याय 3.60 GPA (रु.२०००)
रामप्रसाद शर्मा 3.75 GPA (रु.२०००)
निश्चित घिमिरे 3.60 GPA (रु.२०००)
कौशल निरौला 3.70 GPA (रु. २०००)
सुदर्शन पोख्रेल 3.60 GPA (रु.२०००)
पीयूष अधिकारी 3.70 GPA (रु.२०००)

८. २०७७ को शास्त्रीमा गुरुकुल-सर्वोत्कृष्ट सुमन गौतम (रु.५०००)

९. २०७७ को आचार्यमा गुरुकुल-सर्वोत्कृष्ट प्रदीप रेग्मी (रु. ७०००)

वार्षिकोत्सव-समारोहमा विशिष्ट अतिथिका रूपमा वेदान्तविद् प्रा. भवानीप्रसाद खतिवडा एवं अतिथिहरूमा बी.एच्.यू. आई.आई.टी. का उपप्राध्यापक विश्वनाथ धिताल, भागवतभूषण पं. कपिलदेव सुवेदी, विभिन्न छिमेकी शैक्षिक संस्था, गाउँपालिकाका प्रतिनिधिहरू एवं स्वदेश तथा विदेशबाट आमन्त्रित गुरुकुलका थुप्रै दाता महानुभावको उपस्थिति थियो।

गुरुकुलका स-साना बच्चाहरूले प्रस्तुत गरेको साङ्गीतिक स्वागतगान, भजन एवं विद्वज्जनहरूका उद्बोधक प्रवचनहरू समारोहका विशेष आकर्षण थिए।

आफ्नो निजी खर्चबाट आर्थिक संकलन गरी जम्मा भएको पैसाले खरिद गरेको प्रतिघण्टा २० लिटर क्षमता भएको इलेक्ट्रिक फिल्टर देउपुरको एक सरकारी विद्यालय वराह प्रा.वि.का प्रतिनिधिहरूलाई गुरुकुलका साना बच्चाहरूले हस्तान्तरण गरिरहेको दृश्यले सबै अभ्यागतहरूको हृदय थप आकृष्ट गरेझैँ लाग्थ्यो।

समारोहका वक्ताहरूले समाजको खस्कँदो चेतनाको स्तर, सांस्कृतिक विचलन, धार्मिक बेथिति एवं कदाचारशीलताको चर्चापूर्वक सत्-शिक्षा, सुसंस्कार, धर्मनिष्ठा र सदाचारको वैशिष्ट्य प्रस्तुत गर्दै समाजमा यी वैशिष्ट्यको पुनःस्थापना वा सभ्य समाजको पुनर्निर्माणका निम्ति गुरुकुलीय शिक्षा एकमात्र विकल्प रहेको बताएका थिए।

समारोहको सञ्चालन गुरुकुल-विद्यापीठम्‌का प्राचार्य कमल सुवेदीको सहकार्यमा प्रधानाचार्य फणीन्द्र पौडेलले गरेका थिए।

 

प्रकाशित: १८ चैत २०७९ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =