पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको चर्चा

हिमाल प्रेस २६ वैशाख २०८१ १९:०१
32
SHARES
पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको चर्चा

पोखरा-  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आठौं पोखरा स्पोर्ट्स अवार्ड आयोजना गर्दैछ। विभिन्न ७ विधाका प्रदान गरिने अवार्डमा विशेषगरी वर्ष खेलाडीको चर्चा व्यापक छ। वर्ष खेलाडी (महिला) तर्फ आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर उत्कृष्ट ३ को मनोनयनमा परेका छन्। पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मगर मनोनयनमा परेका छन्। तीमध्ये महिला र पुरुषतर्फ उत्कृष्टलाई एक–एक थान टेलजी इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिनेछ।

अनुश्का शेरचन :

पोखराकी अनुश्का बल्ल १७ वर्षकी भइन्। ११ वर्षको छँदै आर्चरी खेल्न थालेकी उनी आठौं राष्ट्रिय खेलकुद भाग लिएर टिम इभेन्टमा गोल्ड मेडल जितेकी थिइन्। राष्ट्रिय खेलकुदमा पदकसँगै नवौंमा समेत उनले खेल खेलिन्। जसमा मिक्स इभेन्टमा रजत र टिम इभेन्टमा कास्य जित्न सफल भइन्। बाबु योगेन्द्र शेरचनको प्रेरणाबाट आर्चरीमा लागेकी उनी नेपाली आर्चरी खेलको भविष्य हुन्। सानै उमेरमा उदाएकी उनले आर्चरीबाट नेपाललाई ठूलै पदक दिलाउने आशा गर्न सकिन्छ। आर्चरीप्रति इच्छा जाहेर गरेपछि परिवारले उनलाई समर्थन गर्दै प्रशिक्षणमै व्यस्त गराएका छन्।

२०८० मा अनुश्काले इराकको बागदादमा भएको एसिया आर्चरी कपमा सहभागी भई दोस्रो चरणसम्म प्रवेश गर्न सफल भइन्। गत वर्ष पोखरामा सम्पन्न ११ औं राष्ट्रिय च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र मिक्स टिममा स्वर्ण पदक जितेकी थिइन्। उनी मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्डको चौंथो संस्करणमा समेत उदीयमान खेलाडी विधामा उत्कृष्ट ३ भित्र परेकी थिइन्।

अरुणा शाही (भलिबल) :

नेपाली महिला राष्ट्रिय टिमको कप्तान अरुणाले भलिखेल खेल थाल्दा मात्र १३ वर्षकी थिइन्। पछि गण्डकीको प्रतिनिधित्व गर्दै खेल्ने उनले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन्। त्यसयता नियमित राष्ट्रिय टोलीमा स्थान बनाइराख्न सफल उनले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं साग खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन्। अरुणाले राष्ट्रिय टोलीमा डेब्यु गरेको ५ वर्षपछि सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भइन्। कप्तानी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई ऐतिहासिक पदक समेत दिलाउन सफल भएकी छन्।

अरुणाकै कप्तानीमा सन् २०१९ मा एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले उपाधि जितेको थियो। टोलीले गत वर्ष चीनमा भएको १९ औं एसियाडमा पहिलो पटक सहभागिता जनायो। गत वर्ष काभा कपमा कास्य पदक जित्न सफल भयो। यी २ प्रतियोगितासँगै अरुणाले राष्ट्रियस्तरको एनभीए कप भलिबलमा एभरेष्ट क्लबको प्रतिनिधित्व गर्दै च्याम्पियन भइन्।

सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) :

२०६० सालमा बागलुङ बडिगाडमा जन्मिएकी सुस्मिताले छोटो समयमै उचाइ हासिल गरिसकेकी छिन्। कक्षा ६ पढ्दा भलिबल खेलेकी उनी विद्यालयस्तरमा प्रतियोगितामा भाग लिई विभिन्न पदक जित्ने गर्थिन्। तर आफूले पढ्दै गरेको भानु स्कुलमा २०७४ सालमा रवीन्द्र बुढामगरले आइटिएफ टेक्वान्दो दोजाङ सञ्चालन गरेपछि तेक्वान्दोप्रति आकर्षित भइन्। त्यसबेला ८ कक्षा पढ्थिन्। खेल सिकिन् र छोटो समयमै नीगलापनी आइटिएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बनिन्। उनले आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण र २ रजत पदक जितेकी थिइन्। नवौंमा गण्डकीलाई १ स्वर्ण र १ रजत पदक दिलाउन सफल भइन्। गत वर्ष उनी काजकिस्तानमा भएको २२ औं वल्र्ड आइटिएफ च्याम्पियनसिपमा सहभागी भइन्। ११ औं नेसनल जेनेरल चोइ आइटीएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कास्य हासिल गरिन् भने ८ औं नेसनल प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरिन्।

अर्जुन कुमाल (क्रिकेट) :

गुल्मी खज्र्याङका  अर्जुन कुमालको जन्म आजभन्दा १८ वर्षअघि भारतको नयाँदिल्लीमा भएको हो। भारतको क्रिकेट संस्कारबाट उनी टाढा हुन सकेनन् र भारतमै गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके। अहिले पनि उनी समय मिलाएर राहुलसँग प्रशिक्षण लिन भारत गइरहन्छन्। राहुलको आग्रहमै उनी पोखरा आएर गण्डकीबाट खेल्न सुरु गरे। १३ वर्षकै उमेरमा यू–१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा खेलेका थिए। २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यु खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए।

५ वर्षअघि यू–१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार शानदार प्रदर्शन गर्दै आएका छन्। २०१९ मा थाइल्याण्डमा सम्पन्न यु–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे। यु–१९ विश्वकप खेलेका अर्जुन २०८० सालको प्रदर्शनका आधारमा नै पोखरा स्पोर्टस् अवार्डमा मनोनयनमा परेका छन्। २०८० सालमा उनले ४ वटा अन्तर्राष्ट्रिय टुर गरे। योसँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले। यु–१९ विश्वकपमा पाकिस्तान, अफ्गानिस्तान, न्युजिल्याण्डसँगै नेपाल समुह ‘डि’ मा थिए। जसमा अर्जुनको प्रदर्शन उत्कृष्ट थियो। उनले न्युजिल्यान्डसँग ९० रन प्रहार गरेका थिए। उनकै प्रदर्शनमा विश्वकपको सुपर सिक्समा पुगेको थियो।

मलेसियामा भएको यु १९ एसिसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए। त्यहाँ उनले साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे। फाइनलमा युएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले यु–१९ एशिया कप पनि खेले। जहाँ उनले अफ्गानिस्तानविरुद्ध ९१ रनको इनिङ्स खेलेका थिए। यो बाहेक उनी २०८० सालमा गण्डकी प्रदेशबाट पिएम कप टि–२० र एक दिवसीय खेल खेलेका थिए।

प्रदीप खड्का (टेनिस) :

२०५० सालमा पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए। जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले। अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन्। उनको यात्रा अहिलेसम्म जारी नै छ। उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल हात पार्दै आफूलाई राष्ट्रिय प्रतियोगितामा उभ्याएका हुन्। १३ औं सागमा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भए। उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जिते।

नवौं राष्ट्रिय खेलकुदमा ३ स्वर्ण पदक जित्न सफल खेलाडी हुन्। उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते। योबीचमा उनले नेपाल र विदेशमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्लस टु सकेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो। २०८० साल उनका लागि अझै उत्कृष्ट रह्यो। १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे। बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने। दोस्रो सिलीगुरी मनिप्राइजमा सहभागी बनी दोस्रो भए। सोही वर्ष नै उनी १२ औं सहविर मेमोरियल ओपन टेनिसमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता भए। छैटौं बुटवल ओपन टेनिसमा विजेता (सिंगल) बने। २० औं माछापुच्छ्रे ओपनमा सिंगततफै दोस्रो भए। यस्तै, पहिलो राइजिङ स्टार ओपनमा सिंगलतर्फ दोस्रो, तेस्रो वीरगणेशमान सिंगल र डबल्समा प्रथम, नवौं सिटिजन बैंक ओपनमा मिक्स डबल्समा पहिलो र सिओएस राष्ट्रिय ओपस टेनिसमा मिक्स डबल्समा पनि प्रथम भए। उनले यसअघि पनि वर्ष खेलाडीको उपाधि जितेका छन्।

हिमाल सुनारी मगर (भलिबल) :

गण्डकी प्रदेशबाट भलिबल खेल्ने हिमाल सुनारी मगरको जन्म २०५५ मा पाल्पाको निस्दी ४ मा भएको हो। अहिले उनी नवलपुरको बौदीकाली ४ आमडाँडा बस्छन्। उनको सानैदेखि भलिबलमा रुचि थियो। दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिंड्दाहिंड्दै उनी पनि भलिबल खेलाडी बने।

सानैदेखि टोल, गाउँ, विद्यालय, पालिकाहुँदै जिल्लास्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्षअघि नवलपुरको जिएम समाजसँग जोडिए। त्यसपछि गण्डकी प्रदेश भलिबल टिममा पर्न थाले। उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले। त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेन तर उनको क्वीक स्पाइकले सबैको ध्यान तानेको थियो। तेस्रो टाइगर कपमा भने गण्डकीले उपाधि नै उचाल्यो। २०८० साल उनको लागि निकै उपलब्धिमूलक रह्यो।

गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात पारेको छ। चितवनमा भएको अन्तरप्रदेश स्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पा¥यो। त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए। लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र वीरगञ्ज कपमा पनि गण्डकी प्रथम भयो। चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे। कञ्चनपुरमा भएको मुख्यमन्त्री कप र बुटवलमा भएको मणिमुकुन्द कप गण्डकी द्वितीय भयो।

यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्की एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो। उनले जिल्ला तथा पालिकास्तरीय प्रतियोगिता पनि जितेका छन्। २०८० सालमा दुवई र मलेसिया भलिबल खेल्नकै लागि पुगे। तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै उत्कृष्ट खेल प्रस्तुत गरे। सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया खेली उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी बने।

प्रकाशित: २६ वैशाख २०८१ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − two =