किनारातर्फ धकेलिँदै माधव नेपाल

किरण पौडेल २६ वैशाख २०८१ १९:३९
104
SHARES
किनारातर्फ धकेलिँदै माधव नेपाल

काठमाडौँ- सत्ता गठबन्धनमा उत्पन्न खटपट र पार्टी फुटका कारण नेपाली राजनीतिमा नयाँ तरंग आएको छ। सत्ता गठबन्धन बचाउने, नयाँ समीकरण बनाउने र प्रधानमन्त्री फेर्नेसम्मको रस्साकस्सी चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालको फुटले राजनीतिमा नयाँ तरंग ल्याएको हो।

सत्तामा रहेको जसपाको फुटले जसपालाई मात्र होइन, अन्य दललाई पनि झस्काएको छ। जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवसँग छुट्टिएर जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ पार्टी बनाएका छन्।

जसपापछि पार्टी फुट्न सक्ने सम्भावित जोखिममा नेकपा एकीकृत समाजवादी छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यही कारण पार्टीभित्रको छलफलमा व्यस्त रहे।

फागुनमा बनेको नेकपा एमाले–माओवादीको सत्ता समीकरण बनेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट थिए। सत्ताभित्रै उनी कहिले सरकारको पक्षमा त कहिले विपक्षमा कुरा गर्दै आएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समीकरण फेर्दा आफूसँग छलफल नगरेको भन्दै नेपालले असन्तुष्टि पोखिरहेका छन्। एमाले सत्ता समीकरणमा सामेल भएपछि नेपाल वैकल्पिक गठबन्धनतर्फ केन्द्रित थिए।

नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालबीच तिक्त सम्बन्ध छ। खनाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिने पक्षमा छन्। नेपालले केही दिनयता सत्ता गठबन्धनको तीव्र आलोचना गर्दै आएका थिए। वर्तमान गठबन्धन र सरकारको आयु छोटो रहेको उनको दाबी थियो।

यही कारण समाजवादी फुट्न सक्ने अनुमान थियो। जसपाको विभाजनपछि भने नेपाल फेरिएका छन्। पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले बसेर सरकार नछाड्ने निर्णय गरेको छ।

असन्तुष्टिको शृंखला

अध्यक्ष नेपाललाई प्रचण्ड नेतृत्वको समीकरणमा सामेल नहुन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली उनको घरमै पुगेको थियो। यद्यपि नेपालले समाजवादीलाई सरकारमा पठाए।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने समयमा नेपालले फेरि समस्यामा पारे। ‘हाम्रो पार्टीलाई के दिने हो लिखित सहमति नभए विश्वासको मत दिँदैनौँ,’ समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले भने।

एमाले–माओवादी गठबन्धनले पनि लिखित सहमति गरिदियो। यद्यपि, समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष र मनोनीत सदस्य आफूले पाउने दाबी गर्‍यो।

एमाले पक्ष भने त्यस्तो सहमति नभएको बताउँदै आएको थियो। यति मात्र होइन, नेपालले दुई प्रदेशमा आफ्नो पार्टीको नेतृत्व चाहिने दाबी गरे। सत्ता गठबन्धनले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व दिने सहमति गर्‍यो। भागबन्डामा बागमती प्रदेशको नेतृत्व दोस्रो चरणमा र सुदूरपश्चिम प्रदेशको नेतृत्व पहिलो चरणमा दिने सहमति भयो। तर नेपालले बागमतीको सहमति मान्न तयार भएनन्।

सत्ता गठबन्धनले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद साम्य पार्न उसैलाई नेतृत्व दिने सहमति गर्‍यो।

नाउपाकै विवादका कारण दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरे अनि दुवैको दाबी खारेज भयो। यसपछि समाजवादीका तर्फबाट दीर्घ सोडारी मुख्यमन्त्री बने। संघमा दुई मन्त्रालय र प्रदेशमा मुख्यमन्त्री हुँदा समेत अध्यक्ष नेपाल असन्तुष्ट थिए। संघ र प्रदेश सरकारको भागबन्डामा एकीकृत समाजवादीलाई उपेक्षा गरिएको गुनासो उनको थियो।

प्रधानमन्त्री बन्ने आकांक्षा

यसअघिको कांग्रेस–माओवादी गठबन्धनमा प्रचण्ड र त्यसपछि नेपाल र देउवा प्रधानमन्त्री बन्ने सहमति थियो। नयाँ समीकरण बनेपछि नेपाल प्रधानमन्त्री बन्ने सम्भावना सकियो।

एमाले–माओवादी समीकरणमा प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्ने एमाले नेताहरूको दाबी थियो। यही कारण नेपालले असन्तुष्टि जनाएको नेताहरू बताउँछन्। यसका लागि नेपाल वैकल्पिक गठबन्धनको खोजीमा रहेको उनीहरूको भनाइ छ।

‘कसैले प्रधानमन्त्रीको प्रस्ताव गर्छ भने छाड्ने कुरा हुँदैन,’ समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेले भनेका थिए , ‘यो गठबन्धन (एमाले-माओवादी)मा बसेर त काम छैन।’

यही कारण नेपाल वैकल्पिक गठबन्धन बनाएर प्रधानमन्त्री बन्न खोजेको स्रोतको दाबी छ। नेपालले माओवादी नेताहरूलाई पनि जसपा देखाएर वैकल्पिक गठबन्धन बन्न सक्ने बताउने गरेका थिए।

अहिलेको समीकरणमा एकीकृत समाजवादी र जसपा (दुवै पक्ष) हुँदा बहुमत नपुग्ने पक्का थियो। यही कारण नेपाल अर्को गठबन्धनका लागि सक्रिय रहेको एमाले प्रचार विभाग प्रमुख एवं प्रवक्ता राजेन्द्र गौतम बताउँछन्। समाजवादीका नेताहरू कांग्रेसले उपेन्द्र र माधव दुवैलाई प्रधानमन्त्रीको ‘अफर’ गरेको बताउँछन्।

सत्ता समीकरणमा अहिले एमालेको ७८, माओवादीको ३२, रास्वपाको २२ र नाउपा ३ सिट रहने र बहुमत नपुग्ने नेपालको बुझाइ थियो। नेपालको बुझाइमा कांग्रेसको ८९, समाजवादी १०, जसपा १३, राप्रपा १४, लोसपा ४, जनमत ६ सिटसहितको गठबन्धन बनाउन सकिने थियो। यसमा नाउपाले सहयोग गर्ने नेपालको बुझाइ थियो।

जसपा फुटेपछि नेपालको प्रधानमन्त्री सपना पनि ओइलाएको छ। त्यसैले उनले यही गठबन्धन बचाउने निर्णय गराएको नेताहरू बताउँछन्।

ओलीले बन्द बनाइदिएको नेपालको बाटो

यसअघिको नेपालको प्रधानमन्त्री सपना उडाइदिने मुख्य पात्र हुन्, एमाले अध्यक्ष केपी शर्मा ओली। प्रतिपक्षमा रहँदा समेत ओलीले नेपाललाई ‘राष्ट्रिय दल नभएकालाई पनि प्रधानमन्त्रीको आस’ भनेर घुमाउरो भाषामा व्यंग्य गर्थे। नयाँ समीकरण गरेपछि त ओलीले नेपाललाई पाखा लगाए।

ओलीले सुरुमा नेपाललाई आश्वासन दिए। नेपाल फकाउन उनकै निवासमा समेत पुगे। त्यसपछि भने ओलीले नेपालमाथि वाकयुद्ध सुरु गरे। कतिपय ठाउँमा त ओलीले नेपाललाई तल्लोस्तरको गाली गरेका थिए। पोखराको एउटा कार्यक्रममा ओलीले नेपाललाई ‘दक्षिणपन्थी शक्तिसँग मिल्न तयार रहेको’ आरोप लगाएका थिए। ओलीकै कारण नेपाल गठबन्धनमा चिढिएको नेताहरू बताउँछन्। ‘हामी एमालेको सहायक पार्टी होइन। ओलीले भनेकै मान्नलाई,’ समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्, ‘हामी ओलीले भनेको नमान्नका लागि छाडेका आएका हौँ। अब किन मान्छौँ?’

पाण्डेले पनि ओलीकै कारण गठबन्धन छाड्नुपर्ने बताएका थिए। यति मात्र होइन, नेपाल प्रधानमन्त्री हुने देखेर ओलीले प्रचण्ड नै पाँच वर्ष प्रधानमन्त्री हुने बताएको समाजवादीका नेताहरू सुनाउँछन्। ओलीले समाजवादीलाई पाखा लाउन सहमतिअनुसार काम नगरेको समाजवादी प्रवक्ता जगन्नाथ खतिवडाको भनाइ छ। ‘पहिले हामीलाई राष्ट्रियसभा उपाध्यक्षको कुरा ल्याइयो अनि मनोनीत सदस्यको,’ खतिवडा भन्छन्,‘पछि सबै एमालेले नै राख्यो किन होला?, हामीमाथि हेपााहपन होइन त?’

माओवादीसँगको सहमतिमा राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति थियो। सहमतिअनुसार अध्यक्ष माओवादीबाट नारायण दाहाल निर्वाचित भए। उपाध्यक्षमा एमालेले विमला घिमिरेलाई अघि सार्‍यो। घिमिरेलाई अघि सार्दा समाजवादीसँग एमालेले छलफल नगरेको समाजवादीको आरोप थियो।

इलाम २ को प्रतिनिधिसभा र अछामको प्रदेशसभा निर्वाचनमा पनि एमालेले आफूखुसी उम्मेदवार उठाएको समाजवादीको गुनासो थियो। यही कारण ओलीसँग नेपाल चिढिएका थिए। अब भने नेपाल फेरि गठबन्धन प्रति नै प्रतिबद्ध बन्ने भएका छन्। किनभने वैकल्पिक गठबन्धनमा बहुमत नपुग्ने नेपालको बुझाइ छ।

राजनीतिक विश्लेषक डम्बर खतिवडा नेपालको अर्गेल्याइँ सत्ताका लागि मात्र भएको बताउँछन्। उनी सत्ताका लागि ठूला पार्टीले साना दललाई जे पनि गर्न सक्ने सुनाउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =