रिलायन्स राष्ट्रव्यापी वक्तृत्वकलामा महेश संस्कृत गुरुकुलका दिग्विजय लामिछाने प्रथम

हिमाल प्रेस ३० मंसिर २०८० १९:०९
672
SHARES
रिलायन्स राष्ट्रव्यापी वक्तृत्वकलामा महेश संस्कृत गुरुकुलका दिग्विजय लामिछाने प्रथम

काठमाडौँ- चौधौँ रिलायन्स देवकोटा स्मृति राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको उपाधि महेश संस्कृत गुरुकुलका दिग्विजय लामिछानेले जितेका छन्। रिलायन्स साहित्य समाजले ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा शनिबार आयोजना गरेको प्रतिस्पर्धामा लामिछाने प्रथम भएका हुन्।

प्रतिस्पर्धामा टाइमलाइन स्कुलकी आर्या कार्की द्वितीय र रिपुमर्दिनी सैनिक स्कुलका सुतृष्ण पौडेल तृतीय भएको रिलायन्स इन्टरनेसनल एकेडेमीका ईसीए/सीसीए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेलले जानकारी  दिए।

संस्कृत मावि रानीपोखरीका विजय तिमल्सिना र कान्तिभैरव गुरुकुलका गणेश पराजुलीले प्रोत्साहन पुरस्कार पाएका छन्। प्रथम भएका लामिछाने तनहुँको देवघाटमा मुठीदानबाट चलाएको गुरुकुलका छात्र हुन्।

प्रतियोगितामा प्रथम भएका लामिछानेलाई नगद पाँच हजार, ट्रफी, प्रमाणपत्र र मेडल, द्वितीय भएकी कार्कीले नगद चार हजार, ट्रफी, प्रमाणपत्र र मेडल तथा तृतीय भएका पौडेललाई नगद तीन हजार, ट्रफी, प्रमाणपत्र र मेडल तथा प्रोत्साहन भएका तिमल्सिना र पराजुलीलाई १५/१५ सय नगद ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो। यसअघि देशभरबाट सहभागिता जनाएका प्रतिस्पर्धीहरूले शुक्रबार प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये अन्तिम ५ को छनोटमा परेकाहरूले शनिबार प्रतिस्पर्धा गरेका हुन्। प्रतियोगितामा २४ विद्यालय सहभागी थिए।

प्रा.डा. पौडेल र कवि प्रभास सम्मानित

यस वर्षको रिलायन्स साहित्य स्रष्टा सम्मानबाट प्रा.डा. हेमनाथ पौडेल र रिलायन्स युवा प्रतिभा सम्मानबाट कवि हेम प्रभास सम्मानित भएका छन्। डा. पौडेलले आफ्ना समालोचना, सिर्जना र भाषा व्याकरणका एक दर्जन कृतिमार्फत नेपाली भाषा साहित्यको श्रीवृद्धिमा अतुलनीय योगदान गरेको हुँदा २५ हजार रुपैयाँ राशिको रिलायन्स साहित्य स्रष्टा सम्मान प्रदान गरिएको हो।

युवा कवि हेम प्रभासको फरक शैली, उनका रचनाहरूले बोक्ने काव्य चेतना र उदीयमान युवा कवि भएकाले ११ हजार रुपैयाँ राशिको रिलायन्स युवा प्रतिभा सम्मान उनलाई प्रदान गरिएको छ।

काठमाडौँको बूढानीलकण्ठ-१० कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ (वैरागी काइँला) लगायतले स्रष्टाहरूलाई सम्मान गरेका थिए। कार्यक्रम रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रवीन्द्रजंग थापाको सभापतित्वमा भएको थियो। कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता वाचन गरेका थिए।

रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत संस्कृति विभागमा आबद्ध समाजले हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा यो कार्यक्रम आयोजना गर्दै आएको शिक्षक पौडेलले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =