तस्बिर स्रोत : रवि लामिछानेको फेसबुक।
काठमाडौँ- चितवन-२ को प्रतिनिधिसभा सदस्यमा रवि लामिछाने ६९ प्रतिशत मत ल्याएर निर्वाचित भएका छन्। वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत ल्याएका हुन्। यो कुल खसेको मत ७८ हजार २७७ को ६९ प्रतिशतभन्दा बढी हो।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए। उनीहरूबीचको मतान्तर ४२ हजार ९६२ छ। एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याएका थिए। अहिले त्योभन्दा बढी मत ल्याएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याएर तेस्रा भएका थिए।
नागरिकता प्रकरणमा सर्वोच्चको फैसलाअनुसार लामिछानेको सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन भएको हो।


