निजीक्षेत्रको सम्मानबिना आर्थिक विकास असम्भव : हेमराज ढकाल

हिमाल प्रेस १६ चैत २०७९ १५:५७
2
SHARE
निजीक्षेत्रको सम्मानबिना आर्थिक विकास असम्भव : हेमराज ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजीक्षेत्रको सम्मानबिना आर्थिक विकास सम्भव नभएको बताएका छन्। नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा उनले निजीक्षेत्रको सम्मानबिना देशले आर्थिक रूपमा फड्को मार्न नसक्ने बताएका हुन्। ‘अहिले सरकारले निजीक्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्दैन,’ उनले भने, ‘जबसम्म सरकारले निजीक्षेत्रलाई साझेदारको रूपमा हेरेर सहकार्य गर्दैन तबसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन।’

देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिक रूपमा सम्पन्न हुन नसक्ने उनले बताए। ‘अहिले देशको मुख्य पूँजीको रूपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भैराखेको छ,’ उनले भने, ‘उनीहरूले विदेशी भुमिमा रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ। रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ।’

यदि कुनै कारणले वैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्र नै धरासायी अवस्थामा पुग्ने उनको भनाइ थियो। कुनै समय निर्यातको मुख्य वस्तुको रूपमा रहेको नेपाली गलैंचा लगायतका वस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै अबका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनुपर्ने उनले बताए। ‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलन गर्न ठूलो योगदान दिएको थियो। सोही अनुरूप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता वस्तु उत्पादनका लागि आवश्यक कच्चापदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झन्झटिलो प्रक्रिया हुँदा अहिले निर्यात न्यून भएके छ।’

सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता वस्तु उत्पादनमा प्रयोग हुने कच्चापदार्थमा भन्सार छुट दिनुका साथै बैंकबाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा उनले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आबद्ध भएर काम गर्दा वस्तुगत संघहरूको समस्यालाई नजिकसँग बुझेको भन्दै उक्त समस्या सामाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरे। ‘मैले दुईपटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यहिँ क्षेत्रका साथीहरूको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने।

महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिले पनि सरकारसँग मिलेर यी क्षेत्रलाई माथि उठाउन सकिने उनको भनाइ थियो।

प्रकाशित: १६ चैत २०७९ १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =