८ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छैन : अर्थमन्त्री पौडेल

हिमाल प्रेस २९ माघ २०७९ १५:५७
6
SHARES
८ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छैन : अर्थमन्त्री पौडेल प्रतिनिधिसभामा आइतबार आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका सम्बन्धमा सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०७९/८० को बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य भेट्न नसक्ने बताएका छन्।  बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्नुअघि आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सम्भव नभएको बताएका हुन्।

‘कृषि र पर्यटन उद्योगमा सामान्य सुधार देखिए पनि उत्पादनमुलक उद्योग क्षमताअनुसार चल्न सकेका छैनन्,’ उनले भने, ‘सरकारको खर्च आम्दानीभन्दा बढी भएकाले आर्थिक वृद्धिदर अपेक्षाकृत हुने देखिँदैन।’

मन्त्री पौडेलले सरकारलाई बजेट सन्तुलन कायम गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुर्‍याएको बताए। कोभिड-१९ ले ल्याएको आर्थिक मन्दी, रसिया-युक्रेन युद्धको विश्वव्यापी प्रभाव र आपूर्तिजन्य अवरोधलगायतले आर्थिक पुनरुत्थानमा प्रभावित बनाएको पौडेलको भनाइ छ।

उनले कोभिड महामारीको समयमा लिइएका अल्पकालीन योजना समीक्षा हुन नसक्दा सरकारी ढुकुटी थप समस्यामा गएको बताए।

आर्थिक गतिविधिमा आएको सुस्तता र आयातमा गरिएको कडाइले राजस्व संकलनमा असर परेको पौडेलले बताए। ‘खुला सीमा, चोरी पैठारी, अवैध आयात लगायतले पनि राजस्व संकलनमा समस्या निम्त्याएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘यसबारे सरकार जानकार छ र समस्या समाधान गर्न लागिपरेका छाैँ।’

सरकारलाई तत्कालीन र दीर्घकालीन दायित्वले स्रोत व्यवथापनमा समस्या देखिएकाले अत्यावश्यक बाहेकका खर्च कटौती गरेको पनि जानकारी गराए। उनले भने, ‘करिब २० प्रतिशत खर्च कटौतीको निर्णय लिएको छु।’

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समाधान गर्न निजी क्षेत्रको विश्वास लिने र पहल लिने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =