आयातित महको मारमा स्वदेशी उत्पादन

हिमाल प्रेस १३ चैत २०७९ २१:४६
2
SHARE
आयातित महको मारमा स्वदेशी उत्पादन फाइल तस्बिर।

चितवन- नेपालमा उत्पादित महले बजार नपाउँदा किसान चिन्तत छन्। विदेशी महको आयात बढ्दै गएपछि नेपाली उत्पादनले बजार नपाउँदा किसान चिन्तित बनेका हुन्।
सत्रौँ राष्ट्रिय मह दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाली कृषकले मह बिक्री नभएको गुनासो गरेका हुन्।

नेपालमा उत्पादित महको लागत मूल्य बढी हुने र भारतबाट आयातित महको मूल्य कम पर्ने भएकाले नेपाली उत्पादनले बजार नपाएको गुनासो किसानको थियो। गतवर्ष मात्रै पाँच सय मेट्रिक टन मह कृषकसँग र एक हजार मेट्रिक टन मह व्यवसायीसँग थन्किएको बताइएको छ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मौरीपालन विकास कार्यक्रम भण्डाराका वरिष्ठ बालिविकास अधिकृत गोविन्द पोखरेलले नेपालमा अहिले पनि बर्सेनि एक हजार पाँच सय ६६ मेट्रिक टन मह आयात हुने गरेको बताए।

सोमध्ये एक हजार पाँच सय ४६ मेट्रिक टन भारतबाट आयात हुने गरेको छ। नेपालमा वार्षिक आठ हजार मेट्रिक टन मह खपत हुने गरेको उनको कार्यपत्रमा उल्लेख छ। एनका अनुसार नेपालको मह अष्ट्रेलिया, अमेरिका, जापान, कतारलगायत देशमा निर्यात हुने गरेको छ।

मौरीपालन व्यवसायमा नीतिगत, प्राविधिक, बजारीकरणलगायतका समस्या हुँदा नेपालको महले बजार पाउन नसकेको उनको भनाइ छ। मौरी प्रवद्र्धन नीति, २०७३ को कार्यान्वयन हुन नसक्नु, मौरी बीमा र यसको कार्यान्वयनतर्फ व्यवसायी आकर्षित बन्न नसक्नु, विषादीको प्रयोगसम्बन्धी नीति बन्न नसक्नु, मौरी चरन र मौरी स्थानान्तरणमा देखिएको समस्या समाधान गर्न नसक्नु मुख्य समस्याको रूपमा रहेको उनले औंल्याए।

नीतिगत समस्या समाधानका लागि तीन तहका सरकारबीच समन्वयको अभाव रहेको सरोकारवालाले औंल्याएका छन्। रासस

प्रकाशित: १३ चैत २०७९ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =