एमाले निकट रिटर्नी फेडेरेसनको महाधिवेशन चैत्र ११ र १२ मा हुने

हिमाल प्रेस ८ चैत २०७९ १९:१३
8
SHARES
एमाले निकट रिटर्नी फेडेरेसनको महाधिवेशन चैत्र ११ र १२ मा हुने

काठमाडौँ– नेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन शनिबार र आइतबार काठमाडौँमा हुने भएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फेडेरेसनले यस्तो जानकारी दिएको हो।

कार्यक्रममा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा वैदेशिक रोजगारी, अध्ययन र व्यापार, व्यवसाय गरी स्वदेश फर्केकाहरूलाई नेपालमा स्थापित गर्न फेडेरेसन सहयोगी हुने बताए।

फेडेरेसनले काठमाडौँस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने उपमहासचिव जेपी सापकोटाले जानकारी दिए।

हालसम्म ५ वटा प्रदेश समिति, ५८ वटा जिल्ला समिति र पालिकाहरूको अधिवेशन सम्पन्न भइसकेको उनले बताए।

महाधिवेशनमा देशभरका ४ सय प्रतिनिधिको उपस्थिति रहने उनले जनाए। संगठनले उद्यमशीलता र रोजगारीको अवस्था सिर्जना गर्नका लागि आवश्यक तालिम, सल्लाह, सुझाव र बजेटको व्यवस्था गर्ने अध्यक्ष चन्द्रबहादुर रोकायाले बताए।

पुस्तौंपुस्तासम्म विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न संगठन क्रियाशील रहेको उनको भनाइ छ।

महाधिवेशनमा रिटर्नी लक्षित कार्यक्रम लागु गर्न सरकारलाई सुझाव दिने विषय, विभिन्न जिल्लामा रहेका रिटर्नीहरूको दक्षता अभिवृद्धिको योजनामाथि छलफल गरिने छन्।

रिटर्नीहरूको तथ्यांक संकलन गरी उनीहरू के-कस्तो अवस्थामा छन् भन्ने जानकारी नभएसम्म योजना बनाउन नसकिने भएकाले त्यसतर्फ विशेष ध्यान केन्द्रित गर्ने पत्रकार सम्मेलनमा बताइएको छ।

प्रकाशित: ८ चैत २०७९ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =