पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई

हिमाल प्रेस ३ चैत २०७९ १३:३१
8
SHARES
पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई बधाई

काठमाडौँ- नेपाल पत्रकार महासंघले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो।

सो अवसरमा महासंघ अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरे। भेटमा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो।

सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता संगठनका रूपमा महासंघले निर्वाह गरेको भूमिकाको सराहना गरे। उनले सत्यतथ्य सूचना प्रवाहमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गरे ।

समाजमा भएका विकृति, विसंगतिप्रति पत्रकारजगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उनको जोड थियो। ‘गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ’, उनले भने।

महासंघका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताए। भेटमा महासंघका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी थिए।

प्रकाशित: ३ चैत २०७९ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =