पत्रकार महासंघको कार्यक्रममा फोनिजको अवरोध

हिमाल प्रेस २८ माघ २०८० १६:२०
48
SHARES
पत्रकार महासंघको कार्यक्रममा फोनिजको अवरोध पुस्तक विमोचन कार्यक्रममा भएको विरोध प्रदर्शन

काठमाडौँ- नेपाल पत्रकार महासंघ बागमती प्रतिष्ठान शाखाले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले अवरोध गरेको छ।

प्रतिष्ठान शाखाले नेपाल पत्रकार महासंघका अध्यक्षहरूको जीवनीलाई समेटेर प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रम फोनिजले अवरोध गरेको हो। पत्रकार महासंघ प्रतिष्ठानले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा पुस्तक विमोचन कार्यक्रम राखेको थियो।

विमोचनका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल, किशोर नेपाललगायतले पुस्तकलाई देखाउनै लाग्दा हलमा उपस्थित पत्रकारहरू मञ्चमा पुगेर खोसेका थिए। उनीहरूले केही प्रति पुस्तक च्यातिदिएका छन्।

फोनिजले नेपाल पत्रकार संघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ रहेको दाबी गर्दै आएको छ। पत्रकार महासंघले श्रेष्ठको योगदानको अवमूल्यन प्रकाशित कृतिमा उनको नाम नसमेटिएको फोनिजका महासचिव मिलन लिम्बूले बताए।

महासचिव लिम्बूले पुस्तक कुनै हालतमा बजारमा लैजान नदिने चेतावनी दिएपछि पत्रकारहरूको एउटा समूहले सत्यनारायणका पक्षमा नाराबाजी गरेको थियो। लिम्बूले भने, ‘पुस्तकका विषयमा देशव्यापी आन्दोलन गर्नेछौँ। इतिहास सच्याएर जानुपर्छ। गलत इतिहासको आडमा हामी अघि बढ्न सक्दैनौँ।’ उनले सत्यनारायणको विषयमा महासंघले टुंगो नलाएसम्म आन्दोलन नरोकिने पनि बताए। उनले भने, ‘पुस्तक हलबाहिर लगियो भने देशव्यापी रूपमा जलाइनेछ।’

विरोधमा उत्रिएका पत्रकारहरूले श्रेष्ठको योगदानको कदर गर्नुपर्ने माग गरेका थिए। सत्यनारायणबहादुरलाई पत्रकार संघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने माग उनीहरूको छ। नेवा: पत्रकार राष्ट्रिय दबूले पनि पहिलोपटक पत्रकारहरूको हकहितका लागि पत्रकारहरूलाई संगठित गरी त्यसको नेतृत्व गर्ने व्यक्तित्व सत्यनारायणबहादुर श्रेष्ठ नै रहेको दाबी गर्दै आएको छ।  विरोधमा दबूका  पत्रकारहरू पनि सहभागी थिए।

फोनिजले विरोध गरे पनि आयोजकले कार्यक्रम स्थलमा पुस्तक बिक्री गरिरहेको थियो। प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको र पुस्तक देशव्यापी रूपमा बिक्रीवितरण हुने बताए। पुस्तकमा समेटिएका तथ्यहरू गलत भएमा आगामी संस्करणमा सच्याइँदै जाने उनले बताए। कार्यक्रममा मुख्य वक्ताहरू सभामुख देवराज घिमिरे, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र प्राध्यापक रामकृष्ण रेग्मी आमन्त्रित थिए। कार्यक्रममा सभामुख घिमिरे र मन्त्री शर्मा भने अनुपस्थित रहे।

संघको संस्थापक अध्यक्षका विषयमा विवाद रहँदै आएको छ। नेपाल पत्रकारले संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई मान्दै आएको छ। विभिन्न दस्ताबेजमा भने तत्कालीन नेपाल पत्रकार संघ २००८ सालमा स्थापना भएको र त्यतिबेलाका सभापति सत्यनारायणबहादुर श्रेष्ठ रहेको उल्लेख छ।

भट्टराईको कार्यकाल २०१२ सालमा सुरु भएको महासंघका विभिन्न दस्ताबेजमा उल्लेख छ। महासंघले २०१२ सालमै गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रूपमा महासंघ रहँदै आएको बताउँदै आएको छ। संघ २०५३ जेठ २९ मा महासंघमा रूपान्तरण गरिएको हो। फोनिजले नेपाल पत्रकार संघको स्थापना २००८ साल मान्नुपर्ने र संस्थापकका रूमा श्रेष्ठलाई मान्नुपर्नेमा जोड दिँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =