उपराष्ट्रपति उम्मेदवारमा गुमनाम पात्रहरू

हिमाल प्रेस २७ फागुन २०७९ १९:३९
30
SHARES
उपराष्ट्रपति उम्मेदवारमा गुमनाम पात्रहरू

काठमाडौँ– उपराष्ट्रपतिमा ४ जनाको उम्मेदवारी परेसँगै भोलिसम्म कसकसको नाम फिर्ता हुने त्यसबारेमा पनि छलफल चलिरहेको छ।

सत्तारुढ दलहरूकै गठबन्धनबाट ३ जना र नेकपा एमालेको तर्फबाट एक जनाको उम्मेदवारी परेको छ। सत्तागठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)नेपालबाट दुई जना र जनमत पार्टीबाट एक गरी ३ जनाको उम्मेदवारी परेको छ।

नेकपा एमालेले उपराष्ट्रपतिमा उठाएको उम्मेदवार नेपाली राजनीतिमा परिचित अनुहार हो। एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्।

उनलाई पछिल्लो समय राजनीतिबाट गुमनाम गराउन खोजिएको नेताका रूपमासमेत लिइन्छ। खासगरी एमालेका केपी शर्मा ओली पावरमा आएपछि शाक्यले राजनीतिमा ल्याएकाहरूले आवसर पाउँदा उनले पाइनन्।

०७४ को चुनावमा बागमती प्रदेशको मुख्यमन्त्री हुने भनेर प्रदेशसभाको चुनाव लडेकी उनलाई चुनाव जितेपछि डोरमणि पौडेललाई बनाइएको थियो।

तर, तत्कालीन नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपामा चरम विवाद भएपछि अप्ठ्यारो परिस्थितिमा शाक्यलाई मुख्यमन्त्री बनाइयो। तर, उनले केही महिनासमेत काम नगरी मुख्यमन्त्रीबाट बिदा लिनुपर्‍यो।

एमालेले उनै शाक्यलाई यसपटक उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङ पराजित भएको केही घण्टा पछि शाक्यलाई एमालेले उपराष्ट्रपतिको उम्मेदवार बनायो।

‘जित निश्चित थियो भने एमालेले शाक्यलाई उम्मेदवार बनाउँदैनथ्यो,’सुवास नेम्वाङको हकमा जस्तै टिप्पणी कतिपय एमाले नेताहरूकै छ।

तथापि शाक्यको उम्मेदवारीको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन्।

उपराष्ट्रपतिमा उम्मेदवार रहेका बाँकी ३ उम्मेदवार नेपाली राजनीतिमा स्थापित हुनै बाँकी रहेका नेताहरू हुन्। जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ।

रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोक राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन्।

समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन्। ०२७ साउन ९ गते सिम्रौनगढ नगरपालिका ३ बारामा जन्मिएका रामसहायप्रसाद यादव १७ वर्षको शिक्षण पेशालाई छोडेर राजनीतिमा आएका नेता हुन्।

आफूलाई समानताको पक्षधरका रूपमा परिचित गराउने उनी मधेश आन्दोलनपछि राजनीतिमा सक्रिय भएका हुन्। यादव संघीय समाजवादी पार्टी नेपालको महासचिव हुँदै हाल जसपामा छन्।

०४७ मा नेपाल सद्भावना पार्टीमा आवद्ध भएर राजनीतिमा होमिएका उनी तत्कालीन संघीय समाजवादी फोरमको संस्थापक हुन्। संसदमा भने उनी ०६४ मा पहिलो संविधानसभा सदस्यमा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्दथे। ०७४ मा पनि सांसद भए। ०७९ को पनि चुनाव जितेर आएका यादवलाई जसपाले उपराष्ट्रपतिको उम्मेदवार बनाएको हो।

अर्थात् रामसहायप्रसाद यादव नेपाली राजनीतिमा लामो समयदेखि रहेका तर, पार्टीको आन्तरिक जीवनमै काम गरिरहेका नेता हुन्।

यसपटक पार्टी अध्यक्ष उपेन्द्र यादवको चाहनामा स्वयम उपेन्द्र यादवलाई संसदमा ल्याउने रणनीतिअनुसार उपराष्ट्रपतिमा उम्मेदवार बनाइएका हुन्।

यादव निर्वाचित भएको खण्डमा खाली भएको क्षेत्रमा आफू उपचुनाव लड्ने र सत्तागठबन्धनको बलमा चुनाव जितेर संसद छिर्ने यादवको चाहना छ। तर, निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष भएकाले उपराष्ट्रपति महिला हुनुपर्ने भनेपछि अध्यक्ष यादव झस्किएका छन्।

केही गरी पुरुष उपराष्ट्रपतिको उम्मेदवार हुन नसक्ने निर्णय भएको खण्डमा पार्टीकै तर्फबाट उपराष्ट्रपति बनाउनका लागि जसपाले प्रमिला यादवको उम्मेदवारी दर्ता गराएको छ।

०२४ भदौ १ गते सप्तरीमा जन्मिएकी प्रमिला कुमारी आफूलाई समानता र सामाजिक न्यायको पक्षधर का रूपमा परिचित गराउन चाहने नेता कुमारी पार्टीका महिला र शिक्षक फाँटमा बढी क्रियाशील छिन्।

उनी ०६२/६३ को जनआन्दोलनपछि राजनीतिमा लागेकी नेता हुन्। ०६२ सालमा मधेशी जनअधिकार फोरम नेपालबाट राजनीतिमा क्रियाशील भएकी उनी ०६४ मा जिल्ला कोषाध्यक्ष भएकी थिइन्।

मधेशी महिला फोरम नेपालको जिल्ला अध्यक्ष ०६४ मै भएकी थिइन्। मधेशी शिक्षक फोरम, नेपालको केन्द्रीय उपाध्यक्ष ०६४ देखि २०७४ सम्म भइन्।

संघीय समाजवादी फोरम नेपाल केन्द्रीय सल्लाहकार समिति सदस्य ०७३ हुँदै केन्द्रीय सदस्यसम्म भएर काम गरिन्।

उनी राष्ट्रियसभा सदस्य निर्वाचन ०७४ मा प्रदेश २ बाट निर्वाचित भएकी थिइन्। राजनीतिक अघि उनी निरन्तर २५ वर्ष शिक्षण पेशामा थिइन्।

रामसहाय प्रसाद यादव प्रमिला यादवले प्रतिनिधित्व गर्ने जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका सत्तारुढ गठबन्धनमै रहेको दल जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

उनको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव रहेका छन्।

समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन्।
सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन्।

उनी गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन्। तर, पराजित भएकी थिइन्। उनै झालाई जनमतले उपराष्ट्रपतिको उम्मेदवार बनाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =