एमालेले यसकारण उठायो उपराष्ट्रपतिमा अष्टलक्ष्मी

हिमाल प्रेस २७ फागुन २०७९ १२:०८
28
SHARES
एमालेले यसकारण उठायो उपराष्ट्रपतिमा अष्टलक्ष्मी

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाएको छ।

एमालेले संविधानतः समानुपातिक समावेशितालाई ख्याल गर्दै शाक्यलाई उठाएको बताएको छ। यस्तै एमालेले निर्वाचन आयोगको निर्वाचन सही भएको भन्दै प्रशंसा समेत गरेको छ। आयोगले राष्ट्रपतिमा खसआर्य समुदायको पुरुष चुनिएसँगै अब महिला बन्नु पर्ने बताउँदै आएको थियो।

एमालेले पनि राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरेको भन्दै त्यस्तो ब्याख्या संविधानको मर्मविपरित हुने जनाएको छ।बैठकले राष्ट्रपतिमा खसआर्यबाट पुरुष राष्ट्पति भइसकेको अवस्थामा उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने एमालेको ठहर छ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा समेत छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन्। बैठकपछि एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ। त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ’, भनिएको छ।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि महिला वा अन्यबाट मात्रै उपराष्ट्पतिमा उम्मेदवारी दिन मिल्ने बताएका थिए। प्रमुख आयुक्त थपलिया र एमालेको भाषा मिलेको छ। यता शाक्यलाई उठाउँदा गठबन्धनको मत समेत क्रस गराउन सक्ने एमालेको अनुमान छ। सत्ता गठबन्धनमा अहिले पनि उपराष्ट्रपतिमा सहमति भएको छैन। सत्ता गठबन्धनबाट तीन जना उम्मेदवार हुने सम्भावना छ।

शाक्य पहिले राष्ट्रपतिकी आकांक्षी थिइन्। तर राष्ट्रपतिमा एमालेले सुवास नेम्बाङलाई अघि सार्‍यो। हिजोसम्म एमाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने/नदिने अन्योलमा थियो। तर गठबन्धनमा समस्या देखेसँगै त्यसको फाइदा उठाउने दाउले एमालेले शाक्यलाई अघि सारेको हो।

प्रकाशित: २७ फागुन २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =