धनगढी- गोदावरी नगरपालिका-१ का वेदप्रसाद आचार्यले २० वर्ष परदेशमा काम गरे। लामो समय नयाँदिल्लीका होटलमा कुकको काम गरेका आचार्य अहिले धनगढीमा अटो चलाउँछन्।
दुई वर्षदेखि अटोरिक्सा चलाउँदै आएको आचार्य भन्छन्, ‘अरूको देशमा बगाएको पसिनाले आम्दानी राम्रै भए पनि सन्तुष्टि थिइनँ। अहिले कमाइ थोरै छ तर परिवारसँगै बसेर दुःखसुख गर्दा रमाइलै लागेको छ।’
धनगढी उपमहानगरपालिका-२ का दामोदर कामीले भारतमै १५ वर्ष रोजगारी गरे। पछिल्लो १ वर्षदेखि उनले अटो चलाउँदै आएका छन्। एनआईसी एसिया लघुवित्तबाट १५ प्रतिशत ब्याजमा ऋण लिएर अटो खरीद गरेको कामीले बताए। कामी अत्तरिया-धनगढी रुटमा अटो चलाउँछन्।
गोदावरी नगरपालिका ३ का शंकर एसकेले पनि रोजगारीका लागि भारतमा सात वर्ष बिताएका थिए, पछिल्ला चार वर्षदेखि उनी स्वदेशमै छन्। घरपरिवारसँगै बसेर आम्दानी गर्ने सोच आएपछि एसकेले जग्गा बेचेर अटो किनेका थिए।
अटो विदेशबाट फर्केकाहरूको मात्रै होइन विदेश जाने सोच बनाएका थुप्रैको पनि विकल्प बनेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-१२ जुगेडाका युकबहादुर तामाङ विदेशको मोह त्यागेर अटोमा रमाइरहेका छन्। झन्डै तीन वर्षअघि तामाङको मलेसियामा कामदार भिसा लागेको थियो। जाने तयारी गर्दागर्दै कोरोना महामारीले विश्व नै ठप्प पारिदियो। उनको विदेश मोह भंग भयो। विदेश यात्रा रोकिएपछि जग्गा तामाङले जग्गा बेचेर अटो किने। त्यसअघि अटो बेचेर उनी विदेशिने तयारीमा थिए। तर अब उनको मनमा विदेश पलायन हुने सोच छैन। तामाङ भन्छन्, ‘जेजति हुन्छ यहीँ गर्छु।’
पढाइको तगारो
कैलालीको धनगढी उपमहानगरपालिका-३ विशालनगरका चुल्लुराम डगौरा चार वर्षदेखि विद्युतीय अटो रिक्सा चलाउँदै आएका छन्। पहिले ज्याला मजदुरी गरी परिवार धान्दै आएका डगौराले लघुवित्तबाट १८ प्रतिशत ब्याजमा ऋण लिएर रिक्सा खरिद गरेका थिए। चार वर्षमा उनले लघुवित्तको ऋण तिरिसकेका छन्। परिवार पनि राम्रैसँग चलेको छ। डगौरा भन्छन्, ‘दैनिक ८०० देखि एक हजार रुपैयाँसम्म आम्दानी भइरहेकै छ।’
आम्दानी र घरपरिवारसँगै बसेको गरेको कमाइले उनलाई सन्तुष्ट मिलेको छ। तर लाइसेन्स निकाल्न नसक्दा उनलाई सास्ती पनि उत्तिकै छ। प्रौढ शिक्षा लिएका डगौराले लिखित परीक्षा नै पास गर्न सकेका छैन।
उनी भन्छन्, ‘अलिअलि अक्षर चिन्न र लेख्न त सक्छु तर पनि लिखित परीक्षा साह्रै अप्ठ्यारो लाग्छ।’