मनाङमा बल्ल हिमपात

हिमाल प्रेस २१ फागुन २०७९ १२:५३
8
SHARES
मनाङमा बल्ल हिमपात तस्बिर- नवीन लामिछाने/रासस

मनाङ- हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात भएको छ। ङिस्याङ गाउँपालिका-१, पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्न सक्ने बताए।

‘यहाँको मुख्यबाली आलु र करु हो। चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ। यसपटक ढिला गरी पर्‍यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ,’ उनले भने, ‘जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ। चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।’

उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ। ‘स्याउ फुल्ने भनेको फागुन, चैतमा हो, फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन,’ उनले भने, ‘आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ।’

जिल्लामा जेठमा फापर, चैततिर गहुँ, आलु र केराउ लगाइन्छ। ‘पुसमा हिउँ परेको भए जमिनमुनिसम्म पानीको मात्रा पुग्छ। अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै ?,’ गुरुङले भने, ‘तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथिमाथि नै सुक्छ। बारीमा लगाएको बालीको जरासम्म पुग्दैन।’,

कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिए। यसबाट किसानलाई केही राहत मिलेको उनको भनाइ छ।

‘माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ,’ उनले भने। बेमौसममा हिमपात बढ्ने देखिएको उनले बताए। ‘मंसिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो। अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ,’ नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भने, ‘बल्ल मात्र हिमपातको सुरुआत भएको छ।’

मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताए। ‘विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आंशिकरूपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ। सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्,’ उनले भने।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताए। ‘डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन,’ उनले भने।

उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन। गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन्। मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेँसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उनले जानकारी दिए।

विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो। तर यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उनले बताए।

जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो। यस समयमा खास गरी हिमपात हुने समय भने होइन। प्रायजसो मंसिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ।

चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मंसिर पहिलो साता बेँसी झर्ने गर्दछन्। उनीहरू काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन्। यसपटक भने उनीहरू गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ। -रासस

प्रकाशित: २१ फागुन २०७९ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =