राष्ट्रपति निर्वाचनबारे बिलखबन्दमा राप्रपा

मत हाले एजेन्डा कमजोर हुने डर, नहाले ठूला दलको दबाब

हिमाल प्रेस २३ फागुन २०७९ ७:२२ | Tuesday, March 7, 2023
राष्ट्रपति निर्वाचनबारे बिलखबन्दमा राप्रपा

काठमाडौँ- राष्ट्रपतिका दुवै दलका उम्मेदवारको दबाबमा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनिर्णित बनेको छ। राजसंस्था सहित हिन्दु धर्मको एजेन्डा बोकिरहेको राप्रपा राष्ट्रपतिमा मत हाल्ने नहाल्ने दोधारमा छ।

राष्ट्रपतिमा मत हाले आफ्नो राजसंस्थाको एजेन्डा कमजोर हुने बुझाइ राप्रपाको छ। तर पछिल्लो समय राष्ट्रपतिका उम्मेदवार र ठूला दलका नेताले मत हाल्न दबाब दिइरहँदा राप्रपा झनै अनिर्णित बनेको छ। यही कारण राष्ट्रपतिका कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने निर्णय आगामी फाल्गुण २४ गते (भोलि)मात्रै लिने भएको छ। यसबारे पार्टी भित्रै विवाद निस्किएको छ। पार्टीको एक समूह राष्ट्रपतिमा मत नहाल्नु पर्ने तर्क गर्दै आएको छ।

आफ्नो एजेन्डा राष्ट्रपतिको नभएकाले मत नहाल्न सुझाव दिइरहेको छ। तर अर्काे समूह भने संविधान माने पछि संविधानको भावनाअनुसार अघि बढ्नु पर्ने अडान राख्दै आएको छ। यही कारण ठूला दलका नेता पनि राप्रपासँगको भेटबाट निराश बनेर फर्किने गरेका छन्।

राप्रपाका नेताहरूलाई भेट्न पार्टी कार्यालय धुम्बाराही पुगेका कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलसँगको भेटमा राप्रपा नेताले २४ गते निर्णय लिने बताएको भेटमा सहभागी कांग्रेस नेता दीपक खड्काले बताए।

नौ दलीय गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलसहित गठबन्धनका नेताहरूले राप्रपाका नेतासँग भेटवार्ता गरेका थिए।

गठबन्धनका नेताले राप्रपासँग रामचन्द्र पौडेलको पक्षमा भोट मागेको तथा राप्रपा नेताहरूले आगामी फागुन २४ गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले राष्ट्रपतिको निर्वाचनका बारेमा निर्णय गर्ने जानकारी दिएको खड्काले बताए।

भेटमा राष्ट्रपतिका उम्मेदवार एवं कांग्रेस वरिष्ठ नेता पौडेलसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, दीपक खड्का, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए। यता एमाले उम्मेदवार सुबास नेम्बाङ पनि राप्रपाका नेतालाई भेटिसकेका छन्।

पछिल्लो समय राप्रपा एमालेसँग नजिक रहेको बताइन्छ। नेम्बाङ राप्रपासहितका दलको भोटबाट चुनाव जित्ने दाउमा छन्।

प्रकाशित: २३ फागुन २०७९ ७:२२ | Tuesday, March 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast