राष्ट्रिय बीमा संस्थान ५६औँ वर्षमा, प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने चुनौती

हिमाल प्रेस ११ फागुन २०७९ १७:५१
8
SHARES
राष्ट्रिय बीमा संस्थान ५६औँ वर्षमा, प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने चुनौती

काठमाडौँ- सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान ५६औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा संस्थानले बिहीबार कार्यक्रम आयोजना गरेको छ। वार्षिकोत्सवको अवसरमा संस्थानले सय जना उत्कृष्ट कर्मचारी, ४ शाखा लगायत अभिकर्तालाई पनि सम्मान गरेको छ।

सो क्रममा सम्बोधन गर्दै अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले संस्थान लामो धरोहर बोकेको संस्थान भएको भन्दै प्रतिस्पर्धि भएर अघि बढ्न निर्देशन दिए। ‘स्थापना कालमा संस्थान एक्लै थियो सिधै हिँडे पुग्थ्यो’ उनले भने, ‘अहिले समय फेरिएको छ। दायाँ बायाँ प्रतिस्पर्धिहरू छन्। प्रतिस्पर्धा गर्दै अगाडि बढ्नुपर्ने अवस्था छ।’

अहिलेका बीमा कम्पनीसँग प्रतिष्पर्धा गर्न राष्ट्रिय बीमा संस्थानले सामथ्र्य राख्ने उनको भनाइ थियो। ‘अहिलेको अवस्थामा बीमा संस्थान एक्लो छैन्’ उनले भने, ‘प्रतिस्पर्धीहरू बढेकाले दायाँ बायाँ पनि हेर्नुपर्छ।’ बीमा क्षेत्रमा विश्वास गुमाइसकेपछि काम नलाग्ने भन्दै उनले विश्वासमात्रै नभई आत्मविश्वास दरिलो बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीहरूलाई आग्रह गरे।

बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले संस्थान नेपालको वित्तीय क्षेत्रकै धरोहर भएको भन्दै बीमा बजारमा मानव संशाधन उत्पादनदेखि बजारीकरणमा समेत योगदान पुर्याएको बताए। संकटका बेला सहयोग गर्ने सरकारी संस्थान नै रहेको उनको दाबी थियो। संस्थानको लामो समयदेखिको लेखापरीक्षणको समस्या सुल्झाउन प्राधिकरण तयार रहेको पनि उनकाे भनाइ थियो।

संस्थानका अध्यक्ष इश्वर पौडेलले संस्थानका समस्या र चुनौती चिर्दै अर्को वार्षिकोत्सवमा धेरै माथि उठ्यौं भन्ने अवस्था बनाउने दाबी गरे। पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रूपमा स्थान बनाउन सफल भएको उनको भनाइ थियो।

चालू आर्थिक वर्षको पुस मसान्तसम्म संस्थानले ६ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। १ अर्ब ५८ करोड दाबी भुक्तानी गरेको संस्थानले जानकारी दिएको छ। सो अवधिमा संस्थानको जीवन बीमा कोष ४५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। संस्थानको हाल कुल सक्रिय बीमालेख संख्या ५ लाख ६० हजार रहेको छ।

त्यस्तै सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो स्रोतको उपयोग गर्न माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख रुपैयाँ शेयर पूँजी लगानी रहेको संस्थानले सार्वजनिक गरेको छ। त्यस्तै ऋण लगानी २ अर्ब ८० करोड गरेकोमा ब्याज पूँजीकरणसहित हाल ४ अर्ब ८८ करोड रुपैयाँ पुगेको संस्थानको भनाइ छ।

 

प्रकाशित: ११ फागुन २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =